सम्पादकीय

अर्थतन्त्रमा महासंकटको खतरा- वैदेशिक रोजगारीको विकल्प खोज्न ढिला नगरौं

– यादब देवकोटा

कोरोना भाइरसको महामारीले विश्वका १ सय ८० भन्दा बढी देशलाई आफ्नो चपेटामा पारिसकेको छ । विश्वका महाशक्ति राष्ट्रहरु यसको चपेटामा छन् र अमेरिका अहिले सबैभन्दा बढी कोरोना संक्रमित मुलुक बनेको छ । त्यस्तै इटाली, स्पेन त्यसपछि आउँछन् ।

नेपाल यो सामग्री तयार गर्दासम्म तीनजना संक्रमित भएको पुष्टि भैसकेको छ र अहिले देशमा “लकडाउन”को स्थिति छ । सिंगो विश्व लकडाउनमा रहेका बेला नेपालले पनि संक्रमण फैलन नदिन यो उपाय अपनाउनु अत्यावश्यक थियो तापनि यसबाट हुने आर्थिक क्षतिको आँकलन अहिले गर्न सकिंदैन ।

नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारीको ठूलो योगदान रहेको तथ्यलाई मध्यनजर गर्दा भावी दिनमा ठूलो संकटको सामना गर्नुपर्ने निश्चित जस्तै छ । यस्तो स्थिति आउनु अगावै सरकारले स्पष्ट नीति, कार्यक्रम र योजना अगाडि बढाउनुको विकल्प छैन । आयातमा धानिएको मुलुक खाद्यान्नमा समेत आत्भनिर्भर हुन नसकेको सन्दर्भमा अबको दिन सहज पक्कै हुने छैन ।

कोरोना भाइरसको संक्रमणका कारण नेपालको वैदेशिक रोजगारीमा धक्का लागिसकेको छ । सीमित आन्तरिक उत्पादन पनि ठप्प रहेको र यसको असर धेरै लामो समयसम्म कायम रहने हुँदा अब स्पष्ट नीति, कार्यक्रम र योजनाका साथ अघि बढ्नन सकिएन भने नेपाल चरम आर्थिक संकटमा पर्नेछ ।

सामान्य अवस्थामा समेत गति लिन नसकेको पृष्ठभूमिमा कोरोना संक्रमणले सिर्जना गरेको असामान्य अवस्थामा देशको अर्थतन्त्र कति डामाडोल हुने हो भन्ने चिन्ताले जताततै घर गर्न थालेको छ । कोरोना भाइरसले छोटो समयभित्रै विश्वव्यापी रूपमा जुन अनपेक्षित प्रभाव पारेको छ त्यसले बहुआयामिक समस्याको सिर्जना गरेको छ । नेपालकै सन्दर्भमा हेर्ने हो भने आमनागरिकको जीवन कष्टकर बन्दैगएको छ ।

जनताले जति दुःख पाए पनि जीवनभन्दा ठूलो केही छैन भन्ने सोचेर साथ दिइरहेका छन् र सरकारले कोरोना भाइरसको प्रकोपबाट जोगिन पूर्व सावधानी अपनाउँदै चालेका कदमको असर सवै क्षेत्रमा परिसकेको छ । देश ठप्प छ र सबैको मस्तिष्कमा भोलि के होला भन्ने चिन्ता छ ।

लकडाउनबाट उद्योग धन्दा, व्यापार व्यवसाय ठूलो जोखिममा पर्नथालेको छ । उद्योगी व्यावसायीहरू सरकारसंग हारगुहार गर्नथालेका छन् । राजस्व असुलीदेखि लिएर विकास निर्माणका क्षेत्र पूर्णतः ठप्प छ । दैनिक उपभोग्य वस्तुको अभाव र कालोबजारीले सर्वसाधारण जनता मारमा छन् । सरकारले कुनै वस्तुको अभाव हुन नदिने र पर्याप्त सञ्चित रहेको जानकारी दिइरहेको भए पनि अनपेक्षित त्रास र अविश्वासका कारण सञ्चितिको होड बढिरहेको छ । अझै पनि पसलहरु खुलेका बेला सामग्री किन्नेको घुइँचो हुन्छ । जनमानस व्याप्त भय र सन्त्रास झनै फैलिइरहेको छ । सरकारले यसप्रति आश्वस्त पार्न सकेको छैन ।

सानो र कमजोर अर्थतन्त्र भएको मुलुक नेपालले भयावह आर्थिक संकट बेहोर्नुपर्ने आशंका घनीभूत भैरहेको छ । आर्थिक रूपले समृद्ध र प्राविधिक क्षमता भएका मुलुकहरू समेत कोरोना भाइरसको प्रकोप विस्तारबाट नराम्रोसंग ग्रसित देखिन थालेकाले नेपालजस्ता कमजोर मुलुकको हालत के हुने हो भन्ने सन्त्रासपूर्ण प्रश्न खडा भएको छ । पछिल्लो आँकडा अनुसार कोरोना भाइरस ग्रसितहरूको संख्या ५ लाखको हाराहारीमा पुगेको द्धछ भने मृत्यु हुनेहरुको संख्या २५ हजारको हाराहारीमा छ । विश्वका १० करोड भन्दा बढी जनता क्वारेण्टाइनमा छन् ।

जताततै हाहाकारको स्थिति छ । हरेक देशका नागरिकलाई कोरोना भाइरसले त्रसित बनाएको छ । व्यापार व्यवसायमा नकारात्मक असर विस्तारित हुँदैगएको छ । विश्व अर्थव्यवस्थालाई कोरोनाले ठूलो धक्का दिन थालेको छ । भोलिका दिनमा कहाँ के हुने हो भन्ने त्रासले हरेक देशका नागरिकलाई उत्तिकै छोइरहेको छ । व्यवस्थापकीय क्षमतामाथि जताततै प्रश्न उठेको छ ।

निकट भविष्यमा कोरोना भाइरसले कुन रूप र गति लिने हो भन्ने सन्त्रास एकातिर फैलिरहेको छ भने अर्कातिर विज्ञहरुले यसले अब विश्राम लिने भविष्यवाणी गरेर केही सान्त्वना प्रदान गरिरहेका छन् । अब यस्तै दिनको प्रतिक्षामा विश्वका जनताको समय कटिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.