विश्व समाचार

ड्रोन प्रकरणमा सियोलसँग उत्तर कोरियाको स्पष्टीकरण माग

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनकी प्रभावशाली बहिनी किम यो जोङले आफ्नो देशको हवाई क्षेत्र उल्लङ्घन भएको दाबी गर्दै दक्षिण कोरियासँग विस्तृत ‘स्पष्टीकरण’ माग गर्नुभएको छ । उहाँले दक्षिण कोरियाबाट उडेको भनिएको ड्रोन उत्तर कोरियाली भूभागमा प्रवेश गरेको आरोप लगाउनुभएको हो ।

उत्तर कोरियाले शनिबार जनवरीको सुरुमा दक्षिण कोरियाको सीमावर्ती काउन्टी गाङवाबाट उडेको एक मानव रहित हवाई यान उत्तर कोरियाली सहर केसोङमा प्रवेश गरेको र गोली हानेर खसालिएको दाबी गर्दै त्यसका भग्नावशेषका तस्वीर सार्वजनिक गरेको थियो ।

तर सियोलले यो आरोप अस्वीकार गर्दै आफ्नो रक्षा मन्त्रालयमार्फत उक्त ड्रोन दक्षिण कोरियाली सेनाले प्रयोग गर्ने मोडेल नभएको स्पष्ट पारेको छ ।

राज्यद्वारा सञ्चालित कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) का अनुसार किम यो जोङले दक्षिण कोरियाको आधिकारिक नाम प्रयोग गर्दै ‘सौभाग्यवश, दक्षिण कोरियाली सेनाले यो आफैँले गरेको होइन र हामीलाई भड्काउने वा रिसाउने कुनै उद्देश्य नभएको आधिकारिक धारणा सार्वजनिक गरेको छ’ भन्नुभयो । तर उहाँले ‘हाम्रो गणतन्त्रको दक्षिणी सीमा पार गरेको ड्रोनको वास्तविक घटनाबारे विस्तृत व्याख्या गरिनुपर्छ’ भन्ने माग गर्नुभयो ।

उत्तर कोरियाको आरोपको जवाफमा दक्षिण कोरियाली सेनाले आफ्नो प्रारम्भिक अनुसन्धानले उक्त समयमा कुनै पनि मानव रहित हवाई यान सञ्चालन नगरिएको र प्रश्नमा उठाइएको वस्तु ड्रोन नै नभएको निष्कर्ष निकालेको जनाएको छ । राष्ट्रपति ली जे म्युङले यस घटनाबारे संयुक्त सैन्य–प्रहरी अनुसन्धान टोलीमार्फत ‘छिटो र कडा अनुसन्धान’ गर्न निर्देशन दिनुभएको छ ।

यदि कुनै सर्वसाधारणले ड्रोन सञ्चालन गरेको प्रमाण भेटिएमा त्यसलाई गम्भीर अपराध मानिने भन्दै राष्ट्रपति लीले यसले कोरियाली प्रायद्वीपको शान्ति र राष्ट्रिय सुरक्षामा खतरा पुर्याउने चेतावनी दिनुभएको छ । तर किम यो जोङले उक्त ड्रोन सैन्य हो वा नागरिक भन्ने कुरामा आफूलाई चासो नभएको भन्दै ‘त्यो हामी जान्न खोजेको मुख्य विषय होइन’ भन्नुभयो ।

उहाँले ‘स्पष्ट रूपमा आरओकेबाट आएको ड्रोनले हाम्रो देशको हवाई क्षेत्र उल्लङ्घन गरेको छ’ भन्दै दक्षिण कोरियाप्रति कडा शब्द प्रयोग गर्नुभयो । किम यो जोङको यस वक्तव्यलाई विश्लेषकहरूले प्योङयाङले यस घटनालाई सैन्यभन्दा बढी कूटनीतिक मुद्दाका रूपमा अगाडि बढाउन खोजेको सङ्केतका रूपमा हेरेका छन् ।

कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसनका विश्लेषक होङ मिनका अनुसार किम यो जोङको भनाइले तत्काल सैन्य तनाव बढाउने इरादा नरहेको देखाउँछ, तर स्पष्टीकरणको मागले कूटनीतिक दबाब बढाउने सम्भावना जनाउँछ ।

यो नयाँ ड्रोन विवाद दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक येओलविरुद्ध चलिरहेको मुद्दाको पृष्ठभूमिमा आएको हो । उहाँमाथि प्योङयाङको प्रतिक्रिया उक्साउने उद्देश्यले अवैध रूपमा ड्रोन सञ्चालनको आदेश दिएको आरोप लागेको छ । युनलाई गत वर्ष अप्रिलमा मार्सल ल लागू गर्ने प्रयासका कारण महाभियोग लगाई पदबाट हटाइएको थियो ।

ड्रोन प्रकरणपछि उत्तर कोरियाको कडा चेतावनी

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.