जन सरोकार

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीको नवौँ स्थापना दिवस समारोह सम्पन्न भएको छ ।

कपिलवस्तुको चन्द्रौटामा आइतबार आयोजित समारोहमा सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनले हासिल गरेको व्यावसायिक उपलब्धिलाई व्यक्तिगत स्वार्थभन्दा राष्ट्रहितमा प्रयोग गर्न निर्देशन दिनुभएको छ ।

महानिरीक्षक पौडेलले समयअनुकूल सुरक्षा रणनीति अवलम्बन गर्दै उच्चस्तरीय अनुशासन कायम गर्न निर्देशन दिनुभयो । नागरिकको सेवा, शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने कार्यमा सशस्त्र प्रहरी थप जिम्मेवार भएर लाग्नुपर्ने उहाँले बताउनुभयो ।

मानवअधिकारको सम्मान गर्दै आवश्यकताअनुसार मात्र बल प्रयोग गर्नुपर्नेमा जोड दिँदै महानिरीक्षक पौडेलले सीमा सुरक्षा राष्ट्रको संवेदनशील विषय भएकाले सीमामा हुने गतिविधिको सूक्ष्म निगरानी गर्न निर्देशन दिनुभयो ।

पछिल्लो समय सीमा क्षेत्रमा हुने लागुऔषध ओसारपसार तथा नियन्त्रणका लागि विशेष ध्यान दिनुपर्ने बताउँदै उहाँले सशस्त्र प्रहरी बल सीमा सुरक्षाको पहिलो पहरेदार भएकाले निष्पक्ष र जिम्मेवार ढंगले काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।

विपद् व्यवस्थापनको क्षेत्रमा सशस्त्र प्रहरीले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ छ । विपद् व्यवस्थापन एक्लो प्रयासबाट सम्भव नहुने भएकाले सबै सरोकारवाला निकायसँग समन्वय र सक्रियताका साथ काम गर्न महानिरीक्षक पौडेलले निर्देशन दिनुभयो । वर्तमान सरकारको सुशासनको अवधारणालाई आत्मसात गर्दै सङ्गठनको नीति तथा निर्देशनअनुसार अघि बढ्नसमेत उहाँले आग्रह गर्नुभयो ।

समारोहमा विभिन्न समयमा कर्तव्यपालनका क्रममा मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई सम्मान गरिएको थियो । साथै विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपक अधिकारीले बाहिनीको स्थापना तथा हालसम्म भएका गतिविधिबारे जानकारी गराउनुभएको थियो ।

विसं २०७५ भदौ ७ गते स्थापना भएको नं ५ विन्ध्यवासिनी बाहिनी मुख्यालयअन्तर्गत १२ जिल्ला रहेका छन् । बाहिनीअन्तर्गत आठ गण, छ गुल्म, एक मद्दती सेवा गुल्म, नौ सीमा सुरक्षा गुल्म, ५० बीओपी, २७ सुरक्षा बेस र पाँच एफओबी गरी कुल १०६ इकाइ रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.