बिचार

चुनावमा भोट किन हाल्ने अथवा नहाल्ने ??

चुनावमा हामी किन भोट हाल्छौँ ? अथवा हाल्दैनौं ? अरु देशको सवालमा अर्कै कुरा होला । आज हामी हाम्रै देशको कुरा गरौँ । आचार संहिताको मौन समय सुरु हुनै लाग्दा यति कुरा गर्न चाहिं पाइएला कि !

हाम्रो समाज “नराम्ररी” राजनितिकृत छ । सबै बालिगहरुलाई राजनीतिमा तिब्र रुचि नभए पनि प्रत्येक घरपरिवारको टाउके पुस्ता कुनै न कुनै दलको आस्थावान् भनेर ट्याग लागेका छन् । यस्तो अवस्थामा घर टाउकेलाई आवधिक निर्वाचन आएको बेला चुनाव लाग्ने नै भयो । उसकै निर्देशनमा पछिल्लो पुस्तालाई परिवार टाउकेलाई जस्तै नशा नलागेको हुन सक्छ तर पनि घरका बाँकी बालिग़ मतदाता नामावलीमा नाम दर्ता गराएकाले टाउकेकै निर्देशनमा मत हाल्ने गर्छन् ।

यी मतदातालाई सचेत भोटर भन्दा पनि पार्टी लाइन र यसै लाइनको करकापमा परेका भोटर भन्दा हुन्छ । यस कोटीमा पर्नेहरु घरदेखि टाढै बाहिर जागिर, व्यवसाय वा पढाइका लागि पुगेका भए भोट हाल्न खासै रुचि नभएकाहरु करकापबाट जोगिएका हुन्छन् ।

यिनीहरुलाई भोट हाल्न किन मन लाग्दैन ? यही सवाल यसै कोटीमा पर्नेहरुलाई (मेसेन्जरमा) सोध्दा साझा जवाफ यस्तो भावमा पाइयो: जसले जिते पनि स्थानीय वा केन्द्रीय सरकार बनाउने हालका दलले उठाउने उम्मेदवारहरूले हाम्रा इच्छा, आकांक्षा र चाहना बुझ्दैनन् र हामीलाई प्रतिनिधित्व गर्दैनन् । जसले जिते पनि हामीलाई केही फरक पर्दैन । हाम्रो काम कसैले पनि सजिलरी गर्दिदैन ।”

उनीहरुको आसय के थियो भने जसले जितेर गए पनि उनीहरु जनताको दु:ख हेर्दैनन् । आफ्नै दलका नजिकका कार्यकर्ता बाहेक अरुलाई यिनीहरुले “हेर्दैनन्” ।

यही सवाल गर्दा अर्का थरी युवाहरु पनि भेटिए । उनीहरुको साझा जवाफ थियो, “आफूले सोचेको जस्तो भरोसा लाग्दो र अहिलेका विकृति हटाउन सक्ने युवा नेता पाए भोट हाल्ने !” सारमा उनीहरुलाई अहिलेका दलले उठाउने व्यक्तिप्रति पटक्कै विश्वास छैन । उनीहरुलाई अहिलेका दलले राम्रो र असल व्यक्तिलाई उठाउँछ भन्ने कुरामा नै विश्वास छैन । यस अर्थमा अहिलेका सबै दलहरुले उनीहरुको विश्वास गुमाई सके ।

यी निर्वाचनमा भोट हाल्न रुचि नदेखाउने अहिलेका युवाहरु राजनीति बारे बेखबर भएर भोट हाल्न रुचि नभएको हो कि भन्ने बारेमा मैले गहिरै प्रश्नोत्तर गर्दा उनीहरुलाई अहिलेका दलका राजनीतिक दर्शन र इतिहास उति थाहा नभएको पाइए पनि समकालीन राजनीतिक र विकासका मुद्दामा राम्ररी चासो राखेको र ज्ञान भएको पाइयो । शासन गर्नेहरुसँग आफ्नो “भिजन” र योजना नभएको, समयको महत्व थाहा नभएको, सामाजिक परिवर्तनलाई आत्मसात् गर्न नसकेको र पुरातनवादी सोच भएको उनीहरुको ठम्याइ थियो ।

युवाहरुमा नेपालको राजनीति प्रति व्यापक बितृष्णा छ । उनीहरुको बुझाइ छ, “राजनीतिक प्रणाली भ्रष्ट छ ।”

अब यति कुरा गरेपछि अहिले मुखमा भएको चुनावमा भोट हाल्ने कि नहाल्ने त ? अहिले हामीले भोट हालेर हामीलाई शासन गर्ने शासक छान्ने प्रणाली अपनाई रहेको हुनाले चुनावमा सहभागी हुँदा राम्रै हुन्छ । किनभने सहभागी हुँदा मतदाताको गणना हुन्छ । तर चुनावमा सहभागी हुँदै गर्दा इच्छा नलागेको दललाई वा व्यक्तिलाई भोट हाल्नै पर्छ भन्ने पनि छैन । बदर गरेर आउन सकिन्छ । उपस्थितिले नै सांकेतिक अर्थ दिन्छ । स्थानीय सरकार बनाउने चुनावमा धेरै जनालाई एकै मतपत्रमा भोट हाल्ने प्रावधान हुन्छ । इच्छा नलागेको दललाई वा व्यक्तिलाई खाली छोड्दा हुन्छ ।

खास जनतालाई राजनीतिमा किन विश्वास छैन ?

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.