इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सले लखनउ सुपर जायन्ट्ससँग पराजित भएको छ । बिहीबार राति भएको खेलमा गुजरात लखनउसँग ३३ रनले पराजित भएको हो ।
योसँगै क्वालिफायर खेल्ने योजनामा रहेको गुजरातलाई गम्भीर धक्का लागेको छ । गुजरातको घरेलु मैदान अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो । लखनउका लागि मिचेल मार्शले ६४ बलमा १० चौका र आठ छक्काको सहयोगमा सर्वाधिक १ सय १७ रनको शतकीय पारी खेले भने निकोलस पुरनले २७ बलमा पाँच छक्का र चार चौकाको मद्दतले अविजित ५६ रनको अर्धशतकीय इनिङ खेले ।
त्यस्तै एडेन मार्करमले ३६ रन जोड्दा ऋषभ पन्त १६ रनमा अविजित रहे । गुजरातका लागि अर्शद खान र साई किशोरले समान एक-एक विकेट लिए । लखनउले प्रस्तुत गरेको २ सय ३६ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २ सय २ रन मात्र बनाउन सक्यो ।
उसका लागि साहरुख खानले ५७ रनको अर्धशतकीय पारी खेले भने शार्फन रुथफोर्डले ३८ रन बनाए । त्यस्तै कप्तान शुभमन गिलले ३५ रन जोड्दा जोस बटलरले ३३ र साई सुदर्शनले २१ रन बनाए । लखनउका लागि विलियम ओरोर्कले तीन विकेट लिए भने आवेश खान र आयुष बदोनीले समान दुई-दुई लिँदा शाहबाज अहमद र आकाश सिंहको भागमा समान एक-एक विकेट रह्यो ।
प्रतियोगितामा आज राति ७:४५ बजे रोयल च्यालेन्जर्स बैंगलुरु र सनराइजर्स हैदराबाद भिड्दै छन् ।





प्रतिक्रिया राख्नुहोस्