राजनीति

सहमति भएसंगै चन्द समूहका नेताकार्यकर्ता रिहाइ प्रक्रिया शुरु

शुक्रबार रिहा हुनुभएका नेकपा नेता धर्मेन्द्र बाँस्तोला

सरकारले नेत्रविक्रम चन्द समूहका गतिविधिमाथि लागेको प्रतिबन्ध हटेसँगै नेता–कार्यकर्ता रिहाइ प्रक्रिया शुरु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आवश्यक प्रक्रिया पुर्याएर उनीहरुलाई छाड्न थालिएको हो ।

“अदालतमा पुर्पक्षमा पुगेकाका हकमा मन्त्रिपरिषद्कै निर्णय आउनुपर्ला, प्रशासन कार्यालयअन्तर्गत रहेकाका हकमा जिल्लाबाट र अनुसन्धानका क्रममा रहेकाका हकमा सरकारी वकिलको कार्यालयमार्फत आवश्यक प्रक्रिया पुर्याएर छाडिने छ”, केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले भन्नुभयो ।

कति जनालाई रिहाइ गरियो भन्ने विवरण आइनसके पनि प्रक्रिया पुर्याएर रिहाइको क्रम भने शुरु भइसकेको जनाइएको छ । हप्ताअघि काठमाडौँमा पक्राउ परेका उक्त समूहका नेता धर्मेन्द्र बाँस्तोलालाई समेत शुक्रबार काभ्रेपलाञ्चोकबाट रिहाइ गरिसकिएको छ ।

प्रहरीका अनुसार हाल चन्द समूहका १४४ नेता–कार्यकर्ता पुर्पक्षका लागि कारागारमा छन् । उसका १८ कार्यकर्ता विरुद्ध अनुसन्धान चलिरहेको छ । विसं २०७५ फागुनपछि प्रहरीले दुई हजार ८२ जना पक्राउ गरेको थियो । उनीहरुविरुद्ध दुई हजार मुद्दा दर्ता भएको थियो । तीमध्ये ९० जना सोधपुछपछि छुटेका र करीब एक हजार ८४० मुद्दा दर्तापछि छुटेका थिए ।

सरकार र चन्द समूहबीचको वार्तामा तीनबुँदे सहमति भएसँगै प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो समूहमाथि लाग्दै आएको प्रतिबन्ध हटाएको थियो । त्यसअघि सरकार र नेकपाबीचको वार्तामा चन्द समूहका सम्पूर्ण गतिविधि शान्तिपूर्णरूपमा सञ्चालन हुने र सरकारका तर्फबाट उसका गतिविधिमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने सहमति भएको थियो ।

सरकारले हिंसात्मक गतिविधि सञ्चालन गरेको जनाउँदै विसं २०७५ फागुन २८ गते समूहका गतिविधि सञ्चालनमा रोक लगाएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.