तीन वर्ष परराष्ट्रमन्त्री हुँदा ज्ञवालीको कमाई नौलाख रुपैयाँ
एकपटक मन्त्री बनेपछि सात पुग्ने गरी कमाएका भनेर यसअघिका अधिकांश मन्त्रीहरुको चर्चा रहे पनि निवर्तमान परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले पदबाट बाहिरिएलगत्तै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभयो भने सरकारी गाडी, निवास तत्काल छाड्नुभयो ।

शुक्रबार मन्त्रिमण्डल हेरफेर हुँदा मन्त्रीबाट बाहिरिनुभएका ज्ञवालीले जाँदाजाँदै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । तीन वर्षको अवधिमा उहाँले विदेश भ्रमणवापत् तीन लाख १४ हजार ९३० रूपैयाँ र पारिश्रमिकवापत् ६ लाख २० हजार आम्दानी भएको जनाउनुभएको छ ।
पूर्वमन्त्री ज्ञवालीले पार्टीको खातामा भएको र पारिश्रमिकको कर कट्टी तीन लाख ७२ हजार ४९१ रुपैयाँ रहेको जनाउँदै हाल खातामा ७ लाख ४१ हजार ७७५ रूपैयाँ बचत रहेको उल्लेख गर्नुभएको छ ।
ट्वीट गर्दै ज्ञवालीले सार्वजनिक गर्नुभएको सम्पत्ति विवरणमा केही घरायसी सामान र दुई सयजति पुस्तक थपिनुबाहेक मन्त्री बनेलगत्तै सार्वजनिक आफ्नो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी गराउनुभएको छ ।
ज्ञवालीले यो अवधिमा आफूले प्रयोग गर्दै आएको सवारी साधन, ल्यापटप शुक्रबार नै मन्त्रालयलाई फिर्ता गरेको र पुल्चोस्थित सरकारी आवास शनिबार बिहान छोडेको बताउनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्