जन सरोकार

विदेशमा अलपत्र नेपालीको उद्धार सुरु- आज कुवेतबाट आउँदै यस्तो छ उद्धार तालिका

सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार सुरु गरेको छ । यसै क्रममा आज (बिहिबार) कुवेतबाट तीन सयभन्दा बढी महिलाको उद्धार हुँदैछ भने यसपछि क्रमश अन्य देशबाट उद्धार गरिने तालिका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको छ ।

उद्धारका लागि राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स र निजी कम्पनीको हिमालय एयरलाइन्स तथा विदेशी जहाजहरुले उद्धार गर्नेछन् । पहिलो चरणको उद्धारबाट करिब १२ हजार जति नेपाली स्वदेश फर्कने अनुमान छ । जस अनुसार नेपाल एयरलाइन्सका वाइडबडी र न्यारोबडीले २४ तथा हिमालय एयरलाइन्सको न्यारो बडी जहाजले १९ उडान गर्नेछ भने २४ वटासम्म विदेशी एयरलाइन्सले उडान गर्नेछन् ।

उद्धार तालिकामा कुवेतबाट आउने महिलाहरुको सूची समावेश छैन । किनभने उनीहरुलाई कुवेतले काठमाडौं ल्याइदिन लागेको हो । कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका महिलालाई दुईवटा जहाजमा नेपालीहरु काठमाडौं आइपुग्दैछन् ।

मन्त्रालयको तालिका अनुसार बंगलादेशको ढाकाबाट जुन १४ तारिखमा दुई वटा फ्लाइट छन् । यी दुवै फ्लाइट विदेशी विमान कम्पनीका हुनेछन् । यस्तै जुन १५ तारिखमा नेपाल एयरलाइन्सले माले र क्वालालम्पुरबाट नेपालीहरुलाई ल्याउने छ । सोही दिन हिमालय एयरलाइन्सले साउदी अरब र सिंगापुरका नेपालीहरुलाई ल्याउने छ ।

जुन १६ मा युएई र कतारबाट नेपाल एयरलाइन्सले तथा कुवेत, र श्रीलंका र मालेबाट हिमालय एयरलाइन्सले नेपालीहरुलाई स्वदेश ल्याउने छ । त्यस्तै जुन १७ मा अष्ट्रेलिया, बैंकक र बहराइनबाट नेपाल एयरलाइन्सको उडान हुने छ भने हिमालय एयरलाइन्सले बंगलादेश र कतारबाट उडान भर्ने छ । जुन १७ मै अमेरिकाबाट एक विदेशी एयरलाइन्सको पनि उडान हुने पर्यटन मन्त्रालयलले सार्वजनिक गरेको उडान तालिकामा उल्लेख छ ।

जुन १८ मा नेपाल एयरलाइन्सले साउदी र युएईका नेपालीहरुलाई काठमाडौं ल्याउने छ । सो दिन हिमालय एयरलाइन्सले क्वाललम्पुर र मस्कटबाट उडान भर्ने छन् भने जुन १९ मा जापान र कुवेतबाट नेपाल एयरलाइन्सले तथा साउदी र नाइजेरीबाट हिमालय एयरलाइन्सले उडान गर्ने छन् ।

उडान तालिका अनुसार २० जुनमा साइप्रस, क्वालालम्पुर र कतारबाट नेपाल एयरलाइन्सका तीन उडान हुने छन् । सोही दिन हिमालय एयरलाइनसले युएई र बंगलादेशबाट नेपालीहरुलाई ल्याउने छ । २० जुनमै ईयूको एउटा फ्लाइट हुने पर्यटन मन्त्रालयको तालिकामा उल्लेख छ ।

यस्तै २१ जुनमा दक्षिण कोरिया र ओमानबाट नेपाल एयरलाइन्सले नेपालीहरुको उद्धार गर्ने छ । कुवेत र क्वालालम्पुरबाट हिमालय एयरलाइन्सले जहाजको उडान हुने छ । २२ जुनमा अष्ट्रेलिया र बैंककबाट नेपाल एयरलाइन्सको तथा पाकिस्तान र कतारबाट हिमालय एयरलाइन्सको उडान हुने छ ।

२३ जुनमा जापानको नारिता र मालेबाट नेपाल एयरलाइन्सको तथा युएई र युगान्डाबाट हिमालय एयरलाइन्सको उडान हुने तालिकामा उल्लेख छ ।

२४ जुनमा नेपाल एयरलाइन्सको मात्र फ्लाइट छ । सो दिन नेपाल एयरलाइन्सले साउदी र कुवेतका नेपालीहरुलाई उद्धार गर्ने छ । २५ जुनमा नेपाल एयरलाइन्सको वाइड बडीले जापानका नेपालीलाई उद्धार गर्दा हिमालय एयरलाइन्सले साइप्रस/इजरायलबाट उडान गर्ने छ ।

उद्धारका लागि उडान चार्टर हुने हुँदा ८५ प्रतिशत यात्रुभार भए मात्र विमानले उडान भर्नेछ भने हुनुपर्ने । त्यस्तै उल्लेखित चार्टर उडानहरु यात्रुको उपलब्धताको आधारमा हुनसक्ने पनि सूचनामा जनाइएको छ ।

स्वदेश फर्कनका लागि हरेक यात्रुले पिसीआर वा आरडिटी परीक्षण नेगेटिभ भएको प्रमाण पेश गर्नुपर्नेछ भने टिकट सम्बन्धित एयरलाइन्सहरुले व्यवस्थापन गर्नेछन् ।

विदेशबाट उद्धार गरिने नेपालीहरुलाई होटल क्वारेन्टिनमा राख्ने सरकारको नीति छ । क्वारेन्टिनको रूपमा प्रयोग गर्ने होटलहरुको सूची सरकारले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.