नेपाल विविधताभित्रको सुन्दर एकता बोकेको देश हो। अनेकौँ भाषा, संस्कृति, धर्म र परम्परालाई एउटै सूत्रमा बाँध्ने सामर्थ्य हाम्रा चाडपर्वहरूमा छ। विविधताको यो अद्भूत अभ्यास भइरहेको नेपालीहरूको घरआँगनमा यतिबेला नेपालीहरूको महान् राष्ट्रिय पर्व बडादशैंले प्रवेश पाएको छ।
सम्भावना, हर्ष र उल्लासको प्रतीकका रूपमा मनाइने दशैं यो वर्ष भने पूर्णतः खुसी र उमङ्गको माहौलमा मात्र सीमित रहन सकेको छैन। एकातिर दशैंको स्वागत भइरहँदा अर्कोतिर महाविपत्तिको घाउ अझै आलो नै छ।
गत भदौ १० गते रसुवा र चीनको तिब्बतस्थित सीमा क्षेत्रमा रहेको ल्होन्दे खोलाहुँदै त्रिशूली नदीमा आएको महाविनाशकारी बाढीले पुर्याएको क्षति र महाविपत्तिबाट पीडित नेपालीहरू अझै उठ्न सकेका छैनन्। तर, जीवनको यो निरन्तर यात्रामा पीडाकै बीच पनि हाँस्नुपर्ने र पर्वहरूलाई निरन्तरता दिनुपर्ने बाध्यतामा आज सिङ्गो मुलुक उभिएको छ।
दशैं केवल एउटा धार्मिक विधि वा चाड मात्र होइन, यो सम्पूर्ण नेपालीहरूको साझा पर्व हो, राष्ट्रिय एकता र सामाजिक सद्भावको बलियो आधार हो। यस वर्षको दशैंले हामीलाई केवल रमाइलो गर्ने सन्देश मात्र दिएको छैन, बरु आपत्विपत्मा परेका दाजुभाइ तथा दिदीबहिनीहरूप्रति उत्तरदायी बन्न प्रेरित गरेको छ।
प्राकृतिक विपत्तिले घरबारविहीन बनाएका, आफन्त गुमाएका र जीवनयापनका आधारहरू गुमाएका हाम्रा आफ्नै समुदायका सदस्यहरू यतिबेला आँसु पिएर टोलाइरहेका छन्। यस्तो कठिन अवस्थामा सम्पन्न र सामर्थ्यवान्हरूले अभाव र पीडामा परेकाहरूलाई साथ र सहयोगको हात बढाउनु नै वास्तविक धर्म हो।
‘सक्नेले नसक्नेलाई साथ र सहयोग गरौँ’ भन्ने भावनालाई व्यवहारमा उतार्न सकियो भने मात्रै दशैंको वास्तविक मर्म सार्थक हुनेछ। तसर्थ, भड्किलो र फजुल खर्च गरेर अहंकार देखाउनुभन्दा विपन्न र विपद्मा परेकाहरूलाई मद्दत गरी मानव धर्म बचाउनु आजको मुख्य आवश्यकता हो।
हाम्रो संस्कृतिले सधैँ सबैको सम्मान र भाइचाराको शिक्षा दिन्छ। अहङ्कार, आडम्बर र देखावटीपनले समाजलाई विभाजनतर्फ लैजान्छ भने त्याग, समर्पण र आपसी सम्मानले समाजलाई जोड्छ। समाजका हरेक वर्ग, समुदाय र तहका मानिसहरूले एक-अर्काको अस्तित्व र मर्यादाको सम्मान गर्नुपर्छ। दशैंको मुख्य सन्देश नै असत्यमाथि सत्यको विजय र अधर्ममाथि धर्मको स्थापना हो।
पौराणिक कथा अनुसार नवदुर्गा भवानीले आसुरी प्रवृत्तिको विनाश गरी सत्य र न्यायको रक्षा गर्नुभएको थियो। आज हाम्रो समाज र राष्ट्रिय राजनीतिमा पनि विभिन्न रूपमा आसुरी प्रवृत्तिहरू मौलाउँदै गएका छन्। भ्रष्टाचार, बेथिति, गैरजिम्मेवारीपन र चरम स्वार्थजस्ता आसुरी प्रवृत्तिहरूको अन्त्य हुनु आजको राष्ट्रिय आवश्यकता बनेको छ।
विशेष गरी मुलुकको वर्तमान स्थितिमा राजनीतिक समझदारी र सहकार्यको अति नै खाँचो छ। देश पटक-पटक प्राकृतिक विपत्ति र आर्थिक मन्दीको मारमा परिरहेका बेला राजनीतिक दलहरूबीच आपसी अस्वस्थ प्रतिस्पर्धा र दोषारोपणको खेल चलिरहनु दुखद् हो।
चाडपर्वको यस पावन अवसरमा राजनीतिक दलहरू र तिनका नेतृत्व वर्गले संकीर्ण दलीय स्वार्थभन्दा माथि उठेर मुलुक निर्माणका लागि सहकार्यको थालनी गर्नुपर्छ।
समाजमा अराजकता, विद्वेष र भ्रम सिर्जना गर्ने खालका गैरजिम्मेवार वाणी र अभिव्यक्तिहरूको पूर्ण अन्त्य हुनुपर्छ। बोलीमा संयमता, व्यवहारमा निष्ठा र नीतिमा स्पष्टता आजको नेतृत्वमा हुनुपर्ने अनिवार्य गुण हुन्।
आम नेपालीको दैनिकी अझै पनि कष्टकर छ। महँगी, बेरोजगारी र विपद्को दोहोरो-तेहेरो मारमा जनता पिसिइरहेका छन्। सर्वसाधारणको दैनिकी सुधार्ने, राहत र पुनर्निर्माणको कामलाई तीव्रता दिने तथा आर्थिक समृद्धि हासिल गर्ने अभियानमा सरकार, नागरिक समाज, निजी क्षेत्र र आम जनता सबैको हातेमालो हुनु जरुरी छ।
राजनीतिक अस्थिरता र आपसी वैमनस्यतालाई पन्छाएर सबै पक्ष देश र जनताको हितका लागि एउटै थलोमा उभिनु नै अहिलेको प्रमुख चुनौती र आवश्यकता हो।
अन्त्यमा, बडादशैंको यस शुभ अवसरमा मुलुकमा व्याप्त सबै प्रकारका आसुरी प्रवृत्तिको अन्त्य होस्। सत्य, निष्ठा, न्याय र धर्मले हाम्रा विचार र व्यवहारमा बास गरोस्। राजनीतिक दलहरूबीच समझदारी र सहकार्यको नयाँ युगको सुरुवात होस्, अनि समाजमा अराजकता फैलाउने बोली र व्यवहारको अन्त्य भई शान्ति र समृद्धिको वातावरण बनोस्।
बाढीपीडित र विपद्मा परेका नागरिकहरूले शीघ्र राहत र पुनरुत्थानको अनुभूति गर्न सकून्। नवदुर्गा भवानीले सम्पूर्ण नेपालीहरूलाई आपसमा हातेमालो गर्दै अघि बढ्ने शक्ति, सद्बुद्धि र आशीर्वाद प्रदान गरुन्। बडादशैंको सबैमा हार्दिक शुभकामना !




प्रतिक्रिया राख्नुहोस्