आगामी जुन महिनादेखि संयुक्तराज्य अमेरिका र वेस्ट इण्डिजमा हुने टी-२० विश्वकप प्रतियोगितामा छनोट भएको नेपालको तयारीका लागि सरकारले ५ करोड रुपैयाँ निकासा गरेको छ ।
सरकारले आईसीसी टी–२० विश्वकपमा सहभागी हुने नेपाली टोलीको तयारीका लागि नेपाल क्रिकेट संघ (क्यान)लाई पाँच करोड रुपैयाँ दिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिनुभएको हो ।
सदस्यसचिव घिसिङले विश्वकप जस्तो महामेलामा सहभागिता जनाउने नेपाली क्रिकेट टोलीको तयारीका लागि रकम निकासा गरेकोमा नेपाल सरकार, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयलाई धन्यवाद दिनुभएको छ ।
त्यसै गरी घिसिङले नेपाल क्रिकेट संघलाई पूर्ण तयारीका लागि गम्भीर भएर अगाडि बढ्न भन्दै नेपाली टोलीलाई शुभकामना समेत दिनुभएको छ ।
सदस्य सचिव घिसिङले नेपाली टोलीले विश्वकप जस्तो ठूलो प्रतियोगिता खेल्दै गरेको र यसको तयारीका लागि राष्ट्रिय खेलकुद परिषद्ले युवा तथा खेलकुद मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा रकम निकासाका लागि सिफारिस गरेको जानकारी समेत दिनुभएको छ ।
उहाँले भन्नुभएको छ- “खेलकुदको महत्त्वलाई बुझेर रकम निकासा गर्न सहयोग गर्ने नेपाल सरकार, सम्माननीय प्रधानमन्त्रीज्यू, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयप्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिन चाहन्छु” ।
सदस्य–सचिव घिसिङले भन्नुभएको छ, “नेपाली टोली विश्वकपमा पुगेपछि सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली टोलीको तयारीका लागि लाग्ने खर्चमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । उहाँको सो प्रतिबद्धता पूरा भएको छ । अब खेलाडीले उच्च मनोबलका साथ तयारी गर्दै विश्व कपमा उत्कृष्ट प्रदर्शन गरी नेपालको प्रतिष्ठा अझ अभिबृद्धि गर्ने विश्वास लिएको छु ।”



प्रतिक्रिया राख्नुहोस्