इन्डियन प्रिमियर लिग (आइपिएल) को आफ्नो अन्तिम खेलमा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्समाथि फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा हैदराबादले कोलकातालाई १ सय १० रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
दिल्लीको अरुण जेट्ली स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ७८ रन बनाएको थियो । हैदराबादको लागि हेनरिक क्लासेनले ३९ बलमा ७ चौका र ९ छक्का प्रहार गर्दै अविजित रहँदै १ सय ५ रनको शतकीय पारी खेले भने ट्राभिस हेडले ७६ रनकॉ अर्धशतकीय पारी खेले ।
त्यस्तै अभिषेक शर्माले ३२ रन जोड्दा इशान किशनले २९ र अनिकेत वर्माले अविजित १२ रन बनाए । कोलकाताका सुनिल नारिनले दुई विकेट लिए भने वैभव अरोराको भागमा एक विकेट रह्यो । हैदराबादले प्रस्तुत गरेको २ सय ७९ रनको विशाल लक्ष्य लिएर मैदान उत्रेको कोलकाता १८.४ ओभरमा १ सय ६८ रनमा समेटियो । कोलकाताको लागि मनिष पाण्डेले सर्वाधिक ३७ रन बनाए भने हर्षित रानाले ३४ रन जोडे ।
यस्तै सुनिल नारिनले ३१ रन जोड्दा अजिंक्य रहानेले १५ र अङ्ग्क्रिश रघुवंशीले १४ रन बनाए । हैदराबादका लागि जयदेव उनादकट, इशान मलिंगा र हर्श दुबेले समान तीन-तीन विकेट लिए । जितसँगै हैदराबाद १४ खेलमा १३ अंकसहित लिगको अन्त्य गरेको छ बने समान खेलमा कोलकाताले १२ अंक जोडेको छ ।
प्रतियोगिता अन्तर्गत आज राति ७:४५ बजे पञ्जाब किङ्स र मुम्बई इन्डियन्स भिड्दै छन् ।





प्रतिक्रिया राख्नुहोस्