विश्व समाचार

‘नो किङ्ग्स’ प्रदर्शनले मिनियापोलिस फेरि चर्चामा

गत जनवरीमा संघीय अध्यागमन छापाका कारण केही महिनाअघि आन्दोलित बनेको अमेरिकाको उत्तरी सहर मिनियापोलिसमा शनिबार राष्ट्रिय “नो किङ्ग्स” अभियानको हिस्साका रूपमा दशौं हजार प्रदर्शनकारीहरू पुन: भेला भए। र्‍यालीमा सहभागीले “नो किङ्ग्स, नो आइस, नो वा र!”को नारा लगाएका थिए।

सो छापाका क्रममा संघीय एजेन्टहरूको हातबाट दुई अमेरिकी नागरिक, रेनी गुड र एलेक्स प्रेटीको मृत्यु भएको थियो। यस घटनाले यो सहरलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको अध्यागमन विरुद्धको कडा कारबाहीको मुख्य केन्द्र बनाएको छ।

ट्रम्पको ‘बलियो शासक’ राजनीतिक नेतृत्व र दक्षिणपन्थी एजेन्डाको विरोधमा गत वर्षदेखि सुरु भएको यो तेस्रो “नो किङ्ग्स” विरोध प्रदर्शनको मुख्य कार्यक्रम मिनियापोलिसमा आयोजना गरिएको हो। आयोजकहरूले पछि बताएअनुसार उक्त कार्यक्रममा करिब २,००,००० मानिसहरूको सहभागिता रहेको थियो।

प्रख्यात अमेरिकी गायक ब्रुस स्प्रिंगस्टिनले छिमेकी “ट्विन सिटी” को राजधानी सेन्ट पलमा आयोजित र्‍यालीलाई सम्बोधन गरे। सो क्रममा उनले गुड र प्रेटीको मृत्युपछि उनीहरूको सम्मानमा लेखेको गीत “स्ट्रिट्स अफ मिनियापोलिस” गाएका थिए। स्प्रिंगस्टिनले दिवंगत दुई अमेरिकीहरूबारे भने, “उनीहरूको बहादुरी, त्याग र नाम कहिल्यै बिर्सिने छैन,” ।

स्प्रिंगस्टिनले भीडलाई सम्बोधन गर्दै भने, “तपाईंको शक्ति र प्रतिबद्धताले यो अझै पनि अमेरिका नै हो भन्ने सन्देश दिएको छ। यो प्रतिगामी दुःस्वप्न र अमेरिकी सहरहरूमाथिको हस्तक्षेप सह्य हुने छैन।”

मानिसहरूको ठूलो भिडमा धेरैले विरोधका नारा लेखिएका प्लेकार्ड र ब्यानरहरू बोकेका थिए। कतिपयमा ट्रम्पको अध्यागमन एजेन्डा लागू गर्ने निकाय ‘आइस’लाई लक्षित गर्दै “आइस आउट” जस्ता सरल नाराहरू लेखिएका थिए।

र्‍यालीको मञ्चबाट मिनेसोटाका गभर्नर टिम वाल्जले ट्रम्पलाई “तानाशाह बन्न खोज्ने व्यक्ति” को संज्ञा दिँदै उनलाई चुनौती दिएकोमा भीडलाई धन्यवाद दिए।

अमेरिकी वामपन्थी राजनीतिज्ञ बर्नी स्यान्डर्सले पनि र्‍यालीलाई सम्बोधन गर्दै भने: “हामी यस्तो राष्ट्रपतिलाई कहिल्यै स्वीकार गर्दैनौं जो जन्मजात झुटो, भ्रष्ट र अहङ्कारी छ र जसले हरेक दिन संयुक्त राज्य अमेरिकाको संविधान र विधिको शासनलाई कमजोर बनाइरहेको छ।”

र्‍यालीमा सहभागी जीना बिलोटा-रासेलिसले ट्रम्प “अक्षम” भएको र “उनलाई आफूले के गरिरहेको छु भन्ने नै थाहा नभएको” बताइन्। फेब्रुअरी २८ मा अमेरिका-इजरायलले गरेको आक्रमणपछि मध्यपूर्वमा चर्किएको युद्धको सन्दर्भ जोड्दै ७३ वर्षीया यी प्रदर्शनकारीले भनिन्, “ट्रम्पले पनि अरू सबैले जस्तै नियम र कानुनको पालना गर्नुपर्छ।”

इरानसँगको द्वन्द्व, तेलको बढ्दो मूल्य सहितको आर्थिक मन्दी र विवादास्पद अध्यागमन छापाका कारण आगामी नोभेम्बरको मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टी र कंग्रेसमा उनीहरूको झिनो बहुमत सुरक्षित नरहने बिलोटा-रासेलिसको बुझाइ छ। उनले भनिन्, “मलाई लाग्छ उनीहरूले हार्नेछन्। यदि तपाईंले सर्वेक्षणहरू हेरिरहनुभएको छ भने, तपाईंले यो दिनप्रतिदिन भइरहेको देख्न सक्नुहुन्छ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.