राजनीति

संसद्‌का कारबाहीलाई प्रभावकारी बनाउन सभामुख र प्रमुख सचेतकहरुबीच छलफल

सभामुख डोलप्रसाद अर्यालले संसदको आउँदो अधिवेशनमा हुने काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा संसद्‍मा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्नुभएको छ ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले संसद्को कार्यप्रणालीलाई प्रभावकारी बनाउने छलफल भएको बताउनुभयो ।

उहाँले संसदीय दलको प्रमुख सचेत तथा सचेतक चयन भएपछि सभामुखसँग पहिलो छलफल भएकोले बधाई तथा शुभकामना आदानप्रदान समेत भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “संसद्‌मा हुने काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भयो र सभामुखज्यूसँग यसरी भेटघाट भएको थिएन । त्यसकारण सत्तारुढ दलसँगै प्रतिपक्षी दलले समेत केही क्युरिसिटीहरू सभामुखसमक्ष राखेर छलफल सामान्य रूपमा नै गयो ।”

रास्वपाकै अर्का सचेतक प्रकाशचन्द्र परियारले संसद्‌मा प्रतिनिधित्व गर्ने छ वटै दलका सचेतक र प्रमुख सचेतकहरूसँग सभामुखले संसद्को सञ्चालनको अवस्था र समस्याको बारेमा छलफल गर्नुभएको बताउनुभयो ।

छलफलमा सभामुख अर्यालले संसद्लाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न दलसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, “संसद्‌मा सहभागी छ वटै दलका मुख्य सचेतक र सचेतकसँग सभामुखसँगको छलफल डाँक्नुभएको थियो । बैठकमा सभामुखले संसद्को अहिलेको धरातलीय यर्थाथ, संसद्ले बेहोर्नुपरेको समस्यालाई कसरी चिर्न सकिन्छ भनेर छलफल भयो ।

“खास गरेर दलका सचेतक तथा प्रमुख सचेतकले सभामुखसँगको समन्वय र सहकार्यमा के कसरी हाउसलाई प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भयो ।”

नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सभामुखसँगको छलफलमा संसद् छिटोभन्दा छिटो सञ्चालन गर्न पहलकदमी लिन आफूहरूले आग्रह गरेको बताउनुभयो ।

उहाँले छलफलको कुनै ठोस एजेन्डा नभए पनि सभामुख अर्यालले संसद्को प्रभावकारिता बढाउन विपक्षी दलसँग सहकार्य र समन्वयको अपेक्षा गरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “संसद्को काम कारबाही अगाडि बढाउँदै गर्दा सभामुखले हामीसँग सहकार्यको अपेक्षा गर्नुभएको छ । बैठकमा खास कुनै एजेन्डा थिएन । सरकारको कामकारबाहीको विषयमा केही पनि छलफल भएन । सचेतकको कार्यालय सञ्चालन लगायतका सामान्य विषयमा छलफल भयो । हामीले संसद् छिटो सञ्चालन गरौँ भनेर भनेका छौँ । सभामुखज्यूले भोलितिर जानकारी आउँछ भन्नुभएको छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.