स्थानीयतह निर्वाचन

भक्तपुरमा प्रचार सामग्री हटाईंदै

मध्यपुरथिमि नगरपालिका क्षेत्रमा निर्वाचन आचारसंहिताविपरीतका प्रचार सामग्री हटाउने काम सुरु गरिएको छ । नगरस्थित निर्वाचन अधिकृतको कार्यालयले नगर क्षेत्रको अनुगमन गर्दै जथाभावी राखिएका प्रचार सामग्री हटाउन थालेको जनाएको छ ।

विशेष गरी ठूला दलले आचारसंहिता विपरीत प्रचार सामग्री राख्ने गरेकाले सम्बन्धित पार्टीलाई त्यस्ता सामग्री हटाउन भनिएको र अटेर गरेकोले सुरक्षाकर्मीको टोलीद्वारा हटाउन थालिएको निर्वाचन अधिकृत मैया कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार नगरका विभिन्न क्षेत्रमा पार्टीको झण्डा, चुनाव चिह्न, फ्लेक्स, गाडीमा राखिएका झण्डा, ब्याचजस्ता प्रचार सामग्री सुरक्षाकर्मी लगाएर हटाउने काम भइरहेको छ ।

“हामीले दैनिक अनुगमन गर्ने गरेका छौँ, बजार र भित्री गल्लीमा निर्वाचन आचारसंहिताविपरीत प्रचार सामग्री राखिएको पाइएको छ, त्यस्तो अवस्थामा तत्कालै दलका नेतालाई जानकारी गराउँदै हटाउने काम गरेका छौँ”, कँडेलले भन्नुभयो ।

यसैबीच निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै उम्मेदवारको सबै विवरण तयार पारिएको, मतदान केन्द्रमा खटिने कर्मचारीलाई तालिम प्रदान गरिएको र अब केही दिनमै कर्मचारीलाई मतदानस्थलमा खटाइने कार्यालयले जनाएको छ ।

साथै, मध्यपुरथिमि नगरक्षेत्रभित्र रहेका मतदान केन्द्रमध्ये केही अत्यन्तै साँघुरो स्थानमा रहेका, केही बाटोमै रहेकाले त्यस्ता संवेदनशिल निर्वाचन केन्द्रको अनुगमन एवं सुरक्षाको व्यवस्था मजबुद बनाउने गरी तयारी गरिएको जनाइएको छ ।

स्थानीय तहपछिका निर्वाचनमा केही मतदान केन्द्र ठाउँ सार्नुपर्ने अवस्था रहेकाले परिमार्जन गर्नुपर्ने देखिएको कँडेलले बताउनुभयो । उहाँले आउँदो ३० गते आम मतदातालाई सुरक्षित, शान्त र सहजरूपमा मतदान गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

भयरहित र शान्त वातावरणमा निर्वाचन सम्पन्न गर्नेगरी तयारी गरिएको नगरका सहायक निर्वाचन अधिकृत केशव सिलवालले जानकारी दिनुभयो ।

उहाँले आचारसंहिता उल्लङ्घन गर्नेमा ठूला दल नै रहेको उल्लेख गर्दै लिखित उजुरी नआए पनि मौखिक उजुरी र अनुगमनकका क्रममा त्यस्ता सामग्री हटाउने, फेरि नराख्न कडा निर्देशन दिने गरिएको बताउनुभयो । दलहरूले घरदैलोका क्रममा राखेको प्रचार सामग्री हटाउँछौँ भन्ने जवाफ दिने गरेको उहाँको भनाइ छ ।

मध्यपुरथिमिमा २० हजार ५३१ पुरुष, २१ हजार ३०८ महिला, तेस्रो लिङ्गी तीन गरी कूल ४१ हजार ८४२ मतदाता रहेका छन् । नगरमा १७ मतदानस्थल र ४६ मतदान केन्द्र राखिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.