राजनीति

परीक्षा व्यवस्थापनमा सुधार : स्थानीय सम्परीक्षणले छिटो आयो कक्षा १२ को नतिजा

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण प्रक्रियामा गरिएको व्यवस्थापकीय सुधारका कारण यस वर्ष कक्षा १२ को नतिजा विगतभन्दा छिटो प्रकाशन गर्न सम्भव भएको बताउनुभएको छ।

कक्षा १२ को नतिजा ‘असामान्य रूपमा हतारमा सार्वजनिक गरिएको’ भन्ने टिप्पणीप्रति सामाजिक सञ्जालमार्फत स्पष्ट पार्दै मन्त्री पोखरेलले विगतमा उत्तरपुस्तिका परीक्षण सम्पन्न भएपछि सम्परीक्षणका लागि सबै सामग्री काठमाडौँ ल्याउनुपर्ने व्यवस्थाका कारण अनावश्यक ढिलाइ हुने गरेको उल्लेख गर्नुभयो।

यस वर्ष भने आवश्यक जनशक्ति थप गरी सम्बन्धित स्थानबाटै सम्परीक्षण गर्ने व्यवस्था मिलाइएकाले समय बचत भएको उहाँको भनाइ छ।

“उत्तरपुस्तिका लामो समयसम्म रोकिराख्ने प्रवृत्तिमा नियन्त्रण गर्दै परीक्षण प्रक्रिया समयमै सुरु गरिएको हो। यसको अर्थ कसैलाई हतारहतार परीक्षण गर्न लगाइएको होइन,” मन्त्री पोखरेलले उल्लेख गर्नुभयो।

“परीक्षण कार्यलाई प्रभावकारी बनाउन विगतभन्दा बढी जनशक्ति परिचालन गरिएको थियो। प्रशासनिक तथा प्रक्रियागत ढिलासुस्ती पनि हुन दिइएको छैन।”

उहाँले पुनःयोग शुल्क गत वर्षको पूरक परीक्षादेखि नै लागू गरिएको व्यवस्था भएकाले यसलाई नयाँ विषयका रूपमा व्याख्या गर्न आवश्यक नरहेको पनि स्पष्ट पार्नुभयो।

शिक्षा क्षेत्रका जानकारहरूका अनुसार उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणलाई विकेन्द्रीकृत गर्दै सम्बन्धित प्रदेश वा परीक्षा केन्द्र नजिकैबाट सम्पन्न गर्ने अभ्यासले समय, लागत र प्रशासनिक जटिलता घटाएको छ।

यसअघि उत्तरपुस्तिका परीक्षण सम्पन्न भइसकेपछि पनि सम्परीक्षणका लागि काठमाडौँमा सामग्री सङ्कलन, ढुवानी र व्यवस्थापन गर्नुपर्ने भएकाले नतिजा प्रकाशनमा ढिलाइ हुने गरेको थियो।

यसै अभ्यासको सकारात्मक प्रभाव माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पनि देखिएको छ। यस वर्ष एसइईको उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण परीक्षा सञ्चालन भएका क्षेत्रमै सम्पन्न गरिएकाले नतिजा अपेक्षाकृत छिटो सार्वजनिक भएको थियो।

नतिजा चाँडै प्रकाशित हुँदा मौका (ग्रेडवृद्धि) परीक्षासमेत समयमै सञ्चालन गर्न सकिएको र त्यसको नतिजा आएलगत्तै सबै विद्यार्थीले एकै शैक्षिक सत्रमा नयाँ कक्षामा भर्ना हुने अवसर पाएका थिए।

शिक्षाविद्हरूले परीक्षा केन्द्रित प्रशासनलाई काठमाडौँमा मात्र सीमित राख्नुको सट्टा प्रविधि र जनशक्तिको उपयोगमार्फत स्थानीय तहबाटै परीक्षण तथा सम्परीक्षण सम्पन्न गर्ने अभ्यासलाई पारदर्शी, प्रभावकारी र विद्यार्थीमैत्री सुधारका रूपमा व्याख्या गरेका छन्।

उनीहरूका अनुसार प्रक्रियागत ढिलाइलाई सफलता ठान्ने पुरानो मानसिकताबाट बाहिर निस्केर समयमै नतिजा सार्वजनिक गर्नु नै आधुनिक परीक्षा व्यवस्थापनको मापदण्ड हो।

यही अभ्यासलाई कक्षा १२ को परीक्षामा समेत लागू गरिएकाले राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष नतिजा प्रकाशनको समय उल्लेखनीय रूपमा घटाउन सफल भएको मानिएको छ।

समयमै नतिजा सार्वजनिक हुँदा उच्च शिक्षाको भर्ना प्रक्रिया, शैक्षिक क्यालेन्डर तथा विद्यार्थीको भविष्य योजनासमेत व्यवस्थित बन्ने अपेक्षा गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक गरेको थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.