सम्पादकीय

राजनैतिक नैतिकताको खडेरी परेको देश

– यादब देवकोटा

नैतिकता हरेक व्यक्तिको गहना हो र जो व्यक्तिको आचरण, व्यवहार र कार्य नैतिक रुपमा बलियो हुन्छ उसलाई पद, प्रतिष्ठा, सम्पत्ति र शक्तिको लोभ हुँदैन । अझ राजनीतिमा नैतिकताको हेक्का राखिएन भने व्यक्ति स्वयं र देश नै भड्खालोमा पर्छ । अहिले नेपालमा यस्तै नैतिकताको खडेरी परेको छ ।

एकले अर्कोलाई अनैतिक भन्दै नैतिकता छ भने राजीनामा देउ भनिरहे पनि अरुलाई नैतिकता सिकाउनेहरु स्वयं कति नैतिकवान छन् भन्ने प्रश्न उठाउन सकिन्छ । व्यक्तिगत स्वार्थलाई राष्ट्रको आवश्यकता ठानेर ढिपी गर्ने, बिरोध गर्ने र अतितल्लो स्तरबाट गालीगलौज राजनीतिमा सामान्य बन्दैगएको छ । यस्तै व्यवहारले नेताहरुबचि शत्रुतापूर्ण सम्बन्ध बढ्दो छ ।एउटै राजनतिक दलभित्र त यस्तो छ भने विपरीत विचारधाराका दलका नेताहरुबीच मिलन भएन भनेर चिन्ता किन गर्नु ?

राजनीति सिद्धान्त, विचार, निष्ठा, मूल्य, मान्यता र आदर्शबाट पूरै विमुख हुँदैगएको छ । क्षणिक सत्तास्वार्थका लागि भित्री–बाहिरी ठूला साना जुनसुकै समूह र शक्तिसंग लेनदेन गर्ने चरणगत अभ्यासले नेपालको मूलधारको राजनीति पूरै धमिलिइरहेको छ भने विचलन र विकारका क्रमागत अभ्यासको दुष्परिणाम मुलुकले भोगिरहेको छ । राष्ट्रिय चिन्तनधारबाट विचलित राजनीतिले आन्तरिक राजनीतिक धार निर्माण र गतिविधि सञ्चालनमा बाहिरी शक्तिको भूमिकालाई कहिले प्रत्यक्ष र कहिले परोक्ष रुपमा आत्मसात गर्दैआएको वास्तविकताले राजनीतिमा नैतिकताको स्खलनलाई निरन्तर मलजल गरिरहेको तथ्य अहिले राजनीतिक क्षितिजमा मडारिइरहेको कालो बादलले नै उजागर गरिरहेको छ । देशले कसरी, कुन रुपमा निकास पाउने हो पत्तो छैन ।

संसद विघटन गरी नयाँ निर्वाचनमा जाने प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले पुस ५ गतेको निर्णय असंवैधानिक भयो भन्दै सडकमा उत्रेकाहरुलाई सर्वोच्च अदालतको फैसलाले लड्डु खाने खुसीयाली दियो तर संसद चलेपछि भयो के ? मुलुकले पायो के ? नयाँ सरकार गठन गर्न चाहने उनीहरुको गठबन्धन किन बनेन ? कसको कस्तो स्वार्थले ओली सरकार टिकिरह्यो ? अझ सर्वोच्च अदालतले नै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि सरकार स्वतः अल्पमतमा परेको छ । माओवादी केन्द्रले पार्टी एकताअघि दिएको समर्थन फिर्ता लिएको घोषणा नगरे पनि सरकार नैतिक संकटमा मात्र हैन संवैधानिक संकटमै परेको छ । तर, निकास के ? नयाँ सरकार गठनको बाटो किन खुलेन ?

सबैले भन्छन् प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ । तर उहाँले राजीनामा दिएपछि के ? अर्को सरकार गठनको तयारी ख ? पदीय भागबण्डा नमिलेर अन्तरकलहको मेहरो उठाउँदै आफ्नै पार्टीको सरकार गिराउन र पार्टी एकता खण्डित गर्न सकेजति बल खर्च गर्ने अर्को पक्षका कसरत पनि नैतिक मूल्य र मान्यताकै स्खलनका उपज हुन् भन्नेमा पनि कुनै दुविधा छैन । नेपालका हरेक राजनीतिक दलभित्र अन्तरघात र अन्तरध्वंशका नीतिहीन अभ्यासहरू निरन्तर चलिरहेका छन् । फागुन २३ गते संसदको अधिवेशन सुरू हुने दिनमा नै सर्बोच्च अदालतले नेकपाको वैधानिक स्वामित्व ऋषि कट्टेललाई दिएर नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि संसदमा कुनै पनि दलको बहुमत नरहेको र प्राविधिक रूपमा एमाले र माओवादी केन्द्रको गठबन्धन सरकार कायम हुनपुगेको स्थिति विद्यमान छ । के यहाँ नैतिकताको प्रश्न उठ्दैन ?

नैतिकता पदमा हुनेले अली बढी र पदमा नभए पनि सार्वजनिक महत्वका व्यक्तिहरुले सोही अनुसार प्रदर्शन गर्नुपर्छ । तर नेपालमा नैतिकताकै चरम खडेरी  छ । पञ्चायतकालका मन्त्रीहरुको जत्ति पनि नैतिकता गणतान्त्रिककालका नेताहरुले प्रदर्शन गर्न नसक्नु घोर विडम्बना बाहेक केही हैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.