स्थानीयतह निर्वाचन

मतगणना नसकिंदै काठमाडौंमा बालेन र सुनिता विजयी, आजसम्म औपचारिक घोषणा आउने

मुलुकको संघीय राजधानी समेत रहेको काठमाडौं महानगरपालिकाको मतगणनाको अन्तिम परिणाम नआउँदै प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुखमा नेकपा एमालेकी सुनिता डंगोल विजयी हुनुभएको छ ।

अब करिब सात हजार ५०७ मतगणना हुन मात्रै बाँकी रहेकाले बाँकी मत र उहाँहरुले पाउनुभएको मतका आधारमा विजयी भए पनि आज (बिहिबार साँझसम्म अन्तिम परिणाम आउने बताइएका छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाकाअनुसार एक लाख ९१ हजार १८६ कुल मतमध्ये अहिलेसम्म एक लाख ८३ हजार ६७९ भन्दा बढी मतगणना भइसकेको छ ।

हालसम्म महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले मत ५९ हजार १४९ मत ल्याउनुभएको छ । नेपाली कांग्रेसका सिर्जना सिंहले ३७ हजार ५४२ र नेकपा (एमाले)का केशव स्थापितले ३७ हजार २१८ मत ल्याउनुभएको छ ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले पाँच हजार ५६५ र स्वतन्त्र आँखीझ्याल निर्वाचन चिह्न भएको स्वतन्त्र उम्मेद्वार सुमन सायमीले १३ हजार ३५४ मत ल्याउनुभयो ।

महानगर उपपमुखमा एमालेका सुनीता डङ्गोलले ६६ हजार ८७८ मत प्राप्त गर्नुभयो । नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले २३ हजार ३१ मत ल्याउनुभयो भने राप्रपाका विनीता मगैयाले ११ हजार ६४७ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा स्वतन्त्र उम्मेदवारहरु निर्वाचन चिह्न लौरोले छ हजार ३३६ र आँखीझ्यालको मत १३ हजार १७६ छ ।

काठमाडौं महानगरको ३२ वडामध्ये २९ वटा वडाको नतिजा सार्वजनिक भइसकेको छ । वडा नं १३, १४ र १५ गरी तीन वटा वडाको मतगणना भइरहेको छ ।

निर्वाचन अधिकृतका कार्यालय अनुसार बाँकी रहेका वडाको नौ ठाउँमा मतगणना गर्ने तयारी भए पनि आवश्यक प्रतिनिधिको अभावका कारण सो हुन नसकेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.