राजनीति

सीमामा अलपत्र नेपालीलाई स्वदेश भित्रने मौका- १४ दिने क्वारेन्टाइन अनिवार्य

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ भित्रिन नदिन सरकारले अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन आदेश जारी गरेपछि दक्षिणी सीमा क्षेत्रमा अडकिएका नेपालीलाई मुलुक प्रवेश गर्न मंगलबार एक दिनको समय दिइएको छ । तर, उनीहरु १४ दिन अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने छ ।

यसका लागि स्थानीय प्रशासन, प्रदेश र स्थानीय तहको समन्वयमा क्वारेन्टाइनको व्यवस्था मिलाउने निर्णय भएको सरकारका प्रवक्ता अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको संयोजकत्वमा गठित कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले उक्त निर्णय गरेको हो ।

कोभिड–१९ को जोखिम रहेकाले मुलुकमा जथाभावी मानिस प्रवेश गर्दा र हिँडडुल गर्दा रोग फैलनसक्ने खतरालाई मध्यनगर गरी सरकारले आज बिहान ६ बजेदेखि लागू हुने गरी अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन सरकारले आदेश जारी गरेको थियो । चैत १८ गते विहान ६ बजेसमम उक्त आदेश लागु हुनेछ ।

“आफु पनि सुरक्षित रहुँ र अरुलाई पनि सुरक्षित राखौँ भन्ने मनसायका साथ सरकारले आव्हान गरेको हो, आजको सुरक्षा अबस्था र सीमामा भइरहेको गतिविधिको बैठकमा समीक्षा पनि भयो, नागरिकको साथ छ भन्ने निष्कर्ष छ”, बैठकपछि मन्त्री खतिवडाले भन्नुभयो ।

उहाँले पूर्वसूचना नपाएर वा अन्य कारणले यात्रा कायमै राखेर आएका नेपाली दक्षिणी सीमा क्षेत्रमा बसेको जानकारी आएकाले बीच बाटोमा अलपत्र नपरुन् भनेर आज अन्तिम पटक एक दिनका लागि आउन खुला गर्ने निर्णय बैठकले गरेको जानकारी दिनुभयो । उनीहरुलाई नेपाली हो भन्ने परिचय पत्र हेरेर मात्रै छाडिने छ ।

कतिपय स्वास्थ्य उपकरणहरुको स्थानीय बजारमा आपूर्ति नभएको अबस्थामा अन्तर्राष्ट्रिय बजारबाट छिटो ल्याउनुपर्ने आवश्यकता महसुस गरी सरकारले निजी क्षेत्रबाट ल्याउन आव्हान गर्ने निर्णय पनि गरेको छ । आपूर्तिलाई सहज बनाउन उक्त निर्णय गरेको मन्त्री डा खतिवडाले बताउनुभयो ।

सरकारले चीन र भारतबाट मेडिकल किट ल्याउने विषयमा पहल गरिरहेको समेत उहाँले जानकारी दिनुभयो । सरकारीस्तरबाट समय लाग्न सक्ने भएकाले निजी क्षेत्रले ल्याउन सक्ने भए त्यसका लागि समेत प्रस्ताव ल्याउन सरकारले आव्हान गरेको उहाँले जानकारी दिनुभयो । उनीहरलाई हवाईलगायत अन्य सेवा आवश्यक भए नेपाल सरकारले सहयोग गर्ने जनाएको छ ।

अत्यावश्यक बाहेक बाहिर ननिस्कुन र अत्यावश्यक बाहेक गाडी नचलाउनु भनेर सरकारले गरेको आव्हानलाई आम–नेपालीले पालना गरेर अपेक्षामा साथ दिएको भन्दै सरकारले धन्यवाद समेत दिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.