क्रिकेटखेल

गुजरात आइपिएलको शीर्ष स्थानमा उक्लियो, कोलकाता ३९ रनले पराजित

गुजरात टाइटन्टस इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ । सोमबार राति भएको खेलमा कोलकाता नाइट्स राइडर्सलाई ३९ रनले पराजित गर्दै गुजरात अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

आइपिएल

योसंगै गुजरातले स्पष्ट दुई अंकको अग्रता लिएको छ । कोलकाताको घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १ सय ९८ रन बनाएको थियो । गुजरातका लागि कप्तान शुभमन गिलले ५५ बलमा १० चौका र तीन छक्काको मद्दतले सर्वाधिक ९० रनको अर्धशतकीय पारी खेले भने साई सुदर्शनले ३६ बलमा ६ चौका र एक छक्कासहित ५२ रनको अर्धशतकीय इनिंग खेले ।

त्यस्तै जोस बटलर ४१ रनमा अविजित रहे भने शाहरुख खान ११ रनमा नट आउट रहे । कोलकाताका लागि वैभव अरोरा, आन्द्रे रसेल र हर्षीत रानाले समान एक-एक विकेट लिए । गुजरातले प्रस्तुत गरेको १ सय ९९ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १ सय ३९ रनमात्रै बनाउन सक्यो ।

कोलकाताका लागि कप्तान अजिंक्य रहाणेले ३६ बलमा पाँच चौका र एक छक्कासहित सर्वाधिक ५० रन बनाए भने अंगक्रिस रघुवंशीले अविजित २७ रन जोडे । यस्तै आन्द्रे रसेलले २१ रन जोड्दा रिन्कु सिंह १७ र सुनिल नारायणले समान १७-१७ रन बनाए । गुजरातका लागि प्रशिद्ध कृष्ण र राशिद खानले समान दुई-दुई विकेट लिए भने मोहम्मद सिराज, इशान्त शर्मा, वासिङ्टन सुन्दर र साई किशोरको भागमा समान एक-एक विकेट रह्यो ।

जितसँगै गुजरात आठ खेलमा १२ अंक जोड्दै शीर्ष स्थानमा छ भने समान खेलबाट आठ अंक जोडेको कोलकाता सातौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज राति ७:४५ बजे लखनउ सुपर जाइन्टस र दिल्ली क्यापिटल्स भिड्दै छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.