स्थानीयतह निर्वाचन

उम्मेदवारको प्रचारप्रसारलाई अतिरञ्जना नगर्न अपील

प्रेस काउन्सिल नेपालले कुनै दल वा उम्मेदवारको प्रचारप्रसारलाई पत्रकार आचारसंहिता विपरीत अतिरञ्जना नगर्न नगराउन आमसञ्चारसँग अपिल गरेको छ । त्यस्तै यस सम्बन्धी विज्ञापन, प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्दा विज्ञापनमा सःशुल्क भएको जनाउ दिन पनि सूचित गरेको छ ।

काउन्सिलले कुनै दल वा उम्मेदवारको प्रचारप्रसारलाई अतिरञ्जना गर्दा/गराउँदा पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता विपरीत हुन गई आमपाठक, स्रोता र दर्शकमा भ्रम पर्ने भएकाले यस्तो कार्य नगर्न/नगराउन अपिल गरेको हो ।

काउन्सिलले पत्रकार आचारसंहिता पालनामा थप संवेदनशील हुन सम्पूर्ण सञ्चार माध्यम, पत्रकार र सामाजिक सञ्जालका प्रयोगकर्तामा अनुरोध गरेको छ ।

‘आमसञ्चार माध्यममा कुनै राजनीतिक दल, उम्मेदवारको निर्वाचन प्रचारप्रसारका लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन/प्रसारण गर्दा/गराउँदा, सःशुल्क विज्ञापन प्रकाशन/प्रसारण गर्ने क्रममा आचारसंहिताले तोकेअनुसार साइज, समय र पटकलाई ध्यान नदिँदा, आमपाठक स्रोतामा भ्रम पर्न गएको छ’, काउन्सिलद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

स्थानीय तह निर्वाचनका क्रममा विसं २०७८ चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता, २०७८ लागू भइ काउन्सिलले सोको अनुगमन गरिरहेको छ । विज्ञापन, प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्ने, त्यसरी प्रकाशित विज्ञापनमा सःशुल्क भएको जनाउ दिनुपर्ने उल्लेख छ ।

उक्त निर्वाचन आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरण तोकिएको छ । आचारसंहितामा सञ्चार प्रतिष्ठान, सोमा सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने, जातजाति, भाषा, धर्म, सम्प्रदाय, लिङ्ग र क्षेत्रबीचको सम्बन्ध र सद्भावमा खलल पार्न नहुने भनी उल्लेख गरिएको छ ।

त्यसै गरी राजनीतिक आस्था वा विचार राष्ट्रियता तथा सामाजिक अवस्थाजस्ता कुनै पनि आधारमा भेदभाव हुनेगरी समाचार प्रकाशन वा प्रसारण गर्न नहुने, राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारको लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने र निर्वाचन आयोगले तोकेको समयावधिभन्दा बढी नहुने गरी राजनीतिक दल वा उम्मेदवारको निर्वाचनसम्बन्धी

आचारसंहितामा व्यवस्था हुँदाहुँदै धेरैजसो सञ्चार माध्यमले आचारसंहिता र प्रेस काउन्सिल नेपालको अपिललाई पटकपटक बेवास्ता गरी सःशुल्क वा निःशुल्क नछुट्टिने गरी, तोकिएको साइज, समय वा पटकभन्दा बढी विज्ञापन प्रचारप्रसार गरेको, घृणास्पद अभिव्यक्ति, अमर्यादित, असन्तुलित, एकपक्षीय, तथ्यहीन समाचार तथा समाचार–सामग्री सम्प्रेषण गरिरहेको, सामाजिक सञ्जाल प्रयोगकर्ता (पत्रकार)ले कुनै दलको पक्ष वा विपक्षमा कार्यकर्ताले झै चुनावी नारा, तस्बीर राखिरहेको अनुगमनबाट देखिएको काउन्सिलको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.