स्थानीयतह निर्वाचन

उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक नहुँदा निर्वाचन कार्यतालिका प्रभावित हुनसक्ने

२०७९ वैशाख ३० हुने स्थानीय तह निर्वाचनका लागि तय गरिएको कार्यतालिका अनुसार वैशाख ११ र १२ गते ७५३ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ ।

मनोनयनसंगै उम्मेदवारहरुको अन्तिम नामावली भने यो समाचार प्रकाशन हुँदासम्म सार्वजनिक भएको छैन ।

निर्वाचन कार्यतालिका अनुसार मनोनयन गरेका उम्मेदवारमाथि मङ्गलबार दाबी विरोधको समय निर्धारण गरिएको छ । तर, अधिकांश निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरुको अन्तिम नामावलीको सूची प्रकाशन गर्न ढिलाइ गर्दा कार्यतालिका प्रभावित हुने देखिएको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उम्मेदवारहरुको अन्तिम नामावलीको सूची प्रकाशन गर्न समय लाग्ने जानकारी दिनुभयो ।

त्यस्तै आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले उम्मेदवारहरुको नामावलीको सूची प्रकाशन भएपछि उम्मेदवारविरुद्ध दाबी–विरोध र उजुरी दिने समय सुरु हुने जानकारी दिनुभयो । उहाँका अनुसार यो समाचार तयार पार्दासम्म उम्मेदवारीविरुद्ध दाबी–विरोध गर्ने समय सुरु भएको छैन ।

आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार सोमबार नै उम्मेदवारहरुको नामावलीको सूची प्रकाशन गर्नुपर्ने थियो । तर, मङ्गलबार दिउँसोसम्म कम्प्युटरमा प्रविष्ट गर्ने कार्य जारी रहेकाले उम्मेदवारहरुको अन्तिम नामावलीको सूची प्रकाशन गर्न समय लाग्ने आयोगले जनाएको छ ।

कुनै पनि उम्मेदवार अयोग्य भएको लागेमा उनीहरुविरुद्ध जो कोही मतदाताले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उजुरी दिन सक्ने कानुनी व्यवस्था छ ।

उम्मेदवारको अयोग्यता

स्थानीय हत निर्वाचन ऐन २०७३ को परिच्छेद ४ मा उम्मेदवारहरुको योग्यता र अयोग्यता निर्धारित छ । जसमा उम्मेदवारी दिएकाविरुद्ध उजुरी दिन सकिन्छ । ऐनमा उम्मेदवारीविरुद्ध उजुरी दिन सकिने आधारहरु पनि उल्लेख छ ।

गैर नेपाली नागरिक भएमा, नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेमा उजुरी दिन सकिनेछ ।

त्यस्तै कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको र निर्वाचनसम्बन्धी प्रचलित कानुन बमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको पाइएमा उजुरी दिन सकिन्छ ।

यसैगरी, भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग गर्ने विरुद्ध पनि उजुरी दिन सकिन्छ । त्यस्तै, अपहरणसम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाएर वा कुनै कसूरमा जन्मकैद वा बीस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाइ त्यस्तो फैसला अन्तिम भएको व्यक्ति रहेछ भने पनि उजुरी दिन सकिन्छ ।

सङ्गठित अपराधसम्बन्धी कसुरमा कैदको सजाय पाएर वा कर्तव्य ज्यान सम्बन्धी कसूरमा बीस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको, जातीय भेदभाव तथा छुवाछुत, बोक्सी वा बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको पाइएमा पनि उजुरी दिन सकिन्छ ।

यसै गरी, जातीय भेदभाव तथा छुवाछुत, बोक्सी वा बहुविवाहसम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय गरेको मितिले तीन वर्ष पूरा नभएको, प्रचलित कानुन बमोजिम कालोसूचीमा रहेकोमा सो अवधिभर, कैदमा बसेकोमा कैद बसेको अवधिभर, मानसिक सन्तुलन ठीक नभएको र प्रचलित कानुनले अयोग्य भएका उम्मेदवारहरुमाथि दाबी–विरोध गर्न पाइने छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.