विवादित कुरिल टापुको विषयमा जापानी राजदूतलाई रुसी स्पष्टीकरण
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापानले आफ्नो दाबी गर्दै आएको विवादित कुरिल टापुको भ्रमण गरेपछि टोकियोले त्यसको विरोध जनाएलगत्तै मस्कोले जापानी राजदूत अकिरा मुटोलाई बोलाएको छ ।
रुसले पुटिनको भ्रमणप्रति जापानी अधिकारीको आलोचनालाई कूटनीतिक मर्यादाविपरीत भएको बताउँदै राजदूतसँग स्पष्टीकरण माग्न लागेको हो ।
रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभले सोमबार जापानी अधिकारीहरूले राष्ट्रपति पुटिनको भ्रमणको आलोचना गरेर ‘सभ्यताको रेखा पार’ गरेको बताउनुभयो । उहाँका अनुसार जापानी राजदूतलाई बोलाएर जापानी नेतृत्वको व्यवहार र आयोजक देशमा राजदूतले पालना गर्नुपर्ने कूटनीतिक आचरणबारे जानकारी गराइनेछ ।
“हामीले जापानी राजदूतलाई बोलाएका छौँ”, लाभ्रोभले पत्रकारहरूसँग भन्नुभयो । यद्यपि जापानी पक्षले सुरुमा राजदूत मुटो तत्काल उपस्थित हुन नसक्ने जानकारी गराएको थियो । उहाँ मस्कोमा नरहेको वा अस्वस्थ भएको जानकारी आफूहरूले पाएको लाभ्रोभले बताउनुभयो ।
रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले पछि राज्य समाचार संस्था तासलाई राजदूत मुटोले अचानक आफूलाई राम्रो महसुस गरेको र मङ्गलबार मन्त्रालयमा उपस्थित हुने जानकारी दिइएको बताउनुभयो ।
रुस र जापानबीचको सम्बन्ध लामो समयदेखि कुरिल टापुहरूको स्वामित्व विवादका कारण तनावपूर्ण रहँदै आएको छ । जापानले यी टापुलाई ‘उत्तरी क्षेत्र’ का रूपमा दाबी गर्दै आएको छ भने सन् १९४५ मा सोभियत सङ्घले कब्जामा लिएपछि ती रुसी नियन्त्रणमा छन् ।
राष्ट्रपति पुटिनले जापानसँग विवादित ती टापुको हालै भ्रमण गर्नुभएको थियो । उहाँले त्यसअघि रुसको सुदूरपूर्वमा पर्ने सखालिन टापुको भ्रमण गर्नुभएको थियो ।
पुटिनको कुरिल भ्रमणपछि जापानले टोकियोस्थित रुसी राजदूतलाई बोलाएर विरोध जनाएको थियो । त्यसको प्रत्युत्तरमा मस्कोले जापानी राजदूतलाई बोलाएको हो ।
त्रिहत्तर वर्षीय पुटिनको भ्रमणलाई लिएर जापानले आपत्ति जनाएपछि दुई देशबीचको पुरानो क्षेत्रीय विवाद पुनः कूटनीतिक तनावको विषय बनेको छ ।
लाभ्रोभले जापानी राजदूतको समन राष्ट्रपति पुटिनको भ्रमणको आलोचनाप्रति मात्र नभई ‘जापानी नेतृत्वको आचरण’ र आयोजक देशमा राजदूतले कसरी व्यवहार गर्नुपर्छ भन्ने विषयमा पनि केन्द्रित हुने बताउनुभयो ।
सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेपछि रुस–जापान सम्बन्ध थप बिग्रिएको छ । जापानले रुसमाथि पश्चिमी प्रतिबन्ध लगाउन अमेरिका तथा अन्य जी–७ राष्ट्रसँग सहकार्य गर्दै आएको छ ।
जापानले युक्रेनलाई आर्थिक सहयोगका साथै गैरघातक रक्षा सामग्रीसमेत उपलब्ध गराउँदै आएको छ । रुसले भने जापानको यस्तो नीतिको आलोचना गर्दै आएको छ ।
पुरानो क्षेत्रीय विवाद र युक्रेन युद्धलाई लिएर दुई देशबीच बढेको राजनीतिक दूरीका कारण पछिल्लो कूटनीतिक विवादले रुस–जापान सम्बन्ध थप जटिल बन्ने सङ्केत गरेको छ ।




प्रतिक्रिया राख्नुहोस्