उपसभामुखबाट शिवमाया तुम्बाहाङ्फेको राजीनामा
सत्तारुढ नेकपाले सभामुखमा अग्नि सापकोटालाई अघि सार्ने निर्णय गरेसंगै उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिनुभएको छ । उहाँले सोमबार दिउँसो नयाँ बानेश्वरस्थित संसद सचिवालयमा राजीनामा बुझाउनुुभएको हो ।
सोमबार प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता गर्दै उहाँले सभामुख चयनका लागि आफूले मार्गप्रशस्त गर्ने बताउनुभएको थियो । आफ्नो दुई वर्षको कार्यकाल अविस्मरणीय रहेको बताउनुभएकी उहाँले भन्नुभयो ‘एकल महिला त्यसमाथि पनि आदिवासी जनजातिका रूपमा मैले दुई वर्ष जनताको अधिकार प्रयोग गर्ने सर्वोच्च निकायमा काम गर्ने मौका पाएँ त्यसलाई मैले ठूलो अवसर ठानेको छु ।
अब म फरक रूपमा क्रियाशील हुनेछु । मलाई सहयोग गर्ने माननीय सदस्यहरू र संसद सचिवालयका कर्मचारीलाई धन्यवाद ।’
अब संसदको अर्को बैठक दिउँसो ४ बजे बस्नेछ । उक्त बैठकको अध्यक्षता भने जेष्ठ सदस्यका रुपमा राजपाका महन्थ ठाकुरले गर्नुहुनेछ । सोही बैठकले सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नेछ ।