अर्थ

शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन अध्यक्षविरुद्ध २ अर्ब ६६ करोड ६१ लाख रुपैयाँको मुद्दा

अवैध रुपमा धन आर्जन गर्नेहरुको खोजी गर्ने सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत आएपछि अहिलेसम्मकै सबैभन्दा धेरै अवैध सम्पत्ति आर्जनको पर्दाफास भएको छ ।

विभागले नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठविरुद्ध २ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

विभागले श्रेष्ठसहित योगेन्द्रकी पत्नी गीता, छोराहरु उत्सव, गौरव र सौरभ श्रेष्ठविरुद्धसमेत सम्पत्ति शुद्धिकरण गरेको अभियोग लगाएको छ । योगेन्द्र श्रेष्ठ कम्पनी स्थापनाकालदेखि २०६८ सालसम्म शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडमा कार्यकारी अध्यक्ष हुनुहुन्थ्यो । श्रेष्ठबिरुद्ध नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडमा बचत भएको रकम हिसाब नदेखाई व्यक्तिको नाममा प्रयोग गरेको आरोपमा बैंकिङ कसुरको मुद्दासमेत चलाइएको थियो ।

जसमा नागरिक लगानी कोषमा १६ करोड ५० लाख, माछापुच्छ्रे बैंकको ४ करोड ८८ लाख, जनता बैंकको १० करोड, हिमाल हाईड्रोको ९० लाख, नेपाली सेना कल्याणकारी कोषको ४ करोड, सन्ड्री डेप्स टर्सको ९ करोड ६९ लाख, बीमा संस्थानको २० करोड अनि विभिन्न व्यक्तिको बचत १७ करोड गरी कुल ८३ करोड ३ लाख रुपैयाँ अनियमित रुपमा दुरुपयोग गरेको आरोप थियो । उक्त रकम सम्बन्धित व्यक्ति वा संस्थाको खातामा नराखी दुरुपयोग गरेको आरोप थियो ।

उहाँबिरुद्ध नक्कली ऋणी बनाई ३२ करोड ६४ लाख दुरुपयोग गरेको अभियोगसमेत लागेको थियो । अर्को पटकको अभियोगमा श्रेष्ठविरुद्ध ३४ करोड ९३ लाख दुरुपयोग गरेको मुद्दा चलेको थियो । तत्कालीन पुनरावेदन अदालतको वाणिज्य इजलासले दुई पटकको फैसलामा करिब १३ करोड रुपैयाँ अनियमितता गरेको ठहर गर्दै योगेन्द्रप्रसाद श्रेष्ठ र सिद्धार्थमान मास्केलाई ३ वर्ष कैद फैसला सुनाएको थियो । त्यही घटनाका कसुरदार श्रेष्ठमाथि छानबिन हुँदा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले यति धेरै गैरकानुनी सम्पत्ति आर्जन गरेको तथ्य फेला पारेको हो ।

सम्बन्धित खबर

Back to top button