सरकारद्वारा घोषित सुधारका योजना आशालाग्दो : अमेरिकी विशेष दूत
नेपालको भ्रमणमा रहनुभएका अमेरिकी दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जियो गोरले सरकारद्वारा घोषित सुधारका योजना आशालाग्दो रहेको बताउनुभएको छ ।
भ्रमणको अन्तिम दिन शनिबार विशेष दूत गोरले सत्तारुढ दलका सभापति लामिछानेसँग शनिबार भेटवार्ता गरेपछि सामाजिक सञ्जालबाट सो कुरा बताउनुभएको हो ।
भेटमा नेपाल र संयुक्त राज्य अमेरिकाबिचको साझेदारीलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित रहेर छलफल भएको उहाँले सामाजिक सञ्जाल एक्समार्फत् जानकारी गराउनुभएको हो ।
राजदूत गोरले नेपालको नयाँ सरकारसँग परिवर्तनका लागि ठुलो जनादेश रहेको उल्लेख गर्दै सरकारद्वारा घोषित सुधारका योजना आशालाग्दो रहेको विश्वास व्यक्त गर्नुभएको छ । उहाँले आगामी दिनमा नेपालसँग नजिक रहेर सहकार्य गर्न आफू उत्सुक रहेकोसमेत बताउनुभएको छ ।
सभापति लामिछानेसँगको भेटको तस्बिर राख्दै गोरले लेख्नुभएको छ, “नेपालमा नयाँ सरकारसँग परिवर्तनका लागि अतुलनीय जनादेश छ र उनीहरूले घोषणा गरेका सुधार निकै आशलाग्दा छन् । आगामी दिनमा नजिकबाट सहकार्य गर्न हामी उत्सुक छौँ ।’
नेपाल भ्रमणमा आउनुभएका गोरले यसअघि परराष्ट्र मन्त्री शिशिर खनाल र अर्थमन्त्री डा।स्वर्णिम वाग्लेसँग भेट गरिसक्नु भएको छ । फागुन २१ गतेको चुनावपछि रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि अमेरिकाबाट भएको यो उच्चस्तरीय भ्रमण हो ।





प्रतिक्रिया राख्नुहोस्