सम्पादकीय

मुलुक असफल राष्ट्रमा परिणत नहोस्

कुनै पनि मुलुक असफल हुने निश्चित आधारहरु छन् र ती आधारमा अस्थिरता, आर्थिक संकट र कमजोर न्याय प्रणालीलाई प्रमुख मानिन्छ । अहिले नेपालको अवस्था यस्तै छ । पाँच दलीय गठबन्धनको बलियो सरकार देखिन्छ तर शासकीय कुशलताको अभावमा देश तन्नम हुँदैछ । राजनीतिक अस्थिरताको स्रोत गठबन्धन नै बन्न लागेका छन् ।

आर्थिक अवस्थाको बयान नै गर्नु पर्दैन । शासनसत्तामा रहेकाहरुले जति ढाकछाप गरे पनि देश आर्थिक संकटको दिशातिर दैनिक रुपमा द्रुतगतिले अघि बढिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत शुक्रबार आफू नेतृत्वको सरकार बनेपछि आर्थिक विकासका सूचकहरु सुधारएको, सुशासन कायम भएको, जनताले राहत पाएको भने ‘सफेद झूठ’ बोले पनि दृश्य त्यसको ठीक विपरीत छ । चालू आर्थिक वर्षको आधार वर्षमा विकास खर्च १५ प्रतिशत पनि हुन, व्यापार घाटा ८ खर्ब नाघ्ने, भन्सार राजश्वका भरमा मुलुक चलाउने खोज्ने प्रवृत्तिले देश असफल हुन भय मडारिएको छ ।

देशको अर्थतन्त्र उच्च गतिमा घाटामा गैरहेको छ र पनि देशलाई टाट पल्टिनबाट जोगाउने उपायको खोजी भैरहेको छैन । सुविधाभोगी वस्तुको आयात उच्च भैरहेकाले शोधनान्तर घाटा तीब्रगतिमा अगाडि बढेको छ । वर्तमान सरकारले जिम्मेवारी सँभाल्दासम्म बचतमा रहेको शोधनान्तर स्थिति यो छ महिनाकै अन्तरालमा २ खर्ब घाटामा गएको छ । विदेशी मुद्राको सञ्चितीमा पनि यसबीचमा झण्डै २ खर्ब नै ह्रास आएको छ । विदेशी मुद्राको बलियो स्रोत बिप्रेषणको आप्रवाहमा पनि निरन्तर ह्रास आइरहेको छ र यसले हुण्डीको कारोवार बढेको संकेत गरेको छ ।

यो अवधिमा सालाखाला मूल्यवृद्धि ७.११ प्रतिशत रहेको देखिको छ भने दैनिक उपभोग्यवस्तुको मूल्य त्योभन्दा धेरै उच्च रहेको आम भोगाइ छ । अहिलेको आँकडाले नै के प्रष्ट पारेको छ भने यो पाँच वर्ष यताकै उच्च मूल्य वृद्धि हो । आयातमा भैरहेको उच्च वृद्धिले राजस्व असुली निर्धारित लक्ष्यको नजिक पुगेको र सरकारलाई चालु खर्च जुटाउन सहज भएको जस्तो देखिए पनि आर्थिक क्षेत्रका यावत् सूचकांकहरूले दिएको नकारात्मक सन्देशले देश आर्थिक दुर्घटनाको दिशातिर बढेको प्रष्ट हुँदैगएको छ ।

राज्यका प्रमुख अंगहरू–कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाभित्रका अहिले देखिएका असंगत गतिविधिहरू सत्ता केन्द्रित विसंगत राजनीतिक गतिविधिकै उपज हुन् र त्यस्ता गतिविधि तत्काल रोकिने कुनै सम्भावना देखिएको छैन । क्षणिक र तत्कालीन लाभको तदर्थवादी सोचको राजनीतिक क्रियाकलापको दुष्परिणाम आज देशले नराम्रोसंग भोगिरहेको छ । देशको आर्थिक मेरुदण्ड नै भाँचिने स्थिति सिर्जना हुँदैजानुले निकट भविष्यमा उत्पन्न हुने संकटको भयावहता कल्पना भन्दा बाहिर छ ।

मुलुकप्रति कोही पनि इमान्दार देखिएका छैनन् । अहिलेकै गतिमा देश अब अरु अघि बढ्न सक्दैन । आयातमा धानिएको अर्थतन्त्रले प्रशासन चलाउन पनि नपुग्ने भएपछि त्यो देशको अवस्था कस्तो होला ? यत गम्भीर समस्या उत्पन्न भैसक्दा पनि देशको अर्थतन्त्र प्रतिकूल दिशातिर उन्मुख हुनाका कारण के के हुन् र तिनको निराकरणका लागि अपनाउनुपर्ने अल्पकालिन र दीर्घकालिन उपायहरू के के हुनसक्छन् भन्नेबारे कसैको चासो छैन । सबैलाई आआफ्नो राजनीतिक शक्ति आर्जन गर्ने ध्याउन्न बाहेक देशको चिन्ता पटक्कै देखिंदैन । निहित सत्तास्वार्थ र राजनीतिक प्रतिद्वन्द्वीताको संकीर्ण घेराबाट माथिउठेर गम्भीर छलफल र बहस हुनुपर्ने आवश्यकता अहिले भए पनि निषेधको राजनीतिले दह्रो डेरा जमाएको छ ।

देशमा आर्थिक संकट सिर्जना हुँदैजानुको अवस्थालाई सत्ताको छिनाझपटीमा अल्झिइरहेका राजनीतिक प्रतिद्वन्द्वीहरूले एक अर्कोमाथि आरोप प्रत्यारोपको लहर उठाएर क्षणिक लाभ उठाउने कोशिस गर्नुको सट्टा यो बिषम परिस्थितिको सामना कसरी गर्न सकिन्छ भन्नेबारे जिम्मेदार ढंगले परामर्श गर्ने र नीतिगत रुपमा सकारात्मक परिणामदायी उपायको खोजी इमान्दारितापूर्वक गर्नु आवश्यक छ । सत्तामुखी राजनीतिक समूहहरू मुलुकको खस्किँदो आर्थिक स्थिति र सामान्य जनताको बाच्नै पनि कठिन हुँदैगएको अवस्थाप्रति पटक्कै संवेदनशील नहुनु र एकले अर्कोमाथि आरोप लगाएर पानीमाथिको ओभानो देखिने चेष्टा गर्नु अनिष्टकारी भविष्यको संकेत हो ।

सत्तामा रहँदा जताततै राम्रैराम्रो मात्र भएको देख्ने र सत्ताबाट बाहिरिएपछि नराम्रैनराम्रो मात्र देख्ने र एकले अर्काको कमजोरी भजाएर त्यसबाट लाभ उठाउने जे जस्तो प्रवृत्ति मौलाएको छ त्यसले झ्याङ्गिँदैआएको समस्यालाई कदापि सम्बोधन गर्नसक्दैन । मुलुक आज जुन दुर्नियतिको शिकार बन्दैगएको छ त्यसको मूल कारण प्रणालीगत हो कि राजनीतिक इमान्दारीको कमी र चारित्रिक स्खलनको परिणति हो भनी खेलाउनुपर्ने समय पनि आइसकेको छ ।

जुन देशले आर्थिक उत्पादकत्व वृद्धिका लागि उपयोग हुनुपर्ने उर्जाशील र कर्मशील युवाहरूलाई वैदेशिक रोजगारीमा धकेलेर उनीहरूको रगत र पसिनाबाट आर्जित रकम बिप्रेषणको रुपमा भित्र्याएर देशको अर्थतन्त्र धान्ने सोच राख्दछ त्यो देशले भोग्ने नियति भनेको अहिलेकै अवस्था हो । यस्तो दुर्नियतिको स्थितिबाट मुलुकले पारपाउने कुनै लक्षण अहिले नदेखिनु सर्वाधिक चिन्ताको विषय हो । मलुकमा अहिले आर्थिक विफलताको सन्त्रास छाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button