राजनीति

अदालतको आदेशपछि पूर्वसभामुख महरा नर्भिक अस्पताल भर्ना

सुन प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई नर्भिक अस्पताल थापाथलीमा भर्ना गरिएको छ ।

कमजोर स्वास्थ्य अवस्थाका कारण देखाउँदै काठमाडौँ जिल्ला अदालतले अस्पतालमा राखेर अनुसन्धान गर्न दिएको आदेशका आधारमा उहाँलाई नर्भिक अस्पतालमा लगेर भर्ना गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुरक्षा पहराका साथ उहाँलाई अस्पतालमा भर्ना गरिएको हो । महराले आफू बिरामी भएको बताएपछि अदालतले प्रहरीलाई चार दिन हिरासतमा राख्न र अस्पतालमा राखेरै अनुसन्धान गर्न अनुमति दिएको थियो ।

नेता महरालाई सोमबार कपिलवस्तुबाट पक्राउ गरी काठमाडौँ ल्याइएको थियो । गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग नेता महराको नाम जोडिएको छ ।

ती व्यक्तिसँग चिनजान र कुराकानी भएको स्वयं महराले स्वीकार गरे पनि तस्करीको विषयमा भने आफू अनभिज्ञ रहेको दावी गर्दै आउनुभएको छ ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले उहाँमाथि अनुसन्धान गर्न सिफारिस गरेको र सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेलगत्तै महरालाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेको हो ।

यसअघि भने सिआइबीले उहाँलाई बयान कागज गराएर मात्रै छाडेको थियो । उक्त प्रक्रिया त्रुटिपूर्ण रहेको आरोगले औँल्याएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.