अर्थ

स्वरोजगारबाट उद्यमी बन्दै पाल्पाका महिला

गाउँघरमा सानै स्तरका भए पनि सफल उद्यमीका उदाहरण प्रस्तुत गर्ने महिला पाल्पामा धेरै

घरायसी काम, छोराछोरीको स्याहार सुसार, बालबालिकालाई विद्यालय पठाउने यस्तै यस्तै काममा धेरै महिलाको दैनिकी बितेको हुन्छ । कतिपय महिला भने यी आफ्ना दैनिक कामका अतिरिक्त स्वरोजगारका काममा पनि लागेका छन् । उनीहरू आयआर्जनका लागि विभिन्न पेशा, व्यवसायमा संलग्न भएका छन् भने समाजमा विभिन्न संघसंस्थामा पनि आबद्ध छन् ।

हुन त नेपाली समाजमा अहिले पनि भान्साको कामदेखि मेलापात, वस्तुभाउ, छोराछोरीको स्याहार सुसार जस्ता कार्यको भार महिलाकै काँधमा धेरै छ । यी काम सकेर पनि यदि कुनै महिलाले अवसर पाए भने घरायसी कामसँगै विभिन्न क्षेत्रमा पनि महिलाले सक्रियता बढाउन पनि सक्छन् । यस्तो सक्रियतालाई अवसर बनाएर गाउँघरमा सानै स्तरका भए पनि सफल उद्यमीका उदाहरण प्रस्तुत गर्ने महिला पाल्पामा धेरै छन् ।

पहिले घरको धन्दामा मात्र सीमित रहनुभएकी रामपुर नगरपालिका वडा नं ८ रानीबास बस्ने सबिता अर्याल अहिले भने उद्यमीका रूपमा चिनिनुहुन्छ । उहाँले गाउँका महिलालाई समावेश बनाएर आयआर्जनका लागि सरफ उद्योग शुरु गर्नुभएको छ । गत वर्षदेखि उद्योग शुरु गर्नुभएकी अर्यालले आफुसँगै अन्य दुई महिलालाई पनि समावेश गराउनुभएको छ ।

“हामी सधैँ दुई चार पैसाका लागि श्रीमानको भरमा कतिन्जेल बस्ने, बिहान साँझ घरको काम सकेएर दिउँसोको फुर्सदको समय केही आर्थिक आयमा लगाउन सकिन्छ, आयस्रोत पनि हुने भएपछि सरफ उद्योग शुरु गरेका छौँ” अर्यालले भन्नुभयो ।

रामपुर नगरपालिकाले गतवर्ष उद्यमी बनाउन नगरका ३० महिलालाई दुई दिनको निःशुल्क सरफ तथा सोडा बनाउने तालिम दिएको थियो । तालिम लिएकामध्ये तीन जना महिलाले मात्र सीपलाई व्यवहारमा प्रयोग गरेको पाइएको छ ।

परीक्षणका रूपमा उत्पादन भएको सरफ राम्रो भएपछि अहिले महिलाहरूले व्यवसायीक उत्पादनलाई जोड दिएका हुन् । उत्पादन गर्न मात्र कठिन हो तर खपतको लागि समस्या नै नभएको उनीहरूको भनाई छ । शुरुमा बजार पाउँछ या पाउँदैन भन्ने चिन्तामा रहेका यहाँका महिलाहरूलाई अहिले माग अनुसार पु¥याउन सकिएको छैन ।

अघिल्लो आर्थिक वर्षमा परिक्षणका रूपमा यहाँका महिलाले एक क्वीन्टल सरफ उत्पादन गरी बिक्री गरेका छन् भने यस आर्थिक वर्षको हालसम्म छ सय क्वीन्टल बढी सरफ उत्पादन गरी बिक्री गरेको भगवती वाग्लेले बताउनुभयो । “उद्योगका लागि छुट्टै भवन नभएपनि घरमै बसेर हामी तीन जनाले समूहमा सरफ बनाइरहेका छौँ, बिक्रीका लागि अन्यत्र पनि लैजानु परेको छैन, घरबाटै अहिलेसम्म बिक्री भइरहेको छ, हामीसँग एक पटक सरफ लिएर जानुभएको ग्राहक पटक पटक खरिद गर्न आउनुभएको छ” वाग्लेले भन्नुभयो ।

यहाँ उत्पादन भएको सरफ प्रतिकिलो रु एक सयमा धमाधम बिक्री भइरहेको छ । अहिलेसम्म हातले नै तयार पारिने भएको हुदा दैनिक ७० देखि ८० किलोसम्म सरफ उत्पादन गर्न सकिने डिलमाँया श्रेठ बताउनुुहुन्छ । मेसिनबाट उत्पादन गर्न पाएमा धेरै उत्पादन गर्न सकिने र सरफ बनाउँदा प्रयोग हुने विभिन्न पदार्थ (केमिकल) ले मानव स्वास्थ्यलाई असर कम गर्ने उहाँको भनाई छ । यो सरफ हातले विभिन्न पदार्थ घोलेर बनाउने गरिन्छ ।

शुरुआती क्रममा नै धेरैको स्थानीय स्तरमा उत्पादन भएको सरफ रोजाइमा परेपछि महिलालाई व्यवसायमा हौसला मिलेको छ । बजारमा बाहिरबाट बिक्री गर्न राखिएका सरफ भन्दा स्थानीय स्तरमा नै उत्पादन गरेको सरफ प्रयोग गर्दा धेरै राम्रो भएको मथुरा रेग्मी बताउनुहुन्छ । “कपडा, भाँडा धुन प्रयोग गर्दा धेरै राम्रो भएको अनुभव पाएँ, बाहिरबाट उत्पादन भई बजारमा आएको सरफभन्दा यहाँको उत्पादनमा गुणस्तर पनि राम्रो छ, स्थानीय उत्पादनलाई नै महत्व दिएका छौँ” उहाँले भन्नुभयो ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले सरफ तथा सोडा उत्पादनका लागि मेसिन सहयोग गर्ने र उत्पादन भएको सामान बजारमा खपत नभएको खण्डमा नगरपालिकाले बजारीकरणको प्रबन्ध मिलाउने बताउनुभएको छ । उहाँ भन्नुहुन्छ, “महिलाहरूले सीप सिकेर आर्थिक उपार्जनका लागि केही गर्छु भन्नेका लागि नगरले सहयोग गर्नेछ, यहाँका महिलाले अहिले हातले नै सरफ उत्पादन गर्नुहुदो रहेछ, त्यसको लागि अब मेसिन उपलब्ध गराउने छौँ” ।

महिलाले शुरु गरेको व्यवसायलाई थप प्रोत्साहन गर्दै व्यवसायीक रूपमा उत्पादन गर्न सामान खरिद गर्न रु एक लाख रकम नगरपालिकाले सहयोग गरेको छ । नगरपालिकाले सीप विकास सम्बन्धी महिलाहरूका लागि स्वीटर बुन्ने, झोला सिलाउने, चुरामा बुटिक भर्ने, साडीमा कडाई भर्ने, अचार बनाउने लगायतका धेरै प्रकारका तालिम उपलब्ध गराएको छ । सीपमुलक तालिममा नगरले धेरै लगानी गरेपनि कमै व्यक्तिले मात्र व्यवहारमा प्रयोग गरेको पाइएको छ ।

नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले महिलाहरूले गरेको यस कार्य अन्य महिलाले पनि सिको गरी फुर्सदको समय सदुपयोग गर्दै घरखर्च चलाउन सकिने बताउनुभएको छ । सरफ उत्पादनको लागि थप सीप विकास प्रदान गर्न ठूला उद्योगमा महिलाहरूलाई अवलोकन गराउने उपप्रमुख आचार्य बताउनुहुन्छ । यहाँका महिलाले तालिम लिएपश्चात उद्योगकै रूपमा सरफ उत्पादन शुरु गरेपछि आर्थिक क्षेत्रमा पनि महिला बलियो बन्दै गएका छन् भने नगरले दिएको लगानी वडामा सही ठाउँमा प्रयोगमा आएको रामपुर नगरपालिका वडा नं ८ का वडा सदस्य मोहन श्रेष्ठ बताउनुहुन्छ ।

रामपुर नगरपालिका ५ बाँझोबारी बस्ने शोभा आलेले आयस्रोतका लागी घरमै बसेर स्वीटर बुन्ने गर्नुहुन्छ । उहाँसँग स्वीटर बुन्ने सीप धेरै राम्रो भएकाले ग्राहकको मागअनुसार स्वीटर पु¥याउन समस्या परेको छ । उहाँ भन्नुहुन्छ, “स्वीटरको माग धेरै छ, कमाई पनि राम्रै हुदै गएको छ, घरमा बिहान साँझ खाना पकाउने, खेतबारीको काम गर्ने, बालीनाली लगाउने, मेलापात बाहेक खाली समय स्वीटर बुन्ने गर्छु, समय कसरी बिताउने होला भन्ने पनि छैन” ।

एउटा स्वीटर साइज हेरेर पुरुषका लागि रु एक हजार पाँच सय र महिलाका लागि दुई हजार पाँच सयमा बिक्री भइरहेको छ । नगरपालिकाभित्र मात्रै करिब दुई दर्जन जति महिलाले व्यवसायिक तरिकाले नै हातले बुनेर स्वीटर उत्पादन गर्ने गर्दछन् । रामपुर नगरपालिका– ५ राङ्गभाङ्ग बस्ने लक्ष्मी श्रेष्ठले लामो समयदेखि झिनियाँ उद्योग चलाउनुभएको छ । यस क्षेत्रमा धेरै झिनियाँको व्यापार गर्ने उद्यमीका रूपमा उहाँ परिचित हुनुहुन्छ । यो व्यवसायबाट उहाँलाई नाम र दाम मिलेको छ ।

“हातमा सीप भएपछि घरभित्रै बसी बसी आयआर्जन गर्न सकिन्छ, घरमा झिनियाँ बनाउने बजारमा बिक्री गर्ने, एक त आम्दानी गर्ने माध्यम भयो भने अर्को दिन बिताउने माध्यम बनेको छ, झिनियाँ बनाउन थालेपछि दिन गएको पत्तो नै छैन” उहाँले भन्नुभयो । श्रेष्ठले एक वर्षमा झिनियाँबाट करिब रु तीनदेखि चार लाखसम्म कमाई गर्नुहुन्छ । अढाइ दशकदेखि यस व्यवसायमा संलग्न श्रेष्ठले हातमा सीप भएकालाई लकडाउन, बन्द हड्ताल जुनसुकै अवस्था आएपनि खाली बस्न नपर्ने उहाँको अनुभव छ ।

उहाँले झट्ट नबिग्रने र एक वर्षसम्म प्रयोगमा ल्याउन सकिने हुँदा कामदार परिचालन गरी फुर्सदका समय धेरै झिनियाँ बनाएर राख्ने गर्नुहुन्छ । यहाँ उत्पादन भएको झिनियाँको आकार प्रति दर्जन रु ४० देखि एक सयमा बिक्री हुने गरेको व्यापारी बताउँछन् । चामलको पिठोलाई पकाएर मेसिनको सहायताले झिनियाँ बनाई सुकाएर तयार गर्ने गरिन्छ । स्थानीय कल्पना राना पनि सिलाई व्यवसाय सञ्चालन गरी अहिले आफँै उद्यमी बन्नुभएको छ । शिक्षण पेशामा संलग्न रहनुभएका राना आफ्नै व्यवसायबाट स्वावलम्बी बन्ने मनसायले शिक्षण कार्य छाडेर सिलाई व्यवसायमा लाग्नुभएको हो ।

रामपुरमा सिलाई व्यवसाय चलाएर आफु र परिवारको जीविका राम्रोसंग चलाउनुभएको छ । शिक्षण पेशामा सेवा गर्नुभएका रानाले जागिरे जीवनभन्दा आफैँले व्यवसाय चलाएर उद्यमी बन्दा धेरै आनन्द लाग्ने गरेको उहाँको अनुभव छ ।

त्यस्तै अर्की स्थानीय यमकान्ती गौतम कृषि व्यवसायबाट उद्यमी बन्नुभएको छ । लामो समयदेखि कृषि कार्यमा काम गर्दा गर्दै उहाँले रामपुरको बेझाड बजारमा एग्रोभेट नै सञ्चालन गर्नुभएको छ । गौतम विशेष गरी तरकारी व्यवसाय र कुखुरापालनमा संलग्न हुनुहुन्थ्यो । अहिले भने एग्रोभेट चलाउन थालेपछि तरकारी खेतीलाई निरन्तरता दिइरहनुभएको छ । यस क्षेत्रमा बीऊ आलु उत्पादक कृषकका रूपमा उहाँ चिनिनुहुन्छ ।

कृषि कार्यमा राम्रै अनुभव लिनुभएकी गौतमले तरकारी, अन्नबाली, विभिन्न उन्नत जातका बीऊ विजन, विषादी, फलफुलका विरुवा बिक्री गर्नुहुन्छ । महिलाहरूले पछिल्लो समय कृषि कार्य मात्र नभई विभिन्न सीप सिकेर आफैँ उद्यमी बन्न अग्रसर बनेका छन् । उनीहरू सौन्दर्य (ब्युटीपार्लर), गुडिया उत्पादन, अचार उत्पादन, सिलाई कटाईलगायतका विभिन्न व्यवसायमा आबद्ध रहेका छन् । यी व्यवसाय सानो लगानीमा पनि सञ्चालन गर्न सकिने र आयस्रोत पनि हुने हुँदा पछिल्लो समय विभिन्न व्यवसाय चलाएर महिला उद्यमीका रूपमा चिनिन थालेका छन् ।

पाल्पा जिल्लामा आर्थिक वर्ष २०७७/०७८ को वैशाख मसान्त सम्ममा ६१२ उद्योग दर्ता भएका छन् । जसमा महिलाको नाममा दुई सय ९३ र पुरुषको नाममा तीन सय ८७ उद्योग दर्ता भई सञ्चालनमा छन् । दर्ता भएका उद्योगमध्ये उत्पादनमूलकतर्फ ५०, कृषि तथा वनजन्यतर्फ चार सय २४, पर्यटन उद्योगतर्फ ६, सेवामुलक ७० उद्योग रहेको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्यम विकास सहजकर्ता मनोज घिमिरेले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७६/०७७ को अवधिमा जिल्लामा लघु उद्यम नौ, घरेलु उद्यम तीन र साना उद्यम तीन सय ९५ दर्ता भएका छन् । तीमध्ये उत्पादनमूलक ४२, कृषि तथा वन्यजन्तुमूलक एक सय ५५, पर्यटनमूलक एक सय ४८, सेवामूलक ६२ उद्योग नयाँ दर्ता भएको छ । महिलाको नाममा एक सय ८१ र पुरुषको नाममा दुई सय ४३ उद्योग दर्ता भएको पाइएको छ ।

आ.व. २०७५/०७६ मा उत्पादनमूलक ५२, कृषि तथा वन्यजन्तुमूलक एक सय ११, पर्यटनमूलक ९७ र सेवामूलक एक सय १० गरी जम्मा तीन सय ७० उद्योग थपिएका थिए जसमा ९६ जना महिला उद्यमी रहेका छन् । पछिल्ला वर्षमा जिल्लामा महिलाको नाममा उद्योग दर्ता हुने क्रम बढ्दो छ । महिलाको नाममा दर्ताका लागि ५० प्रतिशत छुट भएकाले पनि महिला उद्यमी बढ्दैछन् । रु पाँच लाख लगानीसम्मका उद्योग स्थानीय तहमा नै दर्ता गरिन्छ । पाँच लाख रुपैयाँभन्दा माथिका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गर्नुपर्ने हुन्छ । रु पाँच लाख देखि २० लाख सम्मका उद्योग दर्ता गरेमा पाँच हजार दर्ता शुल्क र एक सय दरखास्त शुल्क लिने गरिएको छ ।

महिला, अपाङ्ग, दलित, पिछडीएका वर्गका लागि दर्ता शुल्कको ५० प्रतिशत रकम छुट गरिएकाले पनि महिलाको नाममा उद्योग दर्ता हुने क्रम बढ्दै गएको पाइएको छ । जिल्लामा हाल विभिन्न प्रकृतिका गरी तीन हजार पाँच सय २४ उद्योग दर्ता भएका छन् । जिल्लामा साना प्रकृतिका पर्यटन र कृषि तथा वन्यजन्तुमूलक उद्योग महिलाका नाममा र उत्पादन र सेवामुलक उद्योग पुरुषका नाममा बढी दर्ता भई सञ्चालन हुने गरेको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्योग अधिकृत देवीराम भण्डारीले बताउनुभयो ।

ढाका बुनाई, बाँसका सरसमान बनाउने, मोबाइल मर्मत, छाला जुत्ता बनाउने, सिलाइकटाई, हाते कढाई, होजियारी (स्वीटर टोपी लगायत धागोबाट बुनिने सामान) जस्ता विभन्न किसिमका रोजगारमूलक तालिमहरू कार्यालयले सञ्चालन गर्दै आइरहेको छ । उद्योग दर्ता गरेपछि पाँच वर्षसम्म नविकरण गर्नु नपर्ने र त्यसपछि दुई÷दुई वर्षको अवधिमा नविकरण गर्ने गरिन्थ्यो भने हाल तीन÷तीन वर्षको अवधीमा उद्योग नविकरण गर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button