अर्थ

विदेशी मुद्रा संचिति खस्कियो, नौ महिनामा मूल्यवृद्धि सात प्रतिशत बढी

केही समययता निरन्तर घटिरहेको विदेशी मुद्रा संचितिमा थप कमी आएको छ । २०७८ असार मसान्तसम्म १३ खर्ब ९९ अर्ब रुपैयाँ बराबर रहेको विदेशी मुद्रा सञ्चिति चालू आर्थिक वर्षको ९ महिनामा १६.५ प्रतिशतले घटेको छ ।

नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय प्रतिवेदनअनुसार चैत मसान्तसम्म ११ खर्ब ६७ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा मात्र सञ्चिति छ । फागुनसम्म यस्तो सञ्चिति ११ खर्ब ७१ अर्ब थियो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा चैत मसान्तमा १८.२ प्रतिशतले घटेर ९ अर्ब ६१ करोड डलर कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा १० खर्ब २१ अर्ब छ भने बैंक तथा वित्तीय संस्थासँग १ खर्ब ४६ अर्ब बराबर छ ।

विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ । नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसै गरी राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवृदन अनुसार मुलुकमा देशको मूल्यवृद्धि ७.२८ प्रतिशत पुगेको छ । चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरणअनुसार गत चैत महिनाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति अर्थात् मूल्यवृद्धि ७.२८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ३.१० प्रतिशत मात्रै थियो ।

चैत महिनाकाे समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.४० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ७.१८ प्रतिशत रहेको छ । समीक्षा अवधिको औसत मूल्यवृद्धि भने ५.६२ प्रतिशत छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ६.२५ प्रतिशत, तराईमा ७.६१ प्रतिशत, पहाडमा ७.७९ प्रतिशत र हिमालमा ८.२५ प्रतिशत मूल्यवृद्धि रहेको राष्ट्र बैंकले जनाएको छ । सरकारले यस आर्थिक वर्षमा मूल्यवृद्धि ६.५ प्रतिशतको सीमाभित्रै राख्ने लक्ष्य लिएको छ ।

डलरसंग नेपाली मुद्राको अवमूल्यन इतिहासमै उच्च

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.