स्थानीयतह निर्वाचन

कैलालीका पालिकामा महिलाको नेतृत्व न्यून

गत स्थानीय निर्वाचनबाट कैलालीका सबै पालिकामा महिलाले पनि नेतृत्व गर्न पाएका थिए । अहिले कैलालीमा स्थानीय तहको निर्वाचनका लागि बनेको तालमेलमा महिलाको नेतृत्व न्यून देखिएको छ ।

राजनीतिक दलहरू आ–आफ्नो ढङ्गले चुनाव लडेका कारण र संवैधानिक व्यवस्थाअनुसार पालिकाको प्रमुख दुईमध्ये एक पदमा महिला अनिवार्य भएका कारणले पनि महिलाले नेतृत्व तहमा पुग्ने अवसर पाएका हुन ।

फरक दलसँगै चुनावी गठबन्धनमा जाँदा दुबै पदमा पुरुषले मात्रै पनि उम्मेदवारी दिन पाउने व्यवस्थाले महिलाको नेतृत्व स्थानीय तहमा ओझेलमा पर्ने सम्भावना बढेको हो ।

दलहरूले तालमेल र गठबन्धनमा जोड दिएपछि स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुख पदमा पुरुषको नै उम्मेदवारी परेका कारण महिलाको उम्मेदवारी न्यून भएको छ ।

कैलालीमा १३ स्थानीय तहमध्ये ६ पालिकामा मात्रै महिलाको उम्मेदवारी परेको छ । कतिपय प्रमुख र साना दल एक्लै चुनाव लडेका कारण कुनै एक पदमा महिला उम्मेदवार भए पनि गठबन्धनमा भागबन्डाका कारण महिलाको नेतृत्व सङ्कुचनमा परेको टीकापुर नगरपालिकाकी नगर उपप्रमुख केशरी विष्टले बताउनभयो ।

गठबन्धनमा नेपाली कांग्रेसले कैलाली जिल्लामा सात स्थानीय तहमा प्रमुख र पाँच उपप्रमुखको भाग पाएकोमा चार जना महिलाको मात्रै उम्मेदवारी परेको छ । यसमा कांग्रेसले लम्की चुहा नगरपालिकामा प्रमुखकको उम्मेदवारी महिलालाई दिएको छ ।

माओवादी केन्द्रले चार स्थानीय तहमा प्रमुखको उम्मेदवारी पाए पनि महिला कुनै पनि स्थानीय तहमा प्रमुख पदमा देखिनुभएन । माओवादीबाट भजनी नगरपालिकाको प्रमुखमा शेरबहादुर चौधरी, गौरीगङ्गा नगरपालिकाको प्रमुखमा देवीदत्त कँडेल, कैलारी गाउँपालिकाको अध्यक्षमा लाजुराम चौधरी र मोहन्याल गाउँपालिकाको अध्यक्षमा देवीदत्त उपाध्यायले उम्मेदवारी दिनुभएको छ ।

धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा माओवादीकी शान्ति अधिकारीले उपप्रमुखमा उम्मेदवारी दिनुभएको छ भने लम्की चुहा नगरपालिकामा जानकी विष्टलाई अघि सारिएको छ ।

माओवादीको अन्य पालिकाको भागमा परेको उपप्रमुखमा टीकापुर नगरपालिकाको उपप्रमुख खडक शाह, जानकी गाउँपालिकाको उपाध्यक्षमा जयप्रकाश चौधरी, जोशीपुर गाउँपालिकाको उपाध्यक्षमा दीर्घ विनाडी, बर्दगोरिया गाउँपालिकाको उपाध्यक्षमा गणेश गिरीलाई अगाडि सारिएको छ ।

कांग्रेसले कैलाली गाउँपालिकामा भगवती चौधरी र चुरे गाउँपालिकामा धना थापा र घोडाघोडी नगरपालिकामा रीता चौधरीलाई अगाडि सारेको भए पनि भजनीको उपप्रमुखमा गोकेन्द्र भण्डारी, गौरीगङ्गा नगरपालिकामा भोजबहादुर बम, मोहन्याल गाउँपालिकामा कमल सावदलाई अगाडि सारेको छ ।

नेकपा (एकीकृत समाजवादी) ले कैलालीमा गठबन्धनबाट दुई पालिकामा प्रमुख र एक पालिकामा एक उपप्रमुख पदमा जिम्मेवारी पाएका छन् । प्रमुखमा समाजवादीले घोडाघोडी नगरपालिकामा खडक रावत, चुरे गाउँपालिकामा लोकबहादुर सारुमगर र उपप्रमुख गोदावरी नगरपालिकामा रत्ना काडायतलाई सिफारिस गरिएको छ ।

कांग्रेसका कैलाली जिल्ला सभापति नारायणदत्त भट्टले गठबन्धनका कारण महिलालाई नेतृत्वमा ल्याउन नसकिएको बताउनुभएको छ । उहाँले कांग्रेसले कैलालीको एक स्थानीय तहमा प्रमुख र तीन पालिकामा उपप्रमुखमा महिला नै उम्मेदवार उठाएको बताउनुभयो । “गठबन्धनको भागबन्डाका कारण महिलाको सहभागिता कम देखिएको हो । यसमा पनि कांग्रेसले केही ठाउँमा महिलालाई पनि नेतृत्व दिएको छ”, जिल्ला सभापति भट्टले भन्नुभयो, “तर सोच्नुपर्ने अवस्था चाहीँ छ । जुन रूपमा महिलाको सहभागिता हुनुपथ्र्यो त्यो हुनसकेन । अब अन्य निर्वाचनमा महिलालाई उचित स्थान दिनुपर्छ । यसमा हामी गम्भीर छौं ।”

नेकपा एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाहले स्थानीय तहमा भएको गठबन्धनका कारण महिलाको नेतृत्व सङ्कुचित हुने सम्भावना बढेको बताउनुभयो । उहाँले महिलालाई नेतृत्व तहमा पु¥याउने विषयमा अहिलेको भागबन्डाले चिन्ता थपेको बताउनुभएको छ । “पार्टीगत रूपमा हेर्दा हामी अझै सङ्गठित र स्थपित भइसकेको छैनाँैं ।

अर्कोतिर स्थानीय तहबाट आएका सिफारिसको आधारमा उम्मेदवार छनोट गर्नुपर्ने भएकोले पनि त्यहाँ स्थानीय नेतृत्वले पनि त्यसमा ध्यान दिन सकेको जस्तो लाग्दैन”, राष्ट्रियसभा सदस्यसमेत रहनुभएकी शाहले भन्नुभयो, “प्रदेशले पनि स्थानीय र जिल्ला नेतृत्वले टुङ्गोमा पु¥याउन नसकेका विषयमा मात्रै हेर्ने भएकोले त्यस्तै महिला नेतृत्वका लागि नाम नै कम आएका कारणले पनि स्थानीय तहमा महिलाको नेतृत्व खुम्चिन गएको छ ।”

गत स्थानीय तहको निर्वाचनमा कैलालीका १३ वटै स्थानीय तहमा महिलाको नेतृत्व रहेको थियो । कैलालीमा प्रमुखमा पुरुष नेतृत्व भए पनि उपप्रमुखमा सबै पालिकामा महिलाको नेतृत्व रहेको थियो । अहिले नेकपा एमालेले सबै पालिकामा उप प्रमुखमा महिलालाई स्थान दिएको छ । प्रमुखमा भने पुरुषको नै उम्मेदवारी परेको पाइन्छ ।

जिल्लामा विसं २०७४ को स्थानीय तहको निर्वाचनमा एक करोड ४० लाख ७४ हजार ४२४ मतदाता थिए । यो पटक ३६ लाख ५९ हजार २९९ बढेर एक करोड ७७ लाख पुगेको हो । मतदाताको सङ्ख्या हेर्दा महिला र पुरुषको सङ्ख्या लगभग बराबरी छ । जनसङ्ख्याका हिसाबले महिला बढी भए पनि पुरुष मतदाता दुई लाख ५० हजार बढी छन् ।

८९ लाख ९२ हजार १० पुरुष छन् भने ८७ लाख ४१ हजार ५३० महिला र १८३ अन्य छन् । राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्क अनुसार कूल जनसङ्ख्यामा पुरूष भन्दा महिला धेरै छन् । हाल कैलालीका १३ वटा स्थानीय तहको कूल मतदाता सङ्ख्या पाँच लाख २७ हजार ५४८ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.