दक्षिण एसियामा भारत र पाकिस्तानमा कोरोना संक्रमण बढी
भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या शनिबार साँझसम्म ६८ पुगेको छ । अघिल्लो दिनसम्म ५६ रहेकोमा एकैदिनमा १२ जनाको मृत्यु भएर कुल मृतकको सङ्ख्यामा बृद्धि भएको हो ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कुल सङ्क्रमितको सङ्ख्या भने बढेर दुई हजार ९०२ पुगेको जनाएको छ । सङ्क्रमितको सङ्ख्यामा पनि पछिल्लो २४ घण्टामा ६०० भन्दा बढी बृद्धि भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।
मन्त्रालयका अधिकारीहरुका अनुसार अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या भने दुई हजार ६५० रहेको छ । पछिल्लो समयमा मृत्यु भएकामध्ये तीन जना महाराष्ट्र राज्यका, दुई जना दिल्ली र एक जना गुजरात राज्यका रहेका छन् ।
अहिलेसम्मको विवरणबाट सवैभन्दा धेरै मृत्यु हुनेको सङ्ख्या महाराष्ट्रमा रहेको देखिएको छ । महाराष्ट्रमा अहिलेसम्म १९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । त्यसपछि धेरै गुजरातमा नौ जनाको मृत्यु भएको छ भने तेलङ्गनामा सात जनाको मृत्यु भएको विवरण छ ।
त्यसैगरी मध्य प्रदेश र दिल्ली प्रदेशमा छ, छ जना, पन्जावमा पाँच, कर्नाटक र पश्चिम बङ्गालमा तीन, तीन जना र जम्मु तथा काश्मिर, उत्तर प्रदेश र केरलामा दुई/दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आन्द्र प्रदेश, तमिलनाडु, बिहार र हिमाञ्चल प्रदेशमा कोरोना भाइरसका कारण एक÷एक जनाको मृत्यु भएको छ ।
कुल सङ्क्रमित दुई हजार ९०२ जना मध्ये ५५ जना विदेशी रहेका छन् ।
सङ्क्रमितको सङ्ख्या पनि सबैभन्दा धेरै महाराष्ट्रमै देखिएको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार महाराष्ट्रमा ४२३ जना सङ्क्रमित भएका छन् ।
दोस्रो धेरै सङ्क्रमित तमिलनाडुमा रहेका छन्, जहाँ ४११ जना सङ्क्रमित भेटिएका छन् । त्यसैगरी दिल्लीमा ३८६ जना, केरलामा २९५ जना, राजस्थानमा १७९ जना र उत्तर प्रदेशमा १७४ जना सङ्क्रमित भेटिएका छन् । अन्य प्रदेशमा पनि सङ्क्रमितहरु रहेका भएपनि अहिलेसम्म त्यहाँको सङ्क्रमित सङ्ख्या न्यून रहेको छ ।
यसै गरी पाकिस्तानमा शनिवारसम्म कोरोना भाइरसबाट सङ्क्रमितको संख्या २७ सय नाघेको छ । अधिकारीहरुले दिएको पछिल्लो विवरणअनुसार देशभरीमा सङ्क्रमितको संख्या दुई हजार ७०८ पुगेको हो । सङ्क्रमित भएका मध्ये १३ जनाको अवस्था गम्भिर रहेको मन्त्रालयले जनाएको छ ।
केन्द्रिय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणमा मृत्यु हुनेको संख्या ४० पुगेको उल्लेख गरिएको छ । मृतक मध्ये सबैभन्दा धेरै सिन्ध्र प्रान्तका रहेका छन् । सो प्रान्तमा शनिवारसम्म १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।
त्यसैगरी कोरोना भाइरसका कारण पञ्जाव र खैबर पख्तुनख्वामा ११÷११ जनाको मृत्यु भएको छ भने गिल्गित बाल्टिस्तानमा तीन जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बालुचिस्तानमा समेत एक जनाको मृत्यु भएको छ ।
त्यसैगरी सङ्क्रमितको संख्या भने सबैभन्दा धेरै पन्जाव प्रान्तमा देखिएको छ । पन्जावमा कोरोना भाइरसबाट एक हजार ७२ जना सङ्क्रमित भएका छन् ।
मन्त्रालयका अनुसार सिन्ध्र प्रान्तमा ८३९ जना, खैबर पख्तुनख्वामा ३४३ जना, गिल्गित बाल्टिस्तानमा १९३ जना, बालुचिस्तानमा १७५ जना, राजधानी प्रदेश इस्लामावादमा ६८ जना र काश्मिरमा ११ जना कोरोना भाइरसबाट संक्रमित भएका छन ।
सङ्क्रमित भएका मध्ये पछिल्लो २४ घण्टामा २५८ जना निको भएर घर फर्केको स्वास्थ्य मन्त्रालयले जनाएको छ । –––
प्रतिक्रिया राख्नुहोस्