राजनीति

अध्ययन बिदामा रहेका स्वास्थ्यकर्मीलाई उपचारमा खट्न निर्देशन

वीर अस्पतालको नयाँ भवनलाई पाँचसय शैय्याको कोभिड–१९ अस्पताल बनाइने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अध्ययन बिदामा रहेका सबै स्वास्थ्यकर्मीलाई आआफ्नो दरबन्दी भएको स्वास्थ्य संस्थामा गएर काम गर्न निर्देशन दिएको छ । मन्त्रालयले कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण बढेपछि उपचारको व्यवस्थापन गर्न तिनलाई काम गर्न निर्देशन दिएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार आज मन्त्रालयमा बसेको बैठकले अध्ययन बिदामा रहेका र हाल अध्ययन नभएका अवस्थामा रहेका सबै स्वास्थ्यकर्मीलाई आआफ्नो दरबन्दीअनुसार स्वास्थ्य संस्थामा गई काम गर्न निर्देशन दिने निर्णय गरेको छ ।

मन्त्रालयले विभिन्न चिकित्सा विधामा अध्ययरत सबै विद्यार्थीलाई पनि कोभिड–१९ को रोकथाम र नियन्त्रणमा खटाउने निर्णय गरेको छ । ती विद्यार्थीलाई अध्ययन गराउने सम्बन्धित विश्वविद्यालय तथा कलेजले आवश्यकतानुसार आफ्नै वा अन्य अस्पतालमा खटाउने उहाँले जानकारी दिनुभयो ।

यसै गरी उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौँको वीर अस्पतालको नवनिर्मित भवनलाई ५०० शैय्याको कोभिड–१९ विशेष अस्पताल बनाउने विषयमा छलफल गर्नुभएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)का संयोजकसमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले आइतबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मुख्य सचिव शङ्करदास बैरागी, सिसिएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिव खगराज बराल र वीर अस्पतालका प्रतिनिधिसँग अस्पतालको नवनिर्मित भवनलाई कोरोना भाइरसका बिरामी उपचार गर्ने गरी प्रयोग गर्ने विषयमा छलफल गर्नुभएको उहाँका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो ।

सरकारले चाँडै नै उक्त भवनमा सङ्क्रमितको उपचारका लागि आइसोलेशन शैय्या सञ्चालनको तयारी थालेको छ । सरकारले काठमाडौँ उपत्यकामा रहेको निजी तथा सरकारी अस्पतालमा एक हजार शैय्या थप गरी सञ्चालनमा ल्याएको छ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसका सङ्क्रमित बढिरहेकाले अस्पतालमा शैय्याको अभाव भएको गुनासो आएपछि सिसिएमसीले विभिन्न विकल्पको खोजी गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.