खेलफूटबल

जावलाखेल विजयी हुँदा एनआरटी र चर्च ब्वाइजले बराबरी खेले

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा जावलाखेल युथ क्लब सातदोबाटो युथ क्लबलाई पराजित गर्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

सहिद स्मारक ए डिभिजन लिग

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कम्प्लेक्समा भएको खेलमा जावलाखेल सातदोबाटो युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै अङ्कतालिकाको शीर्ष स्थान उक्लिएको हो । जितसँगै जावलाखेलले ६ खेलमा १३ अङ्क जोडेको छ ।

जावलाखेलको जितमा फोडे फोफाना र एनकोटो मोसाबीले एक–एक गोल गरे । यता सातदोबाटोका लागि भने दीपकसिंह ठकुरीले एक गोल फर्काए । खेलको ४३ औँ मिनेटमा फोफानाले पेनाल्टीमार्फत गोल गर्दै जावलाखेललाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ५० औँ मिनेटमा मोसाबीले गोल गर्दा जावलाखेलको अग्रता दोब्बर बनाए ।

खेलको ७५ औँ मिनेटमा सातदोबाटोका दीपकले एक गोल फर्काए पनि जावलाखेल २–१ ले विजयी भयो । पराजित सातदोबाटो ६ खेलमा १२ अङ्क जोडेर तेस्रो स्थानमा झरेको छ ।

त्यसैगरी सातदोबाटोस्थित च्यासल मैदानमा मंगलबार नै भएको अर्को खेलमा न्यूरोड टिम (एनआरटी) र चर्च ब्वाइज क्लबले २–२ गोलको बराबरी खेल्दै अङ्क बाडेका छन् । खेलको २० औँ मिनेटमा चर्च ब्वाइजका आशिष चौधरीले गोल गरे । त्यस्तै खेलको ६२ औँ मिनेटमा कप्तान अनन्त तामाङले गोल गर्दै चर्च ब्वाइजलाई २–० को अग्रता दिलाए तर त्यो चर्च ब्वाइज क्लबको उक्त अग्रता लामो समयसम्म टिक्न सकेन ।

खेलको ७१ औँ मिनेटमा एनआरटीका रोहन खड्कीले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा एनआरटीका अर्का खेलाडी सरोज तामाङले एक गोल गरेपछि खेल २–२ गोलको बराबरीमा सकियो । यस बराबरी खेलसँगै एनआरटीले ६ खेलमा ३ अङ्क जोडेको छ भने चर्च ब्वाइजले ६ खेलमा १२ अङ्क जोडेको छ । चर्च ब्वाइज अङ्कतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.