एकताबद्ध भएर अघि बढ्न कांग्रेस सभापति थापाको अपील
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीभित्र एकताबद्ध भएर अगाडि बढ्न सबैलाई अपिल गर्नुभएको छ । कांग्रेसको दोस्रो महाधिवेशनबाट सभापतिमा निर्वाचित थापालाई निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेसँगै शुक्रबार एक विज्ञप्ति जारी गरी एकताबद्ध भएर अगाडि बढ्न पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गर्नुभएको हो ।
“नेपाली कांग्रेसमा विधि, विधान र पद्धति स्थापित भएको छ, विशेष महाधिवेशन कुनै विवादको विषय थिएन, निर्वाचन आयोगले संविधान, प्रचलित कानुन र पार्टीको विधानअनुसार निर्णय गरेको छ, यसप्रति हामी आभारी छौँ”, उहाँले भन्नुभयो ।
उहाँले कांग्रेसका सदस्य र शुभेच्छुकजनले नेपाली कांग्रेसमा सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरेको इमान्दार प्रयत्नको साझा प्रतिफल भएको उल्लेख गर्नुभयो ।
सभापति थापाले भन्नुभयो, “पार्टी नेताको चाहनाले मात्र होइन आम सदस्यको चाहनाले चल्छ, बन्छ, अब कांग्रेस आफ्नो मूल जरामा, आफ्नो मूल्य मान्यता र आदर्शमा फर्केको छ ।” उहाँले विशेष महाधिवेशनमा सहभागी हुनुभएका र नहुनुभएका सबैलाई विधि विधानले प्रधानता पाएको र जय पराजयको विषय नभएको बताउनुभयो ।
“कुनै अलमल नपरौँ, सबै संयम होऔँ, जिम्मेवार बनौँ, एकताबद्ध रहौँ, विश्वास र भरोसा राख्नुहोस् अब कांग्रेस नवीन ऊर्जा र एकतासहित रूपान्तरणको दिशामा अगाडि बढेको छ, रिफर्मको यात्रा सुरु भइसकेको छ, अब उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आशन्न निर्वाचनमा एकढिक्का भइ लाग्नुपर्नेछ”, सभापति थापाले भन्नुुभयो ।
उहाँले अहिलेको परिस्थितिमा कांग्रेसलाई अगाडि बढाउन पार्टीका पूर्वसभापति शेरबहादुर देउवालगायत पार्टीमा विभिन्न तह र निकायमा रहनुभएका सबैबाट पार्टीको लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा लिई पूर्ण साथ रहने विश्वाससमेत लिनुभयो ।
सभापति थापाले आजदेखि पार्टीभित्र गुट र भागबण्डा नहुने बताउनुभयो । जिम्मेवारी फरक भए पनि भुइ तहमा रहेका सदस्य र केन्द्रीय सभापतिको समान हैसियत हुने उहाँको भनाइ छ । उहाँले कांग्रेस पार्टी नेता र यसका सीमित सदस्यको मात्रै नभई आममानिसको सार्वजनिक पुँजी भएको बताउनुभयो ।
कांग्रेसले विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै समीक्षा गरेको बताउँदै सभापति थापाले आजसम्मका उपलब्धिलाइ समयको पदचाप अनुसार थप संस्थागत गर्ने सङ्कल्प गरेको उल्लेख गर्नुभयो ।
कांग्रेस आमनेपाली जनताको अपेक्षा र नवयुवाको परिवर्तनको आकांक्षा अनुरूप अगाडि बढ्ने उहाँले बताउनुभयो । “एउटा लोकतान्त्रिक र जनमुखी पार्टी कस्तो हुनुपर्छ हामी बनाउनेछौँ, अब कांग्रेसले मूल्य र सिद्धान्त विपरित गएर कुनै सम्झौता गर्ने छैन”, उहाँले भन्नुभयो, “सत्ताका लागि जोसँग जहिले पनि अप्राकृतिक गठबन्धन गर्ने कुरा अन्त्य हुनेछ ।”
सभापति थापाले हिजोका दिनमा पार्टीका अग्रजले लोकतन्त्र र जनअधिकारका लागि अग्रसरता लिएजसरी नै अब कांग्रेसले यो संविधानको रक्षा गर्दै समुन्नतिको नेतृत्व गर्ने बताउनुभयो ।
उहाँले यसका लागि सबैको थप साथ र विश्वास चाहिएको बताउनुभयो । उहाँले सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टीका सबै अग्रजलाई श्रद्धा र सम्मान प्रकट गर्नुभएको छ । उहाँले देशभरका नवयुवालगायत आम नेपाली आमाबुबा, दाजुभाइ दिदीबहिनीहरूमा समुन्नत नेपाल निर्माणको यात्रामा सरिक हुन अपिल गर्नुभएको छ ।





प्रतिक्रिया राख्नुहोस्