जन सरोकार

२३ स्थानमा राखिएको शंकास्पद वस्तु निस्क्रिय, केही स्थानमा विवाद

आज फागुन २१ गते देशभर मतदान भैरहेको छ । केही मतदान केन्द्रमा विवाद भएको छ भने निर्वाचन विथोल्न चाहनेले केही स्थानमा शंकास्पद वस्तु राखेर त्रास फैलाउने प्रयास गरे पनि नेपाली सेनाले ती वस्तुहरु निस्क्रिय पारेको छ ।

यो समाचार तयार पार्दासम्म देशभरिका विभिन्न २३ स्थानहरूमा शंकास्पद वस्तु फेला परेको छ । काठमाडौं उपत्यकासहित विभिन्न ठाउँहरूमा शंकास्पद वस्तु राखेर तर्साउने काम भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

त्यस्ता शंकास्पद वस्तुहरू नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । प्रहरीका अनुसार काठमाडौंका २ ठाउँमा, ताप्लेजुङ, मोरङ, सर्लाही, रौतहट, सप्तरी, चितवन, मकवानपुर, बाग्लुङ, बाँके, कपिलवस्तु, बर्दिया, कञ्चनपुर लगायतका ठाउँहरूमा होक्स भेटिएको हो ।

यसबीच दोलखाको मालु मतदान स्थलमा मतदान रोकिएको छ । तामाकोशी गाउँपालिका ४ मालु मतदान गर्ने क्रममा विवाद भएपछि मतदान नै रोकिएको हो ।

निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात हुन खोजेपछि प्रहरीले हवाई फायर गरेको थियो । हवाई फायरपछि नाराबाजी सुरु भएको थियो । लगत्तै सर्वदलीय बैठक डाकिएको र मतदान सुरु गर्नेबारे छलफल जारी रहेको बताइएको छ ।

यसै गरी सर्लाहीको बलरा नगरपालिका–४ को एक केन्द्रमा मतदान रोकिएको छ । बिहान केहीबेर सो क्षेत्रमा केही युवाहरू उत्रिएर अवस्था तनावग्रस्त बनाउन खोजेपछि मतदान रोकिएको थियो ।

लगत्तै, मतदान रोकेर प्रमुख जिल्ला अधिकारी रामराज कडरिया र जिल्ला प्रहरी प्रमुख योगेन्द्र कुमार खड्कासहित सो मतदान केन्द्रमा पुगेपछि स्थानीयले आफूहरू त्रसित रहेको मतदान गर्न गाह्रो भएको गुनासो गरेका थिए । मतदाताहरूलाई सीडीओ र प्रहरी प्रमुखले ढुक्क रहन आग्रह गरेपछि मतदान सुरु भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.