सीमानामा आफ्ना नागरिकलाई खुला आकाशमुखी राख्नु अमानवीय कार्य

कोरोना भाइरस संक्रमणको त्रासका कारण भारतमा श्रम गर्न गएका नेपालीहरु धमाधम स्वदेश फर्कन थाले, कति फर्कन पाए कति अहिले पनि सीमा क्षेत्रमा भोक प्यास खपेर बसिरहेका छन् । सरकारले न उनीहरुलाई जहाँ बसेको छ त्यही खानापानीको व्यवस्था गर्न सकेको छ न त देशभित्र ल्याउन नै ।
यस्तोमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सीमानामा आइसकेका नेपालीलाई खुला आकाशमुनि राखिनु अमानवीय भएको बताउँदै नेपालभित्र प्रवेश गरिसकेका नेपालीलाई सीमानामा अलपत्र रूपमा खुला बारीमा राखिएको खबर ज्यादै अमानवीय, गैरजिम्मेवार र दुःखद भएको टिप्पणी गर्नुभएको छ ।
पूर्व उपप्रधान तथा परराष्टरुमन्त्री समेत रहनुभएका प्रवक्ता श्रेष्ठले बिहीबार ट्वीट गर्दै सीमानामा अलपत्र नेपालीलाई क्वारेन्टाइनमा राख्न कसैको आदेश नचाहिने स्पष्ट पार्नुभएको छ । उहाँले भन्नुभएको छ- “नेपालभित्र प्रबेश गरिसकेका नेपालीहरुलाई सिमानामा अलपत्र रुपमा खुला बारीमा राखिएको खबर सत्य हो भने ज्यादै अमानवीय ,गैरजिम्मेवार र दुःखद हो । उनीहरुलाई क्वारेन्टाइनमा राख्न कसैको आदेश चाहिँदैन । तत्काल विषेश क्वारानटिनमा राखौं ।”
श्रेष्ठले सीमानामा आइसकेका नेपालीलाई खुला आकाशमुनि छाड्ने सरकारको नीति नहुने बताउँदै थप भन्नुभएको छ- “विदेशमा रहेका लाखौलाख नेपालीहरुलाई सरकारले अहिलेको सन्दर्भमा देशभित्र ल्याउन ब्यबहारिकरुपमा संभव नहुने भन्नुको अर्थ देशभित्र आइसकेकालाई सिमानामै खुला आकाशमुनि राखिराख्नु हुनै सक्दैन । सुन्नै नसकिने यो कुरा संघीय सरकारको नीति हो भनेर कसले भनेको वा ब्याख्या गरेको हुनै सक्दैन ।”