नेपाल प्रिमियर लिग (एनपिएल) टोली काठमाडौँ गोर्खाजले पहिलो विदेशी खेलाडीको रूपमा भारतका विकेटकिपर/ब्याटर केएस भरतलाई अनुबन्ध गरेको छ । काठमाडौँले तेस्रो संस्करणको एनपिएलका लागि उनलाई अनुबन्ध गरेको हो ।
भारतीय घरेलु क्रिकेटका अनुभवी खेलाडी भरतले आफ्नो देशका लागि सातवटा टेष्ट खेलेका छन् । उनले दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेँगलुरुबाट इण्डियन प्रिमियर लिग (आइपिएल) समेत खेलिसकेका छन् । उनले प्रथम श्रेणी क्रिकेटमा छ हजारभन्दा बढी रन बनाएका छन् ।
भरतले यही वर्षको जुन महिनामा अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । अनुभवी खेलाडी भरतको आगमनले टोली थप बलियो बनेको काठमाडौँ गोर्खाजले जनाएको छ ।
‘‘भारतका अन्तरराष्ट्रिय खेलाडी केएस भरतले आफ्नो देशका लागि टेस्ट क्रिकेट खेलिसकेका छन् । विकेट पछाडि धैर्य र संयमका लागि परिचित भरतले टोलीमा अनुभव, विश्वासनीयता र सुरक्षित विकेट किपिङ ल्याउने छन्’’, काठमाडौँ गोर्खाजले उनलाई सार्वजनिक गर्दै सामाजिक सञ्जालमा लेखेको छ ।
एनपिएलको तेस्रो संस्करण आउँदो कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म काठमाडौँमा आयोजना हुने तय भएको छ ।




प्रतिक्रिया राख्नुहोस्