स्वास्थ्य

सिरहामा ६० हजार बालबालिकाको पोषण अवस्था मूल्याङ्कन गरिने

सिरहा जिल्लामा मातृ तथा शिशु स्वास्थ्यलाई सुदृढ बनाउने लक्ष्यका साथ ‘सुनौलो हजार दिनका आमाहरूसँग पाँच वर्षमुनिका बालबालिकाको समुदायस्तरमा पोषण लेखाजोखा कार्यक्रम’ सुरु भएको छ ।

आइतबार लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले एक विशेष कार्यक्रमका बीच यस अभियानको औपचारिक उद्घाटन गर्नुभयो ।स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाअन्तर्गत पोषण शाखाको नेतृत्वमा वैशाख १५ देखि ३० गतेसम्म देशव्यापी रूपमा यो अभियान सञ्चालन भइरहेको छ ।

कार्यक्रमको मुख्य उद्देश्य ६ देखि ५९ महिनासम्मका बालबालिकामा शीघ्र कुपोषण पहिचान गरी समयमै उपचार सुनिश्चित गर्नुका साथै स्थानीय तहदेखि प्रदेशस्तरसम्म कुपोषणको जोखिम वर्गीकरण गरी आगामी योजना निर्माणको आधार तयार गर्नु हो ।

उद्घाटन समारोहमा नगरप्रमुख चौधरीले ‘सुनौलो हजार दिन’को महत्वबारे जोड दिँदै भन्नुभयो, “बालबालिकाको शारीरिक, मानसिक र बौद्धिक विकासका लागि पहिलो हजार दिन अत्यन्त महत्त्वपूर्ण हुन्छ ।

यस अवधिमा उचित पोषण सुनिश्चित गर्न सके स्वस्थ र सक्षम नागरिक निर्माण गर्न सकिन्छ ।” उहाँले नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाका लागि मासिक रूपमा पोषण प्याकेज वितरण कार्यक्रम सञ्चालन गरिरहेको जानकारीसमेत दिनुभयो ।

‘हेलेन केलर इन्टरनेसनल’को आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय दलित विकास मञ्चमार्फत सिरहाका १७ वटै स्थानीय तहमा यो कार्यक्रम विस्तार गरिएको छ । हेलेन केलरका क्षेत्रीय सुपरीवेक्षक अमितराज साहले जिल्लाभरको लक्ष्यबारे जानकारी दिँदै भन्नुभयो, “सिरहामा हामीले करिब ६० हजार बालबालिका र १४ हजार गर्भवती महिलाको पोषण अवस्था लेखाजोखा गर्ने लक्ष्य राखेका छौँ । समुदायमै पुगेर गरिने यो मूल्याङ्कनले कुपोषणको वास्तविक अवस्था बाहिर ल्याउनेछ ।”

साहका अनुसार नेपालमा कुपोषणको अवस्था पत्ता लगाउन प्रत्येक पाँच वर्षको अन्तरालमा स्वास्थ्य सर्वेक्षण हुँदै आएको भए पनि सन् २०२२ यता राष्ट्रियस्तरको अध्ययन हुनसकेको छैन ।

दलित विकास मञ्चका कार्यकारी निर्देशक सञ्जय महराले अभियानका लागि जिल्लाभरका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई आवश्यक तालिम दिइसकेको जानकारी दिनुभयो ।

उहाँका अनुसार टोलीले टोलटोलमा पुगेर बालबालिकाको तौल, उचाइ र पोषण अवस्थाको स्क्रिनिङ गर्नेछन् र जटिल अवस्था देखिएमा तत्काल उपचारका लागि सन्दर्भ केन्द्रमा प्रेषण गरिनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.