जन सरोकार

राजधानीका मस्जिदको अनुगमन

भारतबाट धार्मिक कार्यक्रमका लागि नेपाल आएर लुकेर बसेका मुस्लिम समुदायमा कोरोना भाइरस संक्रमण देखिएपछि काठमाडौँका चारवटा मस्जिदको अनुगमन गरिएको छ । उदयपुरको एक मस्जिदमा बसेकामध्ये डेढ दर्जनमा कोरोना संक्रमण पाइएको थियो ।

मंगलबार काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी, मानवअधिकार आयोगका मोहना अन्सारी, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल लगायतको टोलीले अनुगमन गरेको हो ।

टोलीले रत्नपार्कस्थित नेपाली जामे मस्जिद, कास्मिरी मस्जिद, सुनधारा र स्वयम्भूस्थित भुँइखेलका मस्जिदको अनुगमन गरेको हो । विभिन्न सञ्चारमाध्यममार्फत ती मस्जिदमा भीडभाड गरिएको भन्ने जानकारी आएपछि सङ्ख्यात्मक रुपमा मानिस बढी भए कोरोना भाइरस सङ्क्रमण हुने जोखिम बढ्न सक्ने भन्दै अनुगमन गरिएको जनाइएको छ ।

केही दिनअघि मात्र उदयपुरको भुल्केमा रहेको एउटै मस्जिदमा बस्दै आएकालाई कोरोना सङ्क्रमण पोजेटिभ देखिएपछि कामपाको सक्रियतामा मुस्लिम समुदायको बढी भीडभाड हुने यी चार स्थानको अनुगमन गरिएको हो ।

कामपाका प्रमुख शाक्यका अनुसार अनुगमनका क्रममा भीडभाड गर्ने, नवाज पढ्ने गरेको अवस्था देखिएन । दुईवटा मस्जिदमा धर्मगुरु, नियमित सरसफाइ गर्ने, खाना बनाउने लगायतका काम गर्ने आठ–आठजना मात्रै रहेको पाइयो । सुन्धारा र स्वयम्भूमा त अझ त्योभन्दा कम सङ्ख्यामा रहेको पाइयो ।

अनुगमनकै क्रममा उहाँले बाहिरबाट कोही नयाँ व्यक्ति मस्जिदमा आएको जानकारी पाउने बित्तिकै वडाका जनप्रतिनिधि वा प्रहरीलाई खबर गर्न आग्रह गरेको पनि बताउनुभयो । अन्य समयमा भीडभाड हुने ती मस्जिद अहिले सुनसान छन् । दैनिक काम गर्ने र धर्मगुरुबाहेक कोही पनि छैनन् । बाहिरबाट आउने कसैलाई पनि त्यहाँ प्रवेश दिइएको छैन ।

अनुगमनका क्रममा मुस्लिम आयोगका अध्यक्ष अन्सारीले काठमाडौँ उपत्यकाभित्र भएका मस्जिदका गतिविधिको अनुगमन गर्न आयोगले समिति बनाएर निरन्तर निगरानी गरेको बताउनुभयो ।

पूर्वराज्यमन्त्री जाकिर हुसेनका अनुसार काठमाडौँस्थित घण्टाघरको दायाँबायाँ रहेका नेपाली जामे मस्जिद र कास्मिरी मस्जिद उपत्यकाकै ठूला मस्जिद हुन् । यसबाहेक स्वयम्भूमा अर्को मस्जिद छ । यस्तै सुन्धारा, ठमेल, इन्द्रचोक, कालीमाटी, नयाँबजार, चोभार, बूढानीलकण्ठमा साना—साना मस्जिद छन् । उहाँका अनुसार भक्तपुरमा दुई र ललितपुरको गोदावरीमा पनि मस्जिद छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.