जन सरोकार

भूमाफियाको जाल : मरेका व्यक्तिको नक्कली छोरा बनेर जग्गा हडप

देशमा भूमाफियाको जगजगी यति छ कि उनीहरु सार्वजनिक, पर्ती जग्गा मात्र हैन सरकारी स्वामित्वकै जग्गा बेखबिखन गरिदिन्छन् भने सोझासिधा सर्वसाधारणको जग्गा त चुट्कीको भरमा कब्जा गर्छन् ।

यस्तै घटना रौतहटमा भएको छ जहाँ भूमाफियाले मृत व्यक्तिको जग्गा हडप्न दुईजना नक्कली छोरा खडा गरी नगरिकता नै बनाएर जग्गा कब्जा गरेका छन् ।

गोरखापत्र दैनिकका लागि यादवराज पुरीले लेखेको समाचार अनुसार रौतहटको चन्द्रपुर नगरपालिका–५ निवासी दिनकर धामीको स्वामित्वमा रहेको तीन कट्ठा १५ धुर जमिन हडप्न अपरिचित जयवीर धामी र दिनेश धामीद्वयले दिनकरको छोरा बनेर कीर्ते नागरिकता बनाइ अदालतको आदेशबाट जमिन हडपेको रहस्य खुलेको हो ।

जग्गाधनी दिनकरको २०३९ सालमा मृत्यु भएको थियो । उहाँका श्रीमती र छोराछोरी कोही नभएको कारण उहाँको नाउँको जमिन ऐलानी भन्दै उहाँकै भतिजा हरिकृष्ण धामीले भोगचलन गर्दै आउनुभएको थियो । उहाँकाअनुसार, जमिन विक्री भइ चार किल्ला छुट्याउन आउँदा मात्र जमिन काकाको नाउँमा रहेको जानकारी भयो ।

भूमाफिया धामीद्वयले २०७५ साल वैशाख १२ गते जमिन आ–आफ्नो नाउँमा रजिष्टे«शन पास गरी काठमाडौं महानगरपालिका–३ निवासी ६३ वर्षीय नरवहादुर श्रेष्ठलाई बिक्री गरेपछि मात्र त्यसको रहस्य खुलेको भतिजा हरिकृष्णले बताउनुभयो । भूमाफिया धामीद्वयलाई गाउँका कसैले पनि नचिनेको स्थानीय गोपाल चौधरी बताउनुहुन्छ ।

भूमाफिया दिनेश धामीले २०४५ माघ १९ गते लिएको नागरिकताको प्रमाणपत्रमा नागरिकता नम्बर ४१२ उल्लेख छ भने जयवीर धामीले २०४५ वैशाख ५ गते लिएको नागरिकतामा नागरिकता नम्बर २०४० उल्लेख छ । दुबै नागरिकता प्रथम प्रतिलिपि हुन् । दुबै नागरिकताको अभिलेख जिल्ला प्रशासन कार्यालयमा नभएको बताइएको छ ।

चन्द्रपुर नपा–५ को कित्ता नम्बर १४५ बाट कित्ताकाट गरी भूमाफिया जयवीरले कित्ता नम्बर ५४९९ बाट एक कट्ठा १५ धुर र दिनेशले ५४९८ नम्बर कित्ताबाट कित्ताकाट गरी दुई कट्ठा जमिन आफ्नो नाममा दर्ता गराएको वडा अध्यक्ष सञ्जय काफ्लेले जानकारी दिनुभयो ।

उहाँकाअनुसार, नक्कली छोरा बनेका धामीद्वयले एकअर्कामा वादी र प्रतिवादी बन्दै जग्गाधनी दिनकरको जमिन जिल्ला अदालतको आदेशबाट आ–आफ्नो नाउँमा अंशबण्डा कायम गराउन सफल भएका हुन् । दुबैको नागरिकता प्रमाणपत्र कीर्ते जस्तो देखिन्छ । उनीहरले अदालतलाई समेत झुक्याउन सफल भएको हुनसक्ने आशंका छ ।

नागरिकताको बारेमा इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा उजुरी परेको छ । तर, त्यसको सुनुवाई अहिलेसम्म भएको छैन । भूमाफियाद्वयको नागरिकता प्रमाण पत्रको बारेमा गम्भीरतापूर्वक अनुसन्धान गरिने र दोषी ठहरिएमा कडा कारवाही गरिने प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.