स्थानीयतह निर्वाचन

सुर्खेतमा कांग्रेस–माओवादीको मात्र तालमेल

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पाँचदलबीच कुरा नमिलेपछि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच मात्र चुनावी तालमेल भएको छ ।

उम्मेदवार मनोनयन फिर्ता लिने दिन शुक्रबार यी दुई दलबीच वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल गरेर जाने सहमति भएको हो । सहमतिअनुसार दुवै दलले उम्मेदवार भागबण्डा गरेसँगैसंयुक्त प्रचार अभियानमा जुटेका छन् ।

मनोनयन दर्ता गर्नुअघि प्रदेशस्तरीय संयन्त्रले कर्णालीका सुर्खेत र रुकुमपश्चिम बाहेकका आठ जिल्लामा गठबन्धनमा आवद्ध दलबीच चुनावी तालमेलका लागि पालिका भागबण्डामा सहमति गरेको तर यी जिल्लाको हकमा प्रदेश संयन्त्रले पालिका भागबण्डा गर्न केन्द्रीय नेतृत्वलाई जिम्मेवारी दिएको थियो । सहमतिमा ढिलाइ हुँदा सुर्खेतमा सत्ता साझेदार दलहरूले अलग–अलग उम्मेदवारी दर्ता गरेका थिए ।

दुई दलबीच भएको सहमतिअनुसार कांगे्रसले वीरेन्द्रनगर, भेरीगङ्गा नगरपालिकाको उपप्रमुख, चौकुने गाउँपालिकाको अध्यक्ष, सिम्ता र बराहताल गाउँपालिकाको उपाध्यक्ष पदमा दिएको उम्मेदवारी फिर्ता लिएको छ । ती पदमा कांगे्रसले माओवादी केन्द्रका उम्मेदवारलाई सघाउनेछ ।

त्यस्तै माओवादी केन्द्रले वीरेन्द्रनगर, भेरीगङ्गा, गुर्भाकोट, पञ्चपुरी, लेकबेँसी नगरप्रमुख तथा चिंगाड, सिम्ता र बराहताल गाउँपालिका अध्यक्ष पदमा दिएको उम्मेदवारी फिर्ता लिने सहमति भए पनि बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकामा भने फिर्ता लिएको छैन ।

माओवादी केन्द्रले चौकुने गाउँपालिका उपाध्यक्षमा दिएको उम्मेदवारी पनि फिर्ता लिएको छ । यी दुई दलबीच प्रमुख–उपप्रमुख पदमा भागबण्डा मिले पनि वडा तहमा भने सहमति कायम हुन सकेन । सुर्खेतका ९९ वटै वडामा सबै दल अलग–अलग प्रतिस्पर्धा गर्दैछन् ।

कांग्रेसका जिल्ला सचिव देवकुमार सुवेदीका अनुसार केन्द्र तथा प्रदेशको निर्देशनानुसार तालमेल गरेर जाने सैद्धान्तिक सहमतिअनुसार शुक्रबार दुवै दलका उम्मेदवारले मनोनयन फिर्ता लिएको बताउनुभयो ।

“सहमतिअनुसार उम्मेदवारी फिर्ता लिने काम दुवै पार्टीबाट भएको छ, सहमतिलाई अब व्यवहारिक पालना गर्न बाँकी छ”, उहाँले भन्नुभयो, “वीरेन्द्रनगरमा संयुक्त चुनावी अभियान सुरु भइसकेको छ, अन्यत्र पनि हुँदै होला ।”

सहमतिअनुसार अब वीरेन्द्रनगरमा कांगे्रस–माओवादी केन्द्रका संयुक्त उम्मेदवार नगरप्रमुखमा उपेन्द्र खड्का र उपप्रमुखमा शान्ति ढकाल हुनुभएको छ ।

प्रमुखमा कांगे्रसलाई सघाउन माओवादी केन्द्रका उम्मेदवार राजेन्द्रदेव गिरी र उपप्रमुखमा माओवादी केन्द्रका शान्ति ढकाललाई सघाउन कांग्रेसका उपप्रमुखका उम्मेदवार रामकुमारी थापाले मनोनयन फिर्ता लिनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले वीरेन्द्रनगर नगरपालिकामा २५ जनाले उम्मेदवारी फिर्ता लिएको जनाएको छ । मुख्य निर्वाचन अधिकृत डा राजेन्द्रकुमार आचार्यका अनुसार नगरप्रमुखमा माओवादी केन्द्रका राजेन्द्रदेव गिरी, स्वतन्त्रतर्फबाट चिन्तामणि शर्मा पौडेल, सिद्धबहादुर खड्का र फष्टबहादुर हमालले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

उपप्रमुखमा कांग्रेसका रामकुमारी थापा र स्वतन्त्रका दीपेन्द्र ढकालले उम्मेदवारी मनोनयन फिर्ता लिनुभएको छ । प्रदेश राजधानी रहेको वीरेन्द्रनगरमा ६७ हजार ५७ मतदाता छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.