पूर्जाकै भरमा जग्गाको बैना गर्दा ठगीमा परिएला
घरजग्गा कारोबारमा अनेक जालझेल हुने नेपालमा अझै पनि सोझासिधालाई जग्गाको पूर्जा र नक्सा देखाएर रकम ठग्नेहरुको कमी छैन । यस्तो कार्यका लागि जग्गा दलालदेखि सम्बन्धित सरकारी कार्यालयका कर्मचारी समेत संलग्न हुने गरेका छन् ।

त्यस्तै एक व्यक्तिको जग्गा भित्रभित्रै मिलेमतोमा कीर्ति गरेर अर्काको नाममा पास गरी विक्री गरेका घटनाहरु पनि प्रशस्त सुनिएका छन् ।
यसै क्रममा नक्कली पूर्जा देखाएर एक व्यक्तिले जग्गाको बैनासमेत गरी रु ३३ लाख ठगी गरेका छन् । ठगी गर्नेमा ओखलढुङ्गा घर भई हाल बूढानीलकण्ठ नगरपालिका–११ कपन बस्दै आएका ३९ वर्षीय हितबहादुर बुढाथोकी रहेका छन् ।
महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरका अनुसार बुढाथोकीले साँखुस्थित कित्ता नम्बर ७५९ को २ रोपनी जग्गामध्ये ८ आना रु ३५ लाखमा दिन्छु भनी प्रलोभनमा पारी ठगी गरेका छन् ।
पीडितलाई जग्गाको पूर्जा र नक्साको प्रतिलिपी दिई ३५ दिनमा पास गरिदिन्छु भन्दै आश्वासन दिएर रु ३३ लाख लिएर जग्गा बैनाको कागज बनाएको खुल्न आएको कुँवरले बताउनुभयो ।
तोकिएको समयमा जग्गा पास नगरेपछि मालपोत कार्यालय साँखुमा बुझ्दा उक्त जग्गा हितबहादुरको नाममा नभएको खुलेपछि मात्रै पीडितले ठगीमा परेको थाहा पाएका थिए ।
पीडितले उजुरी दिएपछि महाशाखाले बुढाथोकीलाई पक्राउ गरेको हो । उनले अन्य व्यक्तिको नाममा भएको जग्गा आफ्नो भनी नक्कली कागज बनाएर ठगी गरेको पाइएको छ । बुढाथोकीलाई कारबाहीका लागि महानगरीय प्रहरी परिसरको जिम्मा लगाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्