क्रिकेटखेल

आइपिएलमा मुम्बईको विजयी सुरुवात, कोलकाता छ विकेटले पराजित

इन्डियन प्रिमियर लिग(आइपिएल) मा मुम्बई इन्डियन्सले विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा कोलकाता नाईट राइडर्सलाई ६ विकेटले पराजित गर्दै मुम्बईले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

मुम्बईको घरेलु मैदानमा भएको खेलमा पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २० रन बनाएको थियो । कोलकाताका लागि कप्तान अजिंका राहाणेले ४० बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ६७ रनको अर्धशतकीय पारी खेले भने अंगकृष रघुवंशीले २९ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५१ रनको अर्धशतकीय इनिङ खेले ।

त्यस्तै फिन एलेनले १७ बलमा ६ चौका र २ छक्काको सहयोगमा ३७ रन जोड्दा रिंकु सिंह २१ बलमा ४ चौकाको मद्दतमा ३३ रनमा अविजित रहे । मुम्बईका लागि शार्दुल ठाकुरले तीन विकेट लिए भने कप्तान हार्दिक पाण्ड्याको भागमा एक विकेट रह्यो । कोलकाताले दिएको २ सय २१ रनको लक्ष्य मुम्बईले १९ दशमलब १ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

मुम्बईको लागि ओपनर रायन रिकल्टनले ४३ बलमा ४ चौका र ८ छक्का प्रहार गर्दै ८१ रनको अर्धशतकीय पारी खेले भने रोहित शर्माले ३८ बलमा ६ चौका र ६ छक्काको सहयोगमा ७८ रनको अर्धशतकीय इनिङ खेले । यी दुईले पहिलो विकेटको लागि १ सय ४८ रनको शतकीय साझेदारी गरेका थिए ।

यस्तै तिलक बर्माले २० रन जोड्दा सुर्यकुमार यादव १६ र कप्तान हार्दिक पाण्ड्या १८ रनमा अविजित रहे । कोलकाताका लागि बैभव अरोरा, कात्तिक त्यागी र सुनिल नारायणले समान एक-एक विकेट लिए । प्रतियोगिता अन्तर्गत आज राति पौने आठ बजे राजस्थान रोयल्स र चेन्नई सुपर किंग्स भिड्दै छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.