कला/मनोरन्जनसंस्कृति

वरिष्ठ लोक गायक तथा पत्रकार खनालको शिवभजन सार्वजनिक (भिडियोसहित)

नेपाली कलाकारिता, लोकगीत, दोहोरी गीत, भजन, तीजगीत, देउसी भैलो तथा सांस्कृतिक क्षेत्रमा लामो समयदेखि सक्रिय वरिष्ठ गायक, संगीतकार, कवि, लेखक तथा अग्रज पत्रकार रामप्रसाद खनालको नयाँ शिव भजन ‘प्रभुकै छ भर, तिमी बाहेक को छ र ?’ सार्वजनिक भएको छ।

भगवान शिवको विशेष दिन असार १ गते सोमबारको अवसर पारेर युट्युबमार्फत संसारभर हेर्न मिल्ने गरी सार्वजनिक गरिएको उक्त भजनले भक्तिभाव, आध्यात्मिक चेतना, भगवान पशुपतिनाथप्रतिको अटुट विश्वास तथा मानव जीवनका संघर्षबीच ईश्वरप्रतिको भरोसालाई भावपूर्ण ढंगले प्रस्तुत गरेको छ।

खनालको उक्त भजनको शीर्षक ‘प्रभुकै छ भर, तिमी बाहेक को छ र ?’ले नै परमात्माप्रतिको पूर्ण समर्पण र आस्थाको सन्देश प्रवाह गर्दछ। भक्तिमय भावनालाई संगीतमार्फत प्रभावकारी ढंगले प्रस्तुत गर्ने प्रयास भजनको शब्द, संगीत तथा स्वर स्वयं खनालकै रहेको छ भने संगीत संयोजन बीबी अनुरागी, मिक्सिङ श्याम श्वेत रसाइली र प्रि–मिक्सिङ कमल थापा मगरले गर्नुभएको छ ।

अडियो तथा भिडियो निर्माण इन्टरनेशनल मिडिया एन्ड इन्टरटेनमेन्ट हाउस यूएस तथा इन्टरनेशनल आर्टिस्ट्स फोरम यूएसएको ब्यानरमा गरिएको भिडियोको निर्देशन स्वयं रामप्रसाद खनालले गर्नुभएको छ भने छायांकन ताराकान्त बिक र प्रदीप बोहोरा तथा सम्पादन ताराकान्त बिकले गर्नुभएको छ ।

भिडियोमा रामप्रसाद खनाल, तीर्था पौडेल, कमल बिक, प्रतिमा बिक, प्रमेश घिमिरे, रमिला रसाइली, कल्पना बिक, चन्द्र थापा किरण, सङ्गीता हर्मेल, खगेन्द्र बुढा मगर तथा लवकुश महतलगायत कलाकारहरूको अभिनय रहेको छ। पशुपतिनाथप्रतिको आस्था, भक्ति र आध्यात्मिक अनुभूतिलाई दृश्यात्मक रूपमा प्रस्तुत गरिएको यो भिडियोले दर्शकको मन छुने अपेक्षा गरिएको छ।

भजन सार्वजनिक गर्दै खनालले संसारभर रहेका नेपाली समुदायलाई आफ्नो धर्म, संस्कृति र परम्परासँग जोडिराख्न यस्ता भक्ति सिर्जनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले भक्तजन तथा संगीतप्रेमीहरूलाई भजन हेर्न, सुन्न, प्रतिक्रिया दिन तथा सामाजिक सञ्जालमार्फत साझा गर्न आग्रह गर्नुभएको छ ।

नेपाली संगीत क्षेत्रमा चार दशकभन्दा बढी समयदेखि सक्रिय खनाल नेपाली लोक तथा दोहोरी संगीतका स्थापित र सम्मानित स्रष्टाका रूपमा परिचित हुनुहुन्छ । हाल अमेरिकामा बसोबास गर्दै आए पनि नेपाली भाषा, कला, संस्कृति र संगीतको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर सक्रिय हुनुहुन्छ ।

प्रत्येक वर्ष नेपाल आएर नयाँ गीत संगीत, भजन, तीजगीत तथा सांस्कृतिक सिर्जनामा सहभागी हुने रेडियो नेपालका बिशिस्ठ श्रेणीका गायक खनालले हालसम्म सयौँ लोकगीत, दोहोरी, भजन, तीजगीत, देउसी भैलो तथा सामाजिक चेतनामूलक गीतमा स्वर दिइसक्नुभएको छ ।

गायकको साथ साथै गीतकार, संगीतकार समेत रहनुभएका खनालका हालसम्म ५६ भन्दा बढी बढी एल्बम र १८ वटा गीत संगीत सहित बिबिध विषयका पुस्तकहरु प्रकाशित छन्। उहाँका दुइहजार हाराहारीमा कविता र गजलहरु पनि प्रकाशित छन्।

रेडियो नेपाल, नेपाल टेलिभिजनदेखि छापा पत्रकारिता हुँदै अनलाइन पत्रकारितासम्म लामो समय गायक, कलाकार, पत्रकारका रुपमा काम गर्नुभएका खनाल अहिले मेरिकामा रहँदा पनि आफ्ना सबै विधाहरुमा उत्तिकै सक्रिय हुनुहुन्छ ।

संगीतकर्मी मात्र नभई साहित्यकार र पत्रकारका रूपमा समेत परिचित खनालले हालसम्म १८ वटा पुस्तक, हजारौँ कविता, लेख तथा सयौँ गीत सिर्जना गरिसक्नुभएका खनालले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउँदै आउनुभएको छ ।

उहाँ हाल इन्टरनेशनल आर्टिस्ट्स फोरम अमेरिकाका अध्यक्ष तथा फेडेरेशन अफ इन्टरनेशनल जर्नालिस्ट्स अमेरिकाका अध्यक्षसमेत रहनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.