स्थानीयतह निर्वाचन

यस्तो छ नेपालमा स्थानीय तह निर्वाचनको इतिहास

वैशाख ३० गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा स्थानीय तहको दोस्रोपटक निर्वाचन हुँदैछ । आज मनोनयन सकिएपछि दल र उम्मेदवारहरु चुनावी अभियानमा होमिएका छन् । नेपालमा स्थानीय तहको चुनाव भएको लगभग ७५ वर्ष पूरा भएको छ ।

नेपालमा पहिलोपटक विसं २००४ मा संविधान जारी भएपछि गाउँ तथा नगरपञ्चायतको चुनाव भएको थियो । त्यसको सात वर्षपछि अर्थात् २०१० सालमा दोस्रोपटक र २०१४ सालमा तेस्रोपटक स्थानीय निकायको चुनाव भएको इतिहास छ । विसं २०१४ मा गाउँपञ्चायत र २०१८ मा नगरपञ्चायतको निर्वाचन भएको आयोगले जनाएको छ ।

विसं २०१० को निर्वाचनमा काठमाडौँ–८ बाट साधना प्रधान जनप्रतिनिधि निर्वाचित हुनुभएको थियो । प्रधान नै पहिलो निर्वाचित महिला जनप्रतिनिधिका रुपमा स्थापित हुनुहुन्छ ।

आयोगका अनुसार नगरपञ्चायत निर्वाचन २०१९ जेठदेखि विभिन्न मितिमा, जिल्लासभा र जिल्ला पञ्चायत निर्वाचन २०१९ सालदेखि विभिन्न मितिमा, अञ्चलसभा र अञ्चल पञ्चायत निर्वाचन २०२० सालदेखि विभिन्न मितिमा सम्पन्न भएका थिए ।

विसं २०३९ वैशाख २८ र ३१ तथा जेठ ३ र ४ गते गाउँपञ्चायत तथा नगरपञ्चायत, २०३९ साल असार २ गते जिल्ला पञ्चायत, २०४३ साल चैत ७ र १० गते गाउँ पञ्चायत तथा नगरपञ्चायत एवं २०४४ साल वैशाख २६ गते जिल्ला पञ्चायतको चुनाव भएको थियो ।

प्रजातन्त्रको पुनःस्थापनापछि स्थानीय निकायको निर्वाचन २०४९ जेठ १५ र १८ गते गाउँविकास समिति तथा नगरपालिका निर्वाचन भएको थियो । विसं २०४९ असार १३ गते जिल्ला विकास समिति निर्वाचन, २०५४ जेठ ४ र १३ गते गाउँपालिका र नगरपालिका निर्वाचन तथा २०५४ असार २७ गते जिल्ला विकास समितिको चुनाव भएको थियो । विसं २०६२ माघ २६ गते पनि नगरपालिका निर्वाचन गरिए पनि त्यसले राजनीतिक रुपमा वैधानिकता पाउन सकेन ।

संविधानसभाबाट संविधान बनेपछि २०७४ सालमा स्थानीय तहको निर्वाचन गरियो । विसं २०७४ को वैशाख ३१, असार १४ र असोज २ गते तीन चरणमा निर्वाचन गरिएको थियो । सो निर्वाचनमा ५७ राजनीतिक दलले भाग लिएका थिए जसमध्ये १८ राजनीतिक दलको स्थानीय तहमा प्रतिनिधित्व रहेको थियो ।

स्थानीय तहको निर्वाचनमा २३३ स्वतन्त्रसहित ३५ हजार ४१ जनप्रतिनिधिको निर्वाचित भएका थिए । त्यस निर्वाचनका लागि एक करोड ४० लाख ७४ हजार ४२४ मतदाता कायम भएकामा एक करोड चार लाख ८९ हजार २०४ ले मतदान गरेको आयोगको विवरणमा उल्लेख छ ।

मुलकमा हाल छ महानगरपालिका, १२ उपमहानगरपालिका, २७५ नगरपालिका र ४६० गाउँपालिका गरी कूल ७५३ स्थानीय तह र छ हजार ७४३ वडा छन् । यही वैशाख ३० गने हुन लागेको निर्वाचनमा कुल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् ।

कूल मतदातामध्ये पुरुष ८९ लाख ९२ हजार १०, महिला ८७ लाख ४१ हजार ५३० र अन्य १८३ जना छन् । जनप्रतिनिधि चयन गर्ने सबैभन्दा उत्तम विकल्प मानिएको निर्वाचन आफैँमा राजनीतिक उत्सव र सामूहिक भावना अभिव्यक्त गर्ने महत्वपूर्ण चाडसमेत हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.