जन सरोकार

सन्दर्भ बुद्ध जयन्ती : राष्ट्रिय एकताका लागि बुद्धका उपदेश

गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले गौतमबुद्धको २५६४औँ जन्मजयन्तीको अवसरमा विश्वभरका बौद्धमार्गी एवं शान्ति र अहिंसाप्रेमी सम्पूर्ण समुदायमा शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले पवित्रभूमि नेपालको लुम्बिनीमा जन्मेका राष्ट्रका गौरव एवं शान्तिका अग्रदूत सिद्धार्थ गौतमबुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको संयोग परेको पवित्र दिनमा सबैमा एक आपसमा सहिष्णुता, सद्भाव, अहिंसा एवं विश्व शान्तिको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामनासमेत गर्नुभएको छ ।

शेरचनले शान्तिका अग्रदूत बुद्धका समतामूलक समाज निर्माणका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास लिनुभएको छ ।

उहाँले आर्थिक समृद्धि, सामाजिक विकास एवं सुशासन प्राप्तिको राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि मुलुकमा दिगो शान्ति र सुदृढ राष्ट्रिय एकता एक प्रमुख शर्त रहेकाले बुद्ध जयन्तीको यस अवसरमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय सङ्कल्प साकार पार्न आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न सबै शान्तिप्रेमी दाजुभाइ दिदीबहिनीमा आह्वानसमेत गर्नुभएको छ ।

सन्देशमा कोरोना भाइरसको महामारीका कारण विश्वभरि सिर्जित समस्यालाई नियन्त्रणमा लिन नेपाल सरकारले गरेको लकडाउन सफल बनेको बताउँदै उहाँले अझै पर्याप्त पिसीआर परीक्षणका माध्यमबाट सङ्क्रमणको अवस्था पत्ता लगाइ यसको रोकथाम तथा नियन्त्रणमा विशेष भूमिका खेल्ने विश्वास लिइएको उल्लेख छ ।

बुद्ध दर्शन मानवजातिको मार्गनिर्देशक

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुद्धका विचार र उपदेशले आज बुद्ध दर्शनका रूपमा बौद्ध धर्मावलम्बीलाई मात्र नभइ समग्र विश्व मानवजातिलाई नै मार्गनिर्देश गरेको बताउनुभएको छ ।

२५६४औँ बुद्धजयन्तीका अवसरमा प्रकाशित शुभकामना सन्देशमा उहाँले सिद्धार्थ गौतमबुद्धकै कारण विश्व मानचित्रमा नेपाललाई बुद्धको देश र बुद्धदर्शनको उद्गमस्थलका रूपमा परिचित गराएको उल्लेख गर्नुभयो ।

इसापूर्व ५६३ मा राजा शुद्धोधन र रानी मायादेवीका सन्तानका रुपमा लुम्बिनीमा जन्मनुभएका सिद्धार्थ गौतमबुद्ध २१ वर्षको उमेरमा दरबार त्यागी ज्ञानको खोजीमा लागेको स्मण गराउँदै मुख्यमन्त्री गुरुङले सन्देशमा स्वदेश तथा विदेशमा रहनुहुने दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको हो ।

यतिबेला विश्व मानवजातिकै अस्तित्वका लागि चुनौती बनेर आएको साझा शत्रु कोरोना भाइरस रोगविरुद्धको लडाइँ निरन्तर जारी रहेको बताउँदै मुख्यमन्त्री गुरुङले सन्देशमा यस लडाइँमा अभैm केही समय धैर्यता र मजबुत एकताका साथ जुध्न एवं उच्च सतर्कता र तयारीमा जुट्न आजको ऐतिहासिक दिनले हामी सबैलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सन्देशमा उहाँले विश्वमा दुःख छ, दुःखको कारण छ र दुःख निवारण गर्न सकिन्छ भन्ने बुद्ध दर्शनबाट प्रेरित हुँदै यस अवसरमा शान्ति र सामाजिक न्यायसहितको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई सार्थक पार्ने अभियानमा आप्mनो स्थानबाट निष्ठापूर्वक लाग्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।

सुख, शान्ति र समृद्धिको कामना

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बुद्धजयन्ती तथा किराँत समुदायको महान सांस्कृतिक चाड उभौलीको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँ शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको हो ।

“विश्व शान्तिका अग्रदूत गौतमबुद्धका उपदेश विश्वमै लोकप्रिय रहेका छन् । शान्ति, अहिंसाका प्रतिमूर्ति गौतमबुद्धबाट व्यक्त सत्य वचनहरुको महत्व आजको विश्व परिवेशमा झनै बढेको छ । बुद्धको उपदेशलाई आत्मसात गर्न सकिए राष्ट्र र विश्वमा नै बन्धुत्व, सद्भाव र दिगो शान्तिको स्थापना हुने मेरो विश्वास छ ।” सन्देशमा भनिएको छ ।

मुख्यमन्त्रीको सन्देशमा हामीले मनाउने उभौलीजस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख छ ।

उहाँले हिमाल, पहाड र तराईमा बस्ने सबै नेपालीबीच बन्धुत्व, भाइचारा एवं एकताको भावना बढाउन यस प्रकारका चाडपर्वले ऊर्जा प्रदान गर्दै आएको र मौलिक सांस्कृतिक चाडपर्वहरुले सामाजिक एवं पारिवारिक जमघट गराउने र समुदायबीचमा आपसी सद्भाव सुमधुर बनाउन सहयोगसमेत गरेको जनाउनुभएको छ ।

उहाँले यस्ता चाडपर्वले नेपालका सबै जातजाति, एकताबद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गरी समृद्ध प्रदेश निर्माणमा अगाडि बढ्न एवं कोभिड–१९ लाई पराजित गर्न सबैमा उत्प्रेरणा मिलोस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभएको छ ।

बौद्धदर्शन सम्पूर्ण मानव जातिकै लागि अमूल्य निधि होः मुख्यमन्त्री पोखरेल

मुख्यमन्त्री शंकर पोखरेलले बौद्धदर्शन बौद्ध धर्मावलम्बीका लागि मात्रै नभएर सम्पूर्ण मानव जातिकै लागि अमूल्य निधि भएको बताउनुभएको छ । दुई हजार ५६४ औंँ बुद्ध जयन्तीका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले गौतम बुद्ध मानिसलाई सत्कर्मका बाटामा हिँडाउन सफल हुनु भएकाले नै उहाँका उपदेश आज सम्पूर्ण मानव जातिमा स्थापित भएको उल्लेख गर्नुभएको छ ।

उहाँले बुद्धले २९ वर्षका उमेरमा दुःखको कारणको खोजीमा गृहत्याग गरेर भ्रातृत्व र मानवकल्याणका लागि महान् दार्शनिक विचारबाट समाजलाई दीक्षित गर्नुभएको नै मानव समाज सत्कर्मको बाटामा हिँड्न प्रेरित भएको सन्देशमा जनाउनुभएको छ । मुख्यमन्त्री पोखरेलले प्राचीन कपिलवस्तु र कोलीय गणराज्यमा माटोमुनि दबिएर रहेका सम्पदास्थलको अन्वेषण गर्दै मानव जातिको अमूल्य निधिका रुपमा संरक्षित गर्नु आवश्यक रहेको जनाउँदै प्रदेश सरकारले बुद्धकालीन सम्पदाका रुपमा रहेका ऐतिहासिकस्थल तिलौराकोट, रामग्राम, देवदह, निग्लिहवा, गोटिहवा, सगरहवा र अरौराकोटको खोजअनुसन्धानका साथ प्रदेश सरकारले योजनाबद्ध रुपले काम अघि बढाएको बताउनुभएको छ ।

लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले गत वर्ष ‘बुद्ध जन्मस्थल लुम्बिनी जाआँैं, शान्तिको सन्देश फैलाऔंँ’ भन्ने नाराका साथ अघि बढेको लुम्बिनी भ्रमण वर्ष कार्यक्रमको औपचारिक समापन गर्न विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण असमर्थ भएको उहाँले जनाउनुभएको छ । विश्व शान्तिको कामनाका साथै कोरोनाविरुद्धको अग्रमोर्चामा खटिएका चिकित्सकसहितका स्वास्थ्य र सुरक्षाकर्मीको सम्मानमा आज साँझ घरघरमा दीप प्रज्वलन गर्न पनि उहाँले सबैलाई आह्वान गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.