स्थानीयतह निर्वाचन

स्थानीय तह निर्वाचन २०७९ का लागि १४ वटा निर्देशिका अन्तिम चरणमा

आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक निर्देशिका बनाउने कार्य अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचन, २०७९ का लागि आवश्यक निर्देशिका बनाउने कार्य फागुन २५ भित्र सम्पन्न भैसक्नुपर्ने कार्यतालिका छ । आयोगले पछिल्लो निर्वाचनमा प्रयोगमा आएका निर्देशिकालाई नै संशोधन तथा परिमार्जन गर्दैछ ।

निर्वाचनका १४ निर्देशिकामध्ये आचारसंहिताको प्रस्ताव भने कानुन मन्त्रालयले आयोगमै फिर्ता पठाएको छ । आयोगले निर्वाचन आचारसंहितामा उम्मेदवारी मनोनयनअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रस्ताव गरेको थियो भने मन्त्रालयले मनोनयन भएपछि स्वतः पद निस्क्रिय हुने व्यवस्था गर्न सुझाएको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार जनशक्ति व्यवस्थापन, निर्वाचन मतदान, मतगणना, आर्थिक व्यवस्थापन, निर्वाचन सुरक्षा, निर्वाचन अनुगमन, निर्वाचन पर्यवेक्षण, मतदाता शिक्षा, आचारसंहिता, जनशक्ति प्रशिक्षण, निर्वाचन विवाद ९सुनुवाइ तथा निरुपण०, कसुर तथा सजाय, सञ्चारमाध्यम अनुगमनसहितका निर्देशिका निर्वाचन प्रयोजनका लागि आवश्यक पर्नेछ ।

हालसम्म जनशक्ति व्यवस्थापन निर्देशिका र आर्थिक व्यवस्थापन निर्देशिका स्वीकृत भइसकेको छ । आर्थिक व्यवस्थापनमा अर्थ मन्त्रालय र आचारसंहिता निर्देशिकामा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको सहमति आवश्यक पर्छ । हालसम्म जनशक्ति र आर्थिक व्यवस्थापन गरी दुईवटा मस्यौदा स्वीकृत भएर निर्देशिकाका रूपमा प्रयोगमा आइसकेको छ ।

आर्थिक व्यवस्थापन, सुरक्षा, आचारसंहिता, जनशक्ति प्रशिक्षण, अनुगमन र पर्यवेक्षण, मतदाता शिक्षालगायतका निर्देशिका तत्काल आवश्यक पर्ने छ । आचारसंहिता लागू भएपछि मात्रै मतदान, मतगणना, सञ्चारमाध्यम अनुगमन, निर्वाचन विवाद, कसुर तथा सजायलगायतका निर्देशिकाबमोजिम कार्य सम्पादन हुनेछ ।

मतदान हुने मिति नजिकिँदै जाँदा आयोगले मतदाता शिक्षा कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी गरेको छ तर कार्यविधि बनिसकेको छैन । मतदाता शिक्षाका लागि आवश्यक सन्देशमूलक सामग्री भने सङ्कलनका क्रममा रहेको छ । मतदाता शिक्षा सञ्चालनपूर्व नै निर्देशिकालाई अन्तिम रूप दिनुपर्ने सहायक प्रवक्ता अर्यालले बताउनुभयो ।

आयोगका पदाधिकारीले चैत्त पहिलो साता नै सुरक्षा सम्बन्धमा सुरक्षा निकायका प्रमुख र गृह मन्त्रालयसँग छलफल गर्ने तयारी गरेको छ । २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आयोगसमक्ष अब ६७ दिन मात्रै बाँकी छ । आयोगले चैत तेस्रो सातादेखि आचारसंहिता लागू गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.