जन सरोकार

सन्दर्भ बुद्धजयन्ती : संसारमा दुःख छ- दुःख हटाउन सके शान्ति प्राप्त हुन्छ

आज दुई ५६४ औँ बुद्धजयन्ती विश्वभर मनाइँदै छ । बुद्ध जन्मस्थल लुम्बिनीसहित विभिन्न स्थानमा गौतम बुद्धप्रति श्रद्धा र भक्ति प्रकट गरी बुद्ध जयन्ती मनाउने गरिन्छ ।

कोभिड–१९ को जोखिमका कारण यसपटक औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन । यस वर्ष बुद्ध जन्मस्थलमा मनाइने बुद्धजयन्तीका सबै कार्यक्रम स्थगन गरिएको छ ।

औपचारिक कार्यक्रम स्थगन भए पनि आज सामाजिक दूरी कायम गरेर मायादेवी मन्दिर परिसरमा दुई हजार ५६४ दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको कोषका कामु सदस्य सचिव ज्ञानिन राईले जानकारी दिनुभयो । आज बिहान विहारका भिक्षु र गुरुआमाहरुले कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको चिरशान्तिको कामना तथा संक्रमितको स्वास्थ्यलाभको काम गर्दै प्रार्थना गर्नुभएको छ ।

‘नेपालः भगवान् गौतम बुद्धको जन्मस्थल, बौद्धधर्मको उद्गम भूमि तथा विश्व शान्तिको मुहान’ भन्ने नारासहित बुद्धजयन्ती तथा तेस्रो अन्तरररष्ट्रिय बौद्ध सम्मेलन मनाउने तयारी गरिए पनि कोरोना संक्रमणका कारण स्थगन गरिएको हो । कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि गरिएको बन्दाबन्दीले कार्यक्रमको तयारी गर्न नसकिने र जोखिम बढ्ने भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनमा विकास कोषले सबै कार्यक्रम स्थगन गरेको हो ।

‘संसारमा दुःख छ र दुःख हटाउन सके निर्वाण वा शान्ति प्राप्त हुन्छ’ भन्ने ज्ञानका प्रवत्र्तक शाक्यमुनि गौतम बुद्धको जन्मजयन्ती बुद्ध पूर्णिमा वा वैशाख पूर्णिमाका दिन विश्वभर मनाइन्छ । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गरेको भिक्षु सागर धम्मले बताउनुभयो ।

विसं २००८ जेठ ८ गते बुद्धजयन्तीका दिन पहिलोपटक सार्वजनिक बिदा तथा विसं २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्याहिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो । अहिंसा धर्मका प्रवत्र्तक गौतमबुद्धको जयन्तीका दिन संयुक्त राष्ट्रसंघीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ ।

राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा वैशाख शुक्ल पूर्णिमाका दिन रुपन्देहीको लुम्बिनीमा जन्मिनुभएका सिद्धार्थ गौतमले २९ वर्षका उमेरमा तिलौराकोट दरबार त्यागेर ज्ञानको खोजीमा लाग्नुभएको थियो । छ वर्षको ध्यानपछि ३६ वर्षका उमेरमा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन बुद्धत्व प्राप्तिपछि भगवान् बुद्धका रुपमा उहाँले विश्व प्रसिद्धि पाउनुभयो । छत्तीस वर्षको उमेरमा सारनाथमा उहाँले पहिलो पटक पाँच शिष्यलाई प्रवचन दिनुभएको थियो जसलाई ‘धर्मचक्र प्रवत्र्तन’ भनिन्छ ।

बुद्धले चार आर्य सत्य, आर्य अष्टाङ्गिक मार्ग, प्रतीत्यसमुत्पाद र पञ्चशीलको उपदेश दिनुभएको छ । चार आर्य सत्य संसार दुःखमय छ, दुःखको कारण छ, दुखःको नाश सम्भव छ र दुःख नाशका उपाय छ भनी बुद्ध दर्शनमा व्याख्या गरिएको छ । “बुद्ध शिक्षाको प्रमुख आधार दुःख र दुःख मुक्ति हो, यही चार आर्यसत्य नै बुद्धका मूल उपदेशहरु हुन्”, भिक्षु धम्मले भन्नुभयो । आर्य अष्टाङ्गिक मार्गमा सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि पर्छन् ।

बौद्ध दर्शनको आधारशिला प्रतीत्यसमुत्पाद हो । हेतुफलवादका अनुसार कुनै पनि कार्य हुनका लागि कारण चाहिन्छ । यस सिद्धान्तअनुरुप नै मानिसको जन्म मरणको चक्र चलिरहन्छ जसलाई प्रतीत्यसमुत्पाद चक्र भनिन्छ । यस चक्रमा अविद्या (अज्ञान), संस्कार, विज्ञान (चेतना), नामरुप (मन र शरीर), षडायतन, स्पर्श, वेदना, तृष्णा, उपादान, भव (अस्तित्व), जाति (जन्म) र जरामरण पर्छन् । यी कडीहरु मिलेर बनेको चक्र चलिरहँदासम्म मानव जीवनले दुःखबाट मुक्ति पाउन सक्दैन । दुःख मुक्तिका लागि यस चक्रलाई नै रोक्नु जरुरी हुन्छ ।

यस्तै बौद्ध दर्शन अनिश्वरवाद, अनात्मवाद र क्षणिकवाद गरी मुख्य तीन सिद्धान्तमा आधारित रहेको मानिन्छ । बुद्धले दिनुभएका उपदेशलाई सुत्तपिटक, विनयपिटक र अभिधम्मपिटक (त्रिपिटक) गरी तीन ग्रन्थमा विभाजन गरिएको छ । सुत्तपिटक बौद्ध भिक्षुहरुको पहिलो संगीति (सम्मेलन) बाट बुद्धको निर्वाणकालमा नै बुद्धका शिष्य भिक्षु आनन्दद्वारा तयार गरिएको हो जसमा बुद्धका उपदेशहरु छन् । विनयपिटकमा भिक्षुभिक्षुणीका लागि बनाइएका नियम छन् भने अभिधम्मपिटकमा दार्शनिक विचारहरुको संग्रह गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.