जन सरोकार

लिपुलेकनजिक सशस्त्र प्रहरीको बिओपी स्थापना : जिल्लावासी खुशीमा खुसी छायो

सरकारले बुधबार दार्चुलाको ब्यास गाउँपालिका–१ छाङ्गरुमा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेपछि स्थानीयबासीमा खुसी छाएको छ । भारतले लिपुलेक हुँदै मानसोबार जाने सडक बनाएपछि सरकाले लिपुलेक नजिकै बिओपी स्थापना गरेको हो ।

भारतले एकतर्फीरूपमा कालापानी लिपुलेक हुँदै चीन जोड्ने सडक निर्माण गरेर उद्घाटन गरेपछि सीमा सुरक्षार्थ बिओपी स्थापना गरिएको हो । यो क्षेत्र चीन र भारतसँग सीमा जोडिएको क्षेत्र हो ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) नारायणबाबु थापाले बुधबार सो बिओपीको उद्घाटन गर्नुभयो । दार्चुलाको सदरमुकाम खलङ्गास्थित सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म हेडक्वार्टरका सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्दको नेतृत्वमा बिओपी स्थापना गरिएको हो । बिओपीमा अहिले २५ जनाको जनशक्ति रहने छ ।

कठिन परिस्थितिमा सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारीअनुसार सामरिक महत्वको ब्यासमा बिओपी स्थापना गरेको एआइजी थापाले बताउनुभयो । बिओपीका लागि चाहिने हातहतियार, बन्दोबस्तीका सामान र फौज लिएर नेपाली सेनाको हेलिकोप्टर बीओपी गएको थियो ।

जिल्लावासी खुशी

राज्यको कमजोर उपस्थिति रहेको व्यास गाउँपालिकाको वडा नं १ मा सरकारले पहिलोपटक दार्चुलाको कालापानी नजिकै रहेको बीओपी बस्तीको गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना गरेपछि जिल्लावासी खुशी भएका छन् । छ महिना मानवविहीन हुने यो क्षेत्रमा बाह्रैमास सशस्त्र प्रहरी बस्ने भएपछि सीमा अतिक्रमणसमेत रोकिने जिल्लावासीको विश्वास छ । समुद्री सतहबाट तीनदेखि पाँच हजार मिटर उचाइसम्म रहेको व्यास गाउँपालिकामा अब सशस्त्र प्रहरीको नियमित गस्ती हुने छ ।

सरकारले पहिलो चरणमा व्यासको छाङ्गरुस्थित गागामा बिओपी स्थापना गर्ने गत मङ्सिरमा निर्णय गरेको थियो । तर भवनलगायत पूर्वाधार अभाव र बाटोघाटोसमेत नहुँदा सशस्त्र प्रहरीलाई व्यास पु¥याउन सकिएको थिएन । गत शुक्रबार भारतले एकाएक नेपाली भूमि, कालापानी लिपुलेक हुँदै चीनको सीमा जोड्ने गरी निर्माण गरेको सडकको उद्घाटन गरेपछि सीमा सुरक्षाका लागि सरकारले सशस्त्र प्रहरी पठाएको हो ।

सशस्त्र प्रहरीलाई नेपाली सेनाको एनए–०५७ नंको हेलिकोप्टरमार्फत व्यासको गागा झारिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म दार्चुलाबाट प्रहरी निरीक्षक लिली चन्दको नेतत्वमा २५ जनाको सशस्त्र प्रहरी छाङ्गरुमा खटाइएको एआइजी नारायणबाबु थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “व्यासमा सशस्त्रको भवन निर्माणका लागि छिट्टै प्रक्रिया अघि बढ्छ । सरकारले बिओपी स्थापनाका लागि रु ११ करोड बजेट विनियोजन गरिसकेको छ”, उहाँले भन्नुभयो, “छिट्टै बोलपत्र आह्वान भएर स्थायी संरचना निर्माण गर्छौँ ।” अहिलेको परिस्थितिमा सशस्त्रको जिम्मेवारीअनुसार सीमारक्षाका लागि खटिएको छ । यो हाम्रो कार्ययोजना र सरकारको कार्यादेशानुसार सशस्त्र खटिएको हो, उहाँको भनाइ छ ।

सीमा सुरक्षा र सीमामा सरकारको उपस्थिति देखाउनकै लागि सशस्त्र प्रहरी व्यासको छाङ्गरु गएको उहाँले बताउनुभयो । सशस्त्र प्रहरीका लागि आवश्यक बन्दोबस्तीका सामग्री छ महिना पुग्ने गरी लगिएको छ । वर्षौँदेखि हुन नसकेको काम अहिलेको सरकारको तादरुकताकै कारण व्यासमा सशस्त्र प्रहरीको बिओपी स्थापना गर्न सम्भव भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनुभयो । “सीमा क्षेत्रमा राज्यको उपस्थिति र जनताको सुरक्षा अनुभूति हुने गरी सरकारले गरेको ऐतिहासिक र दूरगामी निर्णय हो”, उहाँले भन्नुभयो, “यो दिन सरकार, जनता र प्रशासकलाई समेत खुसीको अनुभूति भएको दिनका रूपमा सम्झेको छु ।”

“देश बन्दाबन्दीको अवस्थामा रहेको बेला सीमा क्षेत्रमा हेलिकोप्टरमार्फत राज्यको उपस्थिति गराउनु चुनौतीपूर्ण काम थियो”, उहाँले भन्नुभयो, “तैपनि हामीले सुरक्षा व्यवस्थापन गरेका छौँ ।” सीमामा बस्ने सुरक्षाकर्मीलाई उच्च मनोबलका साथ काम गर्ने वातावरणका साथ पठाइएको छ ।

विगतमा छ महिना मात्र नेपाल सरकारको प्रतिनिधिका रुपमा नेपाल प्रहरीको मात्रै उपस्थिति हुने गरेको थियो । व्यास गाउँपालिका–१ छाङ्गरुको गागा र तिङ्करको छायालेकमा नेपाल प्रहरी छ महिना बस्दै आएको थियो । स्थानीयवासीको कुञ्चा सदरमुकाम खलङ्गा सरेसँगै उनीहरु पनि व्यास गाउँपालिका–२ दुम्लिङ झर्ने गरेको छ । अहिले सशस्त्र प्रहरी व्यासको कालापानी भन्दा १२ किलोमिटर यतै बसेको छ भने छाङ्गरुबाट लिपुलेक १७ किलोमिटर दूरीमा पर्छ ।

“सशस्त्र प्रहरी पहिलोपटक गाउँमा पुगेपछि निकै खुशी छौँ”,ं व्यासका स्थानीय जीतबहादुर बोहराले भन्नुभयो, “अहिलेसम्म सरकार छैन भन्ने अनुभूति भएको थियो । बल्ल सरकारले हेलिकोप्टरमार्फत भए पनि व्यासमा सुरक्षाकर्मी पु¥याएर राज्य भएकोजस्तो भएको छ ।” व्यासी सौका समाजका अध्यक्ष यशोदा तिङ्करीले सरकारले व्यास क्षेत्रमा सशस्त्र प्रहरी राख्नु राम्रो भए पनि अहिले नागरिकलाई खलङ्गामै छोडेर जानु राम्रो नभएको प्रतिक्रिया दिनुभयो । व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहरा सशस्त्र प्रहरीको पोष्ट छाङ्गरुभन्दा पनि कौवा भन्ने ठाउँमा उपयुक्त हुने बताउनुभयो ।

“गागामा नेपाल प्रहरीको उपस्थिति छँदैछ”, उहाँले भन्नुभयो, “कालापानीबाट नजिकको क्षेत्र कौवा हो, भारतले काठ तस्करी पनि गर्ने हुँदा यो क्षेत्र विकल्पको रुपमा हुन सक्छ ।” सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं व्यास–१ छाङ्गरुका स्थानीय बासिन्दा गेल्बुसिंह बोहरा सरकारले ढिलै भए पनि राज्यको उपस्थिति गराउन सकिएको बताउनुभयो । हामीले सशस्त्र प्रहरीलाई कौवा क्षेत्रमा राख्नुपर्ने प्रस्ताव गरेका छाँै । स्थानीयवासीले गागामा कित्ता नं ३५ को ११५ रोपनी तीन आना जग्गामध्ये १५ रोपनी जमिन सशस्त्र प्रहरीलाई दिइसकेको छ भने सरकारले व्यासमा बिओपी स्थापना र निर्माणका लागि रु ११ करोड बजेट विनियोजन गरेको छ ।

कुञ्चा सर्न नपाएकोमा स्थानीयवासीको दुखेसो

वैशाख पहिलो सातामै कुञ्चा सर्नुपर्ने व्यासीहरु अहिलेसम्म पनि सर्न नपाएकोमा दुखेसो व्यक्त गर्नुभयो । व्यास गाउँपालिका–१ का यसोदा तिङ्करीले भन्नुभयो, “अहिले पनि आफ्नो जन्मभूमि जान भारतीय बाटो कुर्नुपर्ने अवस्था छ ।”

सोही ठाउँका दानसिंह तिङ्करीले पञ्चायतकालमा निर्माण गरिएको बाटो निर्माणमा सरकारले गम्भीरता देखाउन नसकेको बताउँदै पञ्चायतकालमा निर्माण गरिएको गोरेटोबाटो सञ्चालनमा ल्याउन सके यस क्षेत्रको विकास र व्यासीहरुलाई सजिलो हुन्थ्यो भन्नुभयो । अहिले नेपालतिरको मौराभेल र कौवा क्षेत्रमा झण्डै ४०० मिटर क्षेत्रमा बाटो अवरुद्ध छ । व्यास गाउँपालिकाको वडा नं १ छाङ्गरुमा ११० तथा तिङ्करमा ६५ घरधुरीको बसोबास छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.