‘सांसद कोइरी बिरामी होइनन्, फरार अभियुक्त हुन्’
पूर्व उपप्रधानन तथा गृहमन्त्री एवं उपनिर्वाचनबाट नवनिर्वाचित सांसद रवि लामिछानेले संसद सुरु भएदेखि अनुपस्थित रहेका सांसद लक्ष्मी कोइरी बिरामी नभएर फरार भएको दावी संसदमा पेश गर्नुभएको छ ।
शुक्रबार सांसद कोइरीका विषयमा सभामुख देवराज घिमिरेले बिरामी भएको भन्ने सूचना प्राप्त भएको अवगत गराएपछि सांसदहरूले सो विषय सचिवालयको रेकर्डबाट हटाउन माग गर्दै आसनबाट उभिएर बैठक अवरुद्ध गर्नुभएको थियो ।
बैठक पुनः संचालन भएपछि सभामुखबाट बोल्ने अनुमति पाएपछि सांसद रवि लामिछानेले सांसद कोइरी फरार अभियुक्त भएको बताउँदै कोइरीलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको तस्बिर आफूसँग भएको जानकारी गराउनुभयो ।
उहाँले यस सम्बन्धमा छानविन समिति गठन हुने वा सभामुखबाट रुलिङ हुने अपेक्षा गर्दै फरार अभियुक्तलाई बिरामी भनेर संसदको मर्यादा नघटाउन र राजनीतिलाई लाजनीतिमा परिणत नगर्न सुझाव दिनुभयो ।
सांसद रमेश लेखकले फरार अभियुक्तको सूचीमा रहेका सांसद कोइरीलाई बिरामी भन्न नहुने बताउँदै बिरामी भएको भन्ने विषय रेकर्डबाट हटाउन माग गर्नुभयो ।
सांसद प्रेम सुवालले सो विषयबारेमा फरार सूचीमा रहेको अहिलेसम्म किन जानकारी नगराइएको भनी सदनको ध्यानाकर्षण गराउनुभयो ।
सांसद रघुजी पन्तले गृहमन्त्री हुने, सरकारमा रहने, फरार व्यक्तिलाई थुन्न नसक्ने अनि सदन अवरुद्ध गर्ने भन्दै आपत्ति प्रकट गर्नुभयो ।
सांसद चित्रबहादुर केसीले ज्यानमारा अभियोग लागेकालाई चोख्याउन नमिल्ने बताउनुभयो । सांसद हितराज पाण्डेले बिरामीको बहानामा रहेका फरार अभियुक्त कोइरीका बारेमा स्पष्ट रुलिङ गर्न आग्रह गर्नुभयो ।
बैठकमा सभामुख घिमिरेले सांसदले उठाएका विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै सो विषयमा नेपालको संविधान, प्रचलित कानून र संसद् नियमावलीअनुसार हुने बताउनुभयो । बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।




प्रतिक्रिया राख्नुहोस्